Information is intelligence
HomeNewsफोहर नआउँदा भोकै मजदुर

फोहर नआउँदा भोकै मजदुर

- Advertisement -spot_img

कोरोना भाइरसका कारण सबैभन्दा बढी समस्या, सङ्कट र सकसमा दैनिक जीविकाका लागि काम गर्ने मजदुर छन् । तिनै मजदुरमध्येको बागलुङ र पर्वत जिल्लाको सिमाना मालढुङ्गा परिसरमा काम गर्ने मजदुरको कथा अझ बढी दुःखद् र समस्याग्रस्त छ ।

गिट्टी कुटेर, बालुवा चालेर, डम्पिङसाइट (फोहर विर्सजन स्थल) को फोहर सङ्कलन गरेर जीविका चलाउने मजदुरहरु बन्दाबन्दीको पहिलो चरणमा भोकभोकैसमेत बस्न विवश भए । शहरबजारको दुर्गन्धित फोहरको विसर्जनस्थलसँग यहाँका एक दर्जन महिलाको गहिरो सामाप्यिता छ । त्यही फोहरमा मोहोर खोज्ने मजदुर बन्दाबन्दीका अवधिमा डम्पिङसाइटमा फोहर नआउँदा भोकभोकै दैनिकी गुजार्नुपरेको अनुभव सुनाउँछन् । काम नपाएपछि चुलो नबल्दा भोकै बस्नुपरेको मालढुङ्गाका मजदुरहरुले दुखेसो व्यक्त गरेका छन् ।

अहिले जेनतेन पेट पाल्दै आए पनि बन्दाबन्दीको शुरुको एक महिना छाक टार्नै समस्या भएको बागलुङ नगरपालिकाको डम्पिङसाइटमा फोहर सङ्कलनबाटै गुजारा चलाउँदै आएका  सुष्मा माझीले दुखेसो गरे। “शुरुको एक महिना त निकै समस्या भयो, कहिले एैँचोपैँचो मागेर छाक टार्न बाध्य भयौँ त कहिले भोकैसमेत बसेका थियौँ”, परिवारका अरु चार सदस्यको समेत अभिभावकत्व निभाइरहेकी माझीले भने, “नगरपालिकाबाट फोहरको गाडी नआउँदा कामविहीन भइयो, न त बालुवा, ढुङ्गा कालीगण्डकी किनारबाट निकाल्न पाइयो ।” एक्कासि चैत ११ देखि भएको लकडाउनले भोकै बस्न बाध्य बनाएको उहाँको भनाइ छ । नगरपालिकामा पुनः निषेधाज्ञा भएका कारण थप समस्यामा परेको उहाँको दुखेसो छ ।

कालीगण्डकीको दुवै किनार बागलुङ नगरपालिका–१ र कुश्मा नगरपालिका–१ मा करिब ८० परिवार बसोबास गर्दै आएका छन् । उनीहरु डम्पिङसाइटमा रहेको फोहर सङ्कलन, नदीबाट ढुङ्गा, बालुवा निकाल्ने तथा गिट्टी कुटेरै जीवन चलाउँदै आएका छन् । बागलुङ बजारमा सङ्कलन हुँदै आएको फोहर सहकारीको समन्वयमा बागलुङ नगरपालिकाले मालढुङ्गामा डम्पिङसाइट निर्माण गरेर फाल्दै आएको छ । यही डम्पिङसाइटमा कवाडी, कुहिएको खाद्यान्न र प्लाष्टिक सङ्कलन गरी यहाँका एक दर्जनभन्दा बढी महिलाले जीवन चलाउँदै आएका छन् । बागलुङ बजारको फोहरको डम्पिङसाइटमा नआउने हो भने १२\१५ परिवारकै छाक बन्द हुने स्थानीय रतन परियारले बताउनुभयो । “मालढुङ्गाको दुवैतर्फका मजदुरको दैनिकी नै फोहर, बालुवा तथा गिट्टी कुट्दैमा जान्छ”, परियारले भने, “बन्दाबन्दीको समयमा न फोहर नै आयो, न गिट्टी बालुवा नै बिक्री भयो, त्यतिबेला भोकै बस्नुको विकल्प थिएन ।” अन्य आम्दानीको स्रोत नभएका कारण समस्या झेल्दै आएका मजदुरका परिवारलाई बन्दाबन्दी बज्रपात भएको गौमती परियारले बताए।

लकडाउनदेखि हालसम्म उनीहरुले राहतका नाममा कुश्मा नगरपालिका र बागलुङ नगरपालिकाले परिवारका आधारमा प्रदान गरेको पाँचदेखि २५ किलो चामलबाहेक अरु नपाएको गुनासो गरेका छन् । गत हप्ता मात्रै डम्पिङसाइटमा फोहर सङ्कलन गर्ने १२ मजदुर परिवारलाई रिड नेपाल र विद्यामन्दिर पुस्तकालयले संयुक्तरूपमा एक महिनालाई पुग्ने खाद्यान्न वितरण गरेको थियो ।

मालढुङ्गामा स्थानीयभन्दा बाहिरबाट आएर आश्रय लिने मजदुरका परिवार बढी भएका कारण त्यही मजदुरीसमेत प्रतिस्पर्धा भएका कारण अशक्त मजदुरको परिवार भोकै बस्नुपर्ने बाध्यता रहँदै आएको छ । बर्खाको समय कालिगण्डकी नदीको उर्लँदो भेलमा दाउरा टिपेरसमेत छाक टार्दै आएका मजदुरले बर्खाको समय ढुङ्गा र बालुवा निकाल्न कठिन हुने भएकाले अझै बढी समस्या भएको छ । डम्पिङसाइटमा कुहिएको खाद्यान्न बङ्गुर फार्मलाई र सङ्कलन भएको कवाडी बिक्री गरेर मजदुरहरुको जीवन गुजारा चल्दै आएको छ । पछिल्लो समय डम्पिङसाइटमा फोहर आउन थालेपछि केही राहत भएको मजदुरको भनाइ छ तर कालीगण्डकीको बहाव नघट्दासम्म बालुवा निकाल्न नपाउँदा अधिकांश मजदुर फुर्सदिला छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु