Information is intelligence
HomeBrandहुलास वायर इन्डस्ट्रिजद्वारा १ अर्ब २५ करोड लगानी थप्दै, तीन प्रकारका पाइप...

हुलास वायर इन्डस्ट्रिजद्वारा १ अर्ब २५ करोड लगानी थप्दै, तीन प्रकारका पाइप उत्पादन गर्ने

- Advertisement -spot_img

गोल्छा अर्गनाइजेसन अन्तर्गतको हुलास वायर इन्डस्ट्रिजले १ अर्ब २५ करोड लगानी थप्दै स्वदेशी खपत र निर्यातका लागि तीन प्रकारका पाइप उत्पादन गर्ने भएको छ । मोरङको बुढीगङ्गा गाउँपालिकामा रहेको हुलास वायर राजलक्ष्मी गोल्छा नेतृत्वमा सञ्चालित छ । उद्योग उनकी छोरी युक्तिले हेरिरहेका छिन् । संविधान सभा सदस्य राजलक्ष्मी स्वर्गीय महेन्द्र गोल्छाकी पत्नी हुन् । सन् १९८२ मा दिवाकर र महेन्द्र गोल्छाको अग्रसरतामा स्थापित हुलास वायरले १५ किलोमिटर उत्तरमा पर्ने इटहरी नगरपालिका वडा नंं. १३मा दोस्रो युनिटको स्थापना गर्न लागेको हो ।

हुलास वायरका महाप्रबन्धक मुकेशकुमार कोठारीका अनुसार इटहरीको युनिटमा फागुनको पहिलो सातादेखि माइल्ड स्टीलका स्वायर पाइप, राउन्ड पाइप र रेक्ट्याङ्गुलर पाइपको उत्पादन गरिने छ । पाइपहरू आधादेखि ४ इन्चसम्मका हुनेछन् ।

फागुनदेखि प्रति दिन २ सय मेट्रिक टनबाट उत्पादन सुरु गर्ने र एक वर्षपछि मेसिन थप गरेर उत्पादनलाई ५ सय टन बनाइने महाप्रबन्धक मुकेशले जानकारी दिए । एक वर्षपछि थप ५० करोड लगानी गरिने र ग्याल्मनाइज्ड पाइप, पोल र स्ट्रक्चरसमेतको उत्पादन सुरु गर्ने उनले बताए । उनले हुलास वायरको दोस्रो युनिट पूर्ण अटोमेटिक हुने र बढीमा ३० कामदार रहने स्पष्ट पारे । दोस्रो युनिटबाट उत्पादित माइल्ड स्टील पाइप वार्षिक तीन अर्ब मूल्य बराबरको भारततर्फ निकासी गर्ने उद्योगको लक्ष्य छ । 

हुलास वायरको बुढीगङ्गास्थित पहिलो युनिटले गत आर्थिक वर्षमा साढे सात अर्ब कारोबार गरेको थियो । जसमध्ये साढे तीन अर्ब मालसामान भारततर्फ निकासी गरेको थियो । चालु आर्थिक वर्षमा पहिलो युनिटबाट १० अर्बको कारोबार गरी चार अर्ब निर्यात गर्ने लक्ष्य राखिएको छ । पहिलो युनिटमा उत्पादित हाई कार्बन जिआई वायर, ब्रास सिट, कपर सीट र तटबन्धका लागि प्रयोग गरिने तारजाली (गेभियन बक्स) भारत निर्यात भइरहेका छन् ।

पहिलो युनिटमा स्वदेशमै विक्री गर्ने उद्देश्यका टीएमटी रड, काँटी, रिब्ड वायर र लो कार्बन जिआई वायरको समेत उत्पादन गरिन्छ । यस युनिटको दैनिक उत्पादन ५ सय टन रहेको मुकेशले जनाए । हुलास वायरको उत्पादन जिआई वायरले भारतको आइएसआई समेत प्राप्त गरेको उनले उल्लेख गरे । उद्योगले गुणस्तर विभागबाट सन् २००६ मा गुणस्तर चिन्ह प्राप्त गरेको थियो ।

उद्योगले आफ्ना उत्पादन भारतको दक्षिण भागको केरला, पूर्वमा अरुणाचल र उत्तरमा सिमलासम्म निर्यात गरिरहेको उनले बताए । भारत सरकारको नवरत्न कम्पनीअन्तर्गतको पावर ग्रिड कर्पोरेसन अफ इन्डियासँग हुलास वायर आबद्ध रहेको उनले बताए । हुलास वायरले गरिरहेको निर्यातलाई सरकारले प्रोत्साहन नगरेको उनको गुनासो छ ।  सरकारले गत महिना निर्यातका केही सामग्रीमा नगद अनुदान दिने निर्णय गर्दा वायरका सामग्री नपरेको उनको गुनासो छ । कुल उत्पादनको १० प्रतिशतभन्दा बढी उत्पादन गर्ने उद्योगलाई कच्चा सामग्रीमा बैङ्क ग्यारेन्टीको सुविधा दिनुपर्ने उनको जिकिर छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु