Information is intelligence
HomeNewsप्रवासीद्वारा पहिरो पीडितलाई सहयोग

प्रवासीद्वारा पहिरो पीडितलाई सहयोग

- Advertisement -spot_img

धवलागिरि गाउँपालिकाबाट अमेरिका पुगेकाहरुले जन्मथलोका पहिरो पीडितका लागि रु १३ लाख ५० हजारभन्दा बढी सहयोग गरेका छन् । धवलागिरि गाउँपालिका घर भई रोजगारी, अध्ययन र पेशा, व्यवसायको सिलसिलामा अमेरिका पुगेकाहरुले पहिरो पीडितका लागि गाउँपालिकाले सञ्चालन गरेको अभियानमा रु. १३ लाख ६५ हजार पठाएका हुन् ।

मनबहादुर सिंकिजा, सुभाष भण्डारी र होमबहादुर पुनको अगुवाइमा अमेरिकामा सङ्कलन भएको सो रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको जनाइएको छ । बाध्यताले परदेशमा रहेपछि आफ्नो गाउँठाउँमा भएको विपद्बाट पीडितहरुलाई राहतका लागि सहयोग जुटाएर पठाएको सिंकिजाले बताए। गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालको संयोजकत्वमा सञ्चालन भएको आर्थिक सङ्कलन अभियानमार्फत हालसम्म करिब रु २५ लाख जुटेको छ ।

गत असार २५ र २६ गतेको पहिरोबाट धवलागिरि गाउँपालिकाको मराङमा १९ जनाको मृत्यु र दुई जना बेपत्ता भएका थिए । मराङ, धरापानी, ताकम र काफलडाँडाका बासिन्दा पहिरोबाट प्रभावित भएका छन् । पहिरोबाट घरबास गुमाएकाहरुको पुनःस्थापनाका लागि आर्थिक सहयोग सङ्कलनका साथै थप जोखिमको अध्ययन र पुनःस्थापनाका लागि सुरक्षित ठाउँको खोजी भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी मालिका गाउँपालिका–७ बिमका पहिरो पीडितका लागि आइतबार रु दुई लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ । हेमराज शर्माको पहलमा विश्वका विभिन्न ठाउँमा पुगेका युवाहरु आबद्ध युवा आवाज म्याग्दीमार्फत रु एक लाख ५० हजार र नर्वेमा रहेका अर्मनका मदन कँडेल, राजन शाही र भगवान शाहीको पहलमा रुएक लाख सहयोग प्राप्त भएको हो ।

दुई वटै सहयोगी संस्था तथा व्यक्तिहरुले सङ्कलन गरेर पठाएको रकम पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रेमलाल कँडेलले आइतबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको उपस्थितिमा बिमका वडाध्यक्ष रेशम जुग्जाली र वडा सदस्य बुद्धिबहादुर जुग्जालीलाई हस्तान्तरण गरे।

प्राप्त सहयोग रकम असार २६ गतेको पहिरोका कारण घरबास गुमाएकाहरुको पुनःस्थापनामा परिचालन गरिने वडाध्यक्ष जुग्जालीले बताए। बिमको तल्लोगाउँ, नौरु, दुले र बाइन्दफाँटमा गएको पहिरोले आठ जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् ।

पहिरोले बगाएर, भत्काएर र पुरिएर २६ घरमा पूर्णरूपमा क्षति पुगेको छ । पचास देखि ६० घर पहिरोको उच्च जोखिममा भएकाले त्यहाँ बस्न नमिल्ने अवस्था छ । पीडितहरुलाई बेनी, पोखरा, काठमाडौँलगायत देशका विभिन्न ठाउँ र विदेशमा भएका घरका धनीसँगको सहमतिमा खाली घर, आफन्तकहाँ र पीडितकै अन्यत्र सुरक्षित ठाउँमा भएका अस्थाईरूपमा व्यवस्थापन गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु