Information is intelligence
HomeHealthनिषेधाज्ञामा टोलटोलमा रक्तदान

निषेधाज्ञामा टोलटोलमा रक्तदान

- Advertisement -spot_img

जिल्लामा कोभिड–१९ का कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी सोमबारबाट रक्तदान अभियान शुरु गरेको छ । मञ्चले पहिलो दिन दुई स्थानमा ३० युनिट रगत सङ्कलन गरेको छ ।

मञ्चका सदस्य अर्जुन रानाभाटका अनुसार पहिलो दिन भरतपुर महानगरपालिका–४ को लङ्कुक्षेत्रको अद्वैतचोक र धर्मचोकमा १५/१५ युनिट रगत सङ्कलन भएको छ । अभियानलाई निरन्तरता दिइने उहाँले बताए। मञ्चका अध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार यस अभियानमा एक स्थानमा १५ देखि २० जनाको मात्र रगत सङ्कलन गरिने छ । हाल जिल्लामा निषेधाज्ञा जारी छ । नेपाल सरकारको सङ्क्रमण ऐनभित्र रही सम्पूर्ण कार्य गरिने उहाँले जानकारी दिए।

मञ्चले चितवन र छिमेकी जिल्लाका आ–आफ्नो टोलमा संयोजक गरी मिति, समय र टोलको नाम टिपाउन अनुरोध गरेको छ । सापकोटाले भने, “यसमा हामी सबैको सहभागिता आ–आफ्नो टोलमा मात्रै रहने छ ।” अभियानअन्तर्गत आज गैँडाकोटमा रक्तदान कार्यक्रम गरिँदै छ । यसअघि लकडाउनको समयमा मञ्चले बटुवा र अस्पतालमा रहेकालाई खाना खुवाएको थियो । अहिले जिल्लामा रगतको चरम अभाव भएपछि रक्तदान अभियान शुरु गरिएको हो ।

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले कोरोना त्रास र जोखिमका कारण रक्तदाताहरु रगत दिन डराएको बताए। उनले भने, “हामीसंँग जगेडा रगत छैन, बिरामीलाई चाहिएमा रगत सट्टापट्टा गरेर चलाएका छौँ ।” यसअघि दैनिक ६० पोकासम्म रगत सङ्कलन हुदै आए पनि निषेधाज्ञापछि रगत सङ्कलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीका लागि पनि रगत पाउने अवस्था नभएको उहाँले बताए। पौडेलका अनुसार जिल्लाका अस्पतालमा दैनिक औसत १५० युनिट रगत आवश्यक पर्छ ।

कार्यालयले यसअघि चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायतका जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गर्दथ्यो । अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् । रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढी प्रभावित भएका छन् । बाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ । कोरोना त्रासका कारण विगतमा रक्तदान गर्नेहरुसमेत अहिले डराएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु