Information is intelligence
HomeOpinionअपराध : समस्या र समाधान

अपराध : समस्या र समाधान

- Advertisement -spot_img

२,३ वर्षकी बालिका देखि ७५ वर्षकी वृद्धा सम्म बलात्कृत भएका घटनाहरु सार्वजनिक हुँदा मुटु चरक्क चर्किन्छ। शान्तिको पर्यायको रुपमा रहेको सीता, बुद्ध अनि भृकुटीको देशमा आज कथित पुरुषार्थको नाममा कुपुरुष हरुले देखाएको घिनलाग्दो ताण्डवको जति भर्त्सना गरेपनि कम हुन्छ। ‘वसुधैव कुटुम्बकम्’ को भावना प्रवाहित गर्ने हाम्रो समाज आज अमानवीय, असंवेदनशील बन्दै गएको छ।देश विकासको मूल आधार मानिएको युवा पुस्ता  नै आपराधिक गतिविधितर्फ आकृष्ट भइरहेको देखिन्छ।

लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको ,समानुपातिक समावेशिता अवलम्बन भइसकेको,संघियतामा प्रवेश गरेर राज्यका शक्तिहरूलाई दूर दराज सम्म फैलाइसकेको देशमा मानवीय संवेदनाहीन कार्य हुनु एकदमै दुःखित कुरा हो। दिनानुदिन बढ्दो आपराधिक गतिविधि न्यूनीकरण गर्न राज्य उदासीन हुनु झन् दुःखको कुरा हो।सुशासनको नारा ओकलेर समानता र भ्रातृत्व को चिल्ला कुरामा जनतालाई चिप्लेटी खेलाइरहने अनि व्यक्तिगत र राजनीतिक शक्तिका हाँगामा अपराधीहरूलाई खुल्लम खुल्ला झुन्ड्याइरहने हो भने जतिसुकै आर्थिक संमृद्धि र विकाशका कुरा गरे पनि थाङ्ना भन्दा माथि जान सकिने देखिँदैन। यस्तै अवस्थामा गुज्रिरहने हो भने भोलिका दिनमा कुनै पनि आमाले फेरि पुरानै शैलीमा छोरी पो जन्मिने हो कि भनेर जन्मिनुभन्दा अघिदेखि नै स्त्री जातिको अस्तित्व माथि बज्रपात गर्ने स्थिति न आउला भन्न सकिन्न।यी सबै समस्या र आपराधिक गतिविधिको सबै भन्दा बलियो समाधान भनेको सबै वर्ग समुदाय र क्षेत्रमा जनचेतना र शक्तिवान कानुन निर्माण अनि कानुनको निष्पक्ष अवलम्बन गर्नु नै हो।जबसम्म राज्य निष्पक्ष कानुनको पालना गर्न असमर्थ हुन्छ तबसम्म सुशासन भन्ने कुरा शब्द र परिभाषामा मात्र सिमित रहन्छ।

लोककल्याणकारी राज्यको मान्यता दिएपछि उक्त मान्यता स्थापित गर्ने कुरामा कन्जुस्याइँ गर्नु भनेको राज्यलाई अधोगतितिर धकेल्नु मात्र हो।  फेरि शहरको कुनै कुनामा बसेर राज्य र कानुनलाई मात्र दोष दिइरहँदा आफू र आफ्नो चरित्र माथि कुनै प्रश्न नउठाउने हो भने पानी माथिको ओभानो बन्न खोजेको प्रष्ट हुन आउँछ। एउटी बालिका बलात्कृत हुँदा यौवनाको सजावटलाई कारक मान्ने हाम्रो मानसिकतामा पनि खोट देखिन्छ कि? वर्षौंदेखि देवी शक्तिका रुपमा पुजिदै आएका  हाम्रा आमा दिदीबहिनीहरुको रक्षार्थ हाम्रा हातपाउ अघि नसर्नु लज्जास्पद कुरा हो। के हामीले निर्माण गर्न खोजेको समाज यस्तै हो? संस्कृति, परम्परा अझ विभिन्न धर्ममा विवाद गर्ने हामी, के हाम्रो धर्म संस्कृतिले यस्तै समाजको कल्पना र परिभाषा सिकाएको छ? के हामीले राज्यप्रतिको कर्तव्य इमान्दारिताका साथ निर्वाह गरिरहेका छौँ त? यी र यस्तै यावत् प्रश्नहरू आजको समाजमा उब्जिएका छन् तर प्रश्नको सही उत्तर खोज्न तत्पर भएको भने देखिँदैन।

सामाजिक मूल्य र मान्यता स्थापित गर्दै समाजका नकारात्मक प्रवृत्तिहरूको निराकरण गरी राज्यले अवलम्बन गरेको लोककल्याणकारी राज्य, सभ्य र सुसंस्कृत समाज निर्माणमा सहयोग गर्नु सबै नागरिकको कर्तव्य हुन आउँछ।अपराध बिरुद्द जनचेतना जगाउनु, असहाय वर्गलाई कानुनको अभिभावकत्व दिलाउनु,राज्यलाई अपराध बिरुद्द कडा भन्दा कडा कानुनको निर्माण र कार्यान्वयनमा जोड दिनु असल नागरिकले गर्ने कार्यहरू हुन्।  आफ्नो ठाउँबाट सबैले अरु पनि आफूसमान हुन भन्ने मान्यता राखी कसैको मौलिक अधिकार हनन नहुनेगरी चरित्रवान र सभ्य नागरिक बन्नलाई प्रेरित गर्ने हो भने राज्यलाई पनि समृद्ध र सुसंस्कृत मुलुक निर्माण गर्न सहयोग पुग्छ।तसर्थ आफ्नो घर, परिवार अनि समाज बाट नै कुरीति ,कुसंस्कार र आपराधिक प्रवृत्तिहरूको अन्त्य गर्न सबैले लागि परौँ र विश्वसमुदायमा ‘ सुन्दर शान्त नेपाल ‘ भन्ने भनाई सार्थक पार्न मद्दत गरौं।

लेखक दरबारटाइम्स डट कमका सम्पादक समेत हुन

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु