Information is intelligence
HomeUncategorizedअसिनापानीले किसानको बिजोग

असिनापानीले किसानको बिजोग

- Advertisement -spot_img

दुई दिनदेखि परेको असिनापानीका कारण डोल्पा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा कृषकले लगाएको अन्नबाली र विकास योजनामा व्यापक क्षति पुगेको छ ।

असिनापानीका कारण सो गाउँपालिकाको वडा नं एकदेखि चारसम्म कृषकले लगाएको गहुँ, उवा,  फापरलगायत अन्नबालीमा ८० प्रतिशतभन्दा बढी क्षति पुगेको वडा नं ४ का अध्यक्ष पेमावाङ्छेन गुरुङ्गले बताए। उनले भने, “तीन÷चार महिनाको लामो खडेरीपछि परेको असिना पानीले गर्दा यहाँका फापर, गहुँ, उवालगायत अन्नबालीमा क्षति पुगेपछि कमाइको मुख्य स्रोतमै असर परेको छ ।”

वर्षभरि खानका लागि लगाइएको अन्नबालीमा क्षति पुगेपछि यहाँका बासिन्दामा भोकमरीको सम्भावना बढेको छ । “यो वर्ष यार्सागुम्बा पनि टिप्न पाइएन्, अन्नबाली पनि सबै सखाप पायो, जिविकोपार्जन कसरी गर्ने भन्ने ठूलो पीर परेको छ”, वडाध्यक्ष गुरुङ्गले भने ।

सोही वडाका किसान तेन्जिन टासी गुरुङ्गले असिना र पानीले आफ्नो चारवटा खेतमा लगाइएको उवा फापर सबै सखाप पारेको बताए । उनले भने, “कोरोना भाइरसका कारण आय आर्जनका सबै बाटो बन्द भएकाले जीवन गुजारा गर्ने भनेकै अन्नबालीले हो, त्यो पनि सबै सखाप पारिसक्यो, अब कसरी आफू र आफ्ना परिवार पाल्ने ठूलो चिन्ता परेको छ ।” उनले क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे।

विकास निर्माणमा क्षति
दुई दिनदेखि लगातार परेको असिना पानीका कारण आएको बाढीले वडा नं एकदेखि चारसम्मको विकास योजनामा ठूलो क्षति पुर्याएको शे–फोक्सुण्डो गाउँपालिकाले जनाएको छ ।

ती वडामा सङ्घ, प्रदेश र स्थानीय सरकारद्वारा निर्मित पर्यटन तथा ग्रामीण सडक, पुलपुलेसा र सिँचाइ कुलोमा क्षति पुर्याएको वडाध्यक्ष गुरुङ्गले जानकारी दिए। बाढीले केही सडक र पुल भत्काएपछि आवतजावतमा समेत समस्या भएको उनले भने। केही ठाउँमा किसानको पशुचौपाया समेत बगाएको उहाँले जानकारी दिए।
असिना पानीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन कार्य भइरहेको बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु