Information is intelligence
HomeEconomyचार दिन अँध्यारोमा बास

चार दिन अँध्यारोमा बास

- Advertisement -spot_img

विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् ।

बिहीबार राति जुठा र नेपाने बीचमा पर्ने लेखटोलमा हावाहुरीका कारण विद्युत्का मिटरबक्स, कालो तार नोक्सान भएको स्थानीय बासिन्दा तथा वडा सदस्य रुपक पुनले बताए । विद्युत् नहुँदा बस्ती नै अँध्यारोमा रहेको पुनले बताए । विद्युत् नहुँदा मोबाइल, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालको प्रयोग गर्नबाट स्थानीय बासिन्दा वञ्चित भएका छन् । वडासचिव हुमबहादुर कँुवरले २३ घरका विद्युत् मिटरबक्स र ७० घरका कालोतार जलेर क्षति भएको बताए। क्षतिको विवरण अझै बढ्नसक्ने बताइएको छ ।

गाउँपालिका अध्यक्ष रामबहादुर कार्की क्षतिग्रस्त क्षेत्र पटुवाचोर, खुनधारा र नेपानेलगायतका बस्तीका पिडीतलाई कालोतार र विद्युत् मिटरबक्स पठाउने गरी काम भइरहेको बताए। कालोतार गाउँपालिकाको सहयोगमा पठाइने हो भने विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रले मिटरबक्स निःशुल्क सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष कार्कीले बताए।

शुक्रबार विद्युत् चुहिँदा रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको खुनधारास्थित २६ वर्षीया दिलकुमारी रास्कोटी पुनको मृत्यु भएको थियो। रास्कोटी मगर तीजमा माइती आएकी थिइन् । हावाहुरीसहित गाउँभर विद्युत् चुहिएर करेन्ट लाग्दा रास्कोटी घाइते बनेपछि उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन असपताल तानसेनमा मृत्यु भएको थियो । मृतकका बुबा इमानसिंह पुन र झमानसिंह जोगी कँुवर घाइते भएका थिए । पुनको तानसेनमा उपचार भइरहेको छ ।

स्थानीय बासिन्दा वीरबहादुर नेपालीको एउटा भैँसी मरेको छ । विद्युत् आपूर्तिमा समस्या देखिएपछि तीजका अवसरमा आफन्तसँग कुराकानी गर्न समेत पाएनन् । जुठापौवामा अधिकांश मगर जातिको बस्ती छ । यहाँका मगरले तीज विशेष पर्वका रूपमा मनाउने गरे पनि यस वर्ष विद्युत् चुहिएर मानवीय क्षति हुँदा बस्ती नै पीडामा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु