Information is intelligence
HomeUncategorizedखाली ठाउँमा खेती गरे अनुदान

खाली ठाउँमा खेती गरे अनुदान

- Advertisement -spot_img

पाल्पा — जिल्लाका तीन स्थानीय तहले बाँझो जमिनमा खेती गरेर अनुदान दिने निर्णय गरेका छन् । रामपुर नगरपालिका, रैनादेवी छहरा र माथागढी गाउँपालिकाले यस्तो निर्णय गरेका हुन् ।

उत्पादन बढाउन र खाद्य संकन नहोस् भनेर किसानलाई अनुदान घोषणा गरिएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए । नगरको कार्यपालिका बैठकबाट कोरोना भाइरस संक्रमण थप फैलिन सक्ने र खाद्य संकटसमेत निम्तिन सक्ने भन्दै बाँझो जमिनमा खेती गर्न प्रोत्साहन गर्ने नीति लिएको उनको भनाइ छ ।

नगरपालिकाले दुई वर्षभन्दा बढी समय बाँझो रहेको जग्गामा खाद्यान्न र तरकारी खेती गर्ने किसानलाई अनुदान दिने प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले जानकारी दिए । ‘हामी आत्मनिर्भर हुनेतर्फ योजना बनाउन जरुरी छ,’ उनले भने, ‘यस्तै अवस्था आउने हो भने विदेशबाट खाद्यान्न आयात हुन समस्या आउन सक्छ,’ उनले भने, ‘त्यसैले हामीले आफ्नै उत्पादनमा जोड दिनुपर्छ ।’

नगरले बाँझो जमिनमा मकै रोपे प्रतिरोपनी ३ हजार रुपैयाँ दिनेछ । मौसमी तरकारी खेती गरे प्रतिरोपनी ५ हजार रुपैयाँ दिइने आचार्यले बताए । किसानले अहिलेसम्म १ हजार १ सय रोपनीका लागि अनुदान माग्दै निवेदन दिएको उनको भनाइ छ ।

नगरका १० वटै वडामा कृषि प्राविधिक जेटीएको व्यवस्था गरिएको छ । ‘उनीहरूका निवेदनमाथि छानबिन गरेर अनुदान व्यवस्था गर्छाैं,’ उनले भने ।

रैनादेवी छहरा गाउँपालिकाले पनि बाँझो जमिनमा खेती गरे अनुदान दिने घोषणा गरेको छ । बाँझो जमिनमा खेती गर्ने वातावरण मिलाउन यस्तो घोषणा गरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । बाँझो जमिनमा कागती, सुन्तला र फलफूल रोपे प्रतिरोपनी २ हजार रुपैयाँ दिने प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले जानकारी दिए । अन्नबाली र तरकारी खेती गरेमा पालिकाले प्रतिरोपनी ३ हजार रुपैयाँ दिनेछ ।

माथागढी गाउँपाालिकाले पनि खेतीयोग्य बाँझो जमिनमा खेती गर्नेलाई अनुदान घोषणा गरेको छ । आव ०७४/७५ अघिदेखि बाँझो रहेको खेतीयोग्य जमिनमा पुन: खेती गर्ने किसानले अनुदान पाउने गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर बताउँछन् । बाँझो जग्गामा जग्गाधनी स्वयंले खेती गर्न चाहे वा करारमा खेतीका लागि सम्झैता गरी कम्तीमा तीन वर्षका लागि भाडामा दिन चाहे प्रतिरोपनी ३ हजार दिइने उनको भनाइ छ ।

कृषिमा अग्रसरता बढाउन तरकारी, फलफूल तथा खाद्यान्न उत्पादनमा अनुदान दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । यस्तो कामबाट किसानलाई ठूलो राहत पुग्ने रैनादेवी छहरा–४ सुन्तलावासका कमल घिमिरेको भनाइ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु