Information is intelligence
HomeEntertainment & Artsगीत-सङ्गीतकाे सशक्त प्ल्याटफर्म युट्युब नै हाे : हर्क साउद

गीत-सङ्गीतकाे सशक्त प्ल्याटफर्म युट्युब नै हाे : हर्क साउद

- Advertisement -spot_img

सुदूरपश्चिम प्रदेशकाे विकट जिल्ला डाेटिमा जन्मिएर पनि नेपाली साङ्गितिक क्षेत्रमा राम्राे छाप छाड्न सफल भएका लेखक हुन् हर्क साउद । वि.सं.२०५५ सालतिर पढाइकाे सिलसिलामा काठमाडाैँ आएका साउदले पछिल्लाे समयमा नेपाली साङ्गितिक क्षेत्रमा नै हलचल मचाउने किसिमका गीतहरू लेखिरहेका छन् । हालैमात्र उनीद्वारा लिखित के माया लाग्छ र ?तीनपाते शीर्षक रहेकाे दुइवटा गीत निकै चर्चित बने । उनै चर्चित लेखकसँग दरबार टाइम्सकाे  श्रष्टासँगको अन्तरवार्ता अन्तर्गत हाम्री संवाददाता अञ्जना रिजालद्वारा गरिएकाे कुराकानी ।


तपाइँकाे बारेमा हाम्रा पाठकलाई बताइदिनुस न । कसरी सङ्गीत क्षेत्रमा आउनुभयाे ? आज याे क्षेत्रमा आएर सन्तुष्ट हुनुहुन्छ?

म सानै उमेरदेखी यहि क्षेत्रमा काम गर्छु भनेर आएकाे हाेइन। खासमा, याे चैँ एउटा संयाेग हाे। सुन साइली पछाडी यस क्षेत्रमा आएकाे हुँ । आफूले गरेका काम प्रति सन्तुष्ट हुनुपर्छ भन्ने मान्यता हाे । किनभने आफूले गरेका  कतिपय कामहरूप्रति हामी सन्तुष्ट हुँदैनाैँ किनभने काम गर्दा हामीले कसरी गरेका छाैँ त्याे काम प्रति इमान्दारिता , लगनशीलता र मेहेनत पनि चाहिन्छ । कहिलेकाहीँ आफूले गरेका कामहरू सबै सफल हुन्छ भन्ने छैन । ती काम हरूबाट आत्तिहाल्नुपर्ने र हताेत्साहित भैहाल्नुपर्ने अवस्था पनि छैन ।

तपाइँकाे बाल्यकालकाे बारेमा केही राेचक कुराहरू शेयर गर्दिनुस न ।

बाल्यकालमा सबै फटाहा बदमास नै हुन्छन् । सबैकुरा राम्राे हुन्छन् भन्ने हुँदैन । त्यसमाथी म अति नै फटाहा मान्छे हुँ बाल्यकालमा । राेचक कुरा के भने म दुइ तीन कक्षामा हुँदा  एकजना गुरू हुनुहुन्थ्याे । उहाँले मेराे दुइपटी दुइजना फुच्चे राखिदिनुहुन्थ्याे अनि एउटा गीत गाउन लगाउनु हुन्थ्याे।  म जहिले पनि बुबाले बजारबाट ल्याइदिनुभएकाे भादगाउँले टाेपि थियाे । त्यसलाई  फाटुन्जेलसम्म माथीबाट तालु देखिउन्जेलसम्म लगाउथेँ । त्याे टाेपी लगाएर नाच्नु पर्ने । गीतकाे बाेल थियाे एउटिकाे मायाले गर्दा टाेपी खस्याे दुइटीकाे माझमा । चट्ट लाएर एक फन्काे लगायाे टाेपी खसायाे  अर्काे फन्काे घुम्याे टाेपी लगायाे । खुबै रमाइलाे हुन्थ्याे । अहिले सम्झिँदा पनि हाँसाे लागेर आउँछ ।

सङ्गीत क्षेत्रमा लागेर केही कुरा गुमाउनु पर्याे कि सङ्गितले सन्तुष्टी दिएर सबै भुल्नु भयाे?

हेर्नुस जिन्दगीमा गुमाउनु र पाउनु त राेटेपिङ जस्तै हाे । तर मैले याे क्षेत्रमा आएर गुमाउनु परेकाे चैँ केही छैन । गुमाउनु भन्दा पनि  प्राप्ति नै धेरै भएकाे छ ।  आफूले गरेका कामहरूमा कुनैमा सफलता पाएकाे हाेला कुनैमा सफलता हासिल नभएकाे हाेला । आफ्नाे जीवनकाे स्तर हेर्दा अन्य आफ्ना समकक्षीकाे तुलनामा हेर्दा म निकै पछाडि रहेकाे छु, निकै तल छु जस्ताे  जस्ताे महसुस हुन्थ्याे, हुन्छ पनि । तरपनि त्याे अवस्थालाई याे साङ्गीतिक क्षेत्रमा प्राप्त सफलताले ती सबै पीडाहरूलाई भुलाउने काम गरेकाे छ । मैलै त्यै भएर याे क्षेत्रमा लागेर गुमाउनु भन्दा पनि प्राप्ति धेरै गरेकाे छु ।

भुल्न त के भुल्नु भुल्ने कुरै  छैन सम्झिएरै धेरै गीत लेख्नुपर्छ सम्झिएरै गीत आउने हुन्। सिर्जनाकाे क्षेत्रमा सम्झिएरै गर्नपर्ने कुराहरू धेरै हुन्छन् ।त्यै भएर भुल्ने भन्ने कुरा नै हुँदैन । याे क्षेत्रमा लागेर पहिले भुलेका बिर्सिएका पनि धेरै कुराहरू सम्झिएकाे छु ।

 आजकाे सङ्गित क्षेत्र कस्ताे अवस्थामा पुगेकाे महसुस गर्नुभएकाे छ  ? कस्ताे हुन पर्ने हाे भन्ने तपाइँलाई लागेकाे छ ?

यतिबेला सङ्गीत क्षेत्र पुस्ता हस्तान्तरणकाे अवस्थामा आइपुगेकाे छ  । हाम्रा आदरणीय अग्रज सर्जकहरू, मूर्धन्य व्यक्तित्वहरू काेही उमेरकाे कारणले काेही स्वास्थ्यका दृष्टिकाेणले हरेक किसिमले उहाँहरू विस्तारै आराम गर्दै हुनुहुन्छ । उहाँहरूकै बाटाे पछ्याएर नेपाली साङ्गितिक क्षेत्रमा, गीति लेखनकाे क्षेत्रमा, सिर्जनाका क्षेत्रमा र साहित्यका क्षेत्रमा गर्नुपर्ने धेरै कामहरू हामी युवाहरूका काँधमा आइपुगेकाे छ । हामीले  उहाँहरूले देखाएकाे बाटाेमा  आफ्नाे किसिमले हिँड्दापनि  नेपाली पन, नेपाली सँस्कृति ,नेपाली सिर्जना र साहित्यकाे मूल्य मान्यता अनुसार नै  हाम्राे भाषा सँस्कृतिकाे उत्थानकाे लागि, त्यसकाे विकास र परिमार्जनका लागि  काम गर्नुपर्ने अवस्था आएकाे छ । हामी अविचलित रूपमा अगाडी बढ्नुपर्ने अवस्था आएकाे छ ।

अवस्य पनि एउटा पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण हुँदै जाने, सुन्दै जाने, परिमार्जन हुँदै जाने कुरा हाे साङ्गीतिक क्षेत्र । याे भन्दा अघिल्लाे पुस्ताले एउटा काम गर्नुभएकाे थियाे । अहिले हाम्राे पुस्ताले पनि एक किसिमले काम गरिरहेका छाैँ । यसमा पनि हामीले सक्दाे राम्राे गर्ने प्रयास गर्नुपर्छ ।

नेपाली गीती क्षेत्रमा विकृतिहरू छन् भनिन्छ । तपाइँलाई कस्ताे लाग्छ ? साँच्चै विकृतिहरू देखिएका हुन्?

हाे, जुन क्षेत्रमा पनि सकारात्मक र नकारात्मक दुबै पक्ष हुन्छन् । त्यसमा कुनै द्विविधा छैन ।गीतसङ्गीतकाे क्षेत्रमा अहिले  विकास, प्रविधि, प्रगति, विकृति सबै देखिइरहेका छन् । यी कुराहरू तपाइँले पनि देख्दै आउनु भएकाेछ, सुन्दै आउनु भएकाेछ  । मपनि यी कुराहरूबाट अनभिज्ञ छैन  । यस्ता प्रश्नबाट तर्किनुपर्ने अवस्था छैन ।  जाे जाे सर्जक हुनुहुन्छ जसले लेख्नुहुन्छ , कसैले गाउनुहुन्छ ।कसैले सङ्गीत भर्नुहुन्छ ।उहाँहरूले पनि केही किसिमकाे अध्ययन र आफ्नाे सँस्कृतिलाई आफ्नाे पनलाई चै छाड्नुहुन्न । त्यसकाे विकासका लागि चै हामी लाग्नुपर्छ ताकी हामी भन्दा पछाडीकाे पुस्ताले चै हामीलाई र हाम्राे कामलाई सम्झियाेस् । नेपाली गीतसङ्गीतकाे क्षेत्रमा हाम्रा अग्रजहरूले यसरी काम गरेका रैछन् भन्ने एउटा चीनाे छाडेर जान सकियाेस भन्ने इच्छा रहेकाे छ ।

मलाई के लाग्छ भने नेपाली गीतसङ्गीतमा विकृति विसंगति आउनका लागि दर्शक श्राेताकाे पनि त्यति नै हात हुन्छ जति सर्जककाे हुन्छ । किनभने एउटा रचना बजारमा आइसकेपछि त्यसलाइ कत्तिकाे रूचाइन्छ, त्यसकै आधारमा सर्जकले अन्य रचनाहरू बजारमा ल्याउने हाे । नेपालमा चै जति नराम्राे भयाे मानिसहरू त्यसकाे बारेमा खाेजिनिति नै बढि गर्ने चलन बढेकाे छ । त्यै भएकाे हुनाले पनि त्यस्ता सर्जकहरूलाई प्राेत्साहन मिलेकाे जस्ताे देखिन्छ ।  अझ महाेत्सब जात्राहरूमा उहाँहरूले दर्शकहरूकाे लागि त्यस्तै किसिमका हाउभाउ प्रदर्शन गर्ने र दर्शकले वाहवाही गर्ने त तपाइँ हामी सबैले देखेकै छाैँ । सर्जकले मात्र राम्राे दिराख्ने अनि दर्शक श्राेताले राम्राे कामकाे प्रशंसा नगर्ने अवस्था आएपछि सर्जकहरू पनि त्यस्तै किसिमका रचनामा अघि सरेका हुन् कि भन्ने देखिन थालेकाे छ । वास्तवमा त्यस्ताे चैँ हैन ।  

नेपालमा आजभाेलि युट्युब दर्शकलाई लक्षित गरेर गीतहरू निर्माण गर्ने गरिन्छ । के नेपाली गीतहरू युट्युबभन्दा बाहिर चल्दैनन्?

हिजाे म सानाे छँदा गीत सुन्ने श्राेत भनेकाे रेडियाे हाे त्यसमा पनि रेडियाे नेपाल हाे । रेडियाे नेपालबाट नेपालकाे दूर दराजमा मिडिम वेवबाट ,सर्ट वेभबाट सुन्न पाइन्थ्याे । पछि गाउँमा अलिकति धनि मान्छेहरू भएपछि उहाँहरूले टेपरेकर्ड काँधमा हालेर हिँडेकाे देख्न पाइन्थ्याे । चार सिले, छ सिले टेपरेकर्डहरू बाट सुन्न पाइन्थ्याे । क्यासेटकाे जमाना विस्तारै विकशित भयाे । क्यासेट र सिडि दुवै भएकाे प्लेयरहरू आए । सिडि मात्र भएका प्लेयरहरू पनि आए। त्यसपछि टेलिभिजनहरूमा पनि हेर्न सुन्न पाइयाे । अब अहिले युट्युब मात्र हाे त? भनेर प्रश्न गर्नुभयाे । अरू माध्यम के छ त अहिले?

टेलिभिजन? टेलिभिजन कति मान्छेले हेर्छन् । कत्तिकाे घरमा टिभि छैन । नेपाल अझै विकसित भैसकेकाे छैन । सबैतिर बत्ती पुगेकाे छैन । त्यै भएर अबकाे माध्यम भनेकाे प्रत्येककाे हात हातमा माेबाइल हुन्छ , सबैकाे माेबाइलमा इन्टरनेट हुन्छ र युट्युबमा सबैकाे पहुँच पुगेकाे हुन्छ । हामी दर्शक श्राेतासँग सहजै पुग्न सक्ने भनेकाे अहिलेकाे समयमा युट्युब नै हाे । भाेली युट्युब पनि नहाेला अरू नै केही आउला । मुख्य कुरा भनेकाे प्रविधि हाे । यसकाे गतिसँगै आफूलाइ परिमार्जन गर्न सक्न पर्छ भन्ने लाग्छ । अन्य माध्यम भनेकाे रेडियाे हाे । नेपालमा जतिसुकै राष्ट्रवादकाे कुरा गरेपनि रेडियाेमा हिन्दी र अन्य भाषाका गीतहरू बजाउन छाड्दैनन् । त्याे मर्कामा हामी परेका छाैँ  । त्यसैले नेपाली गीत सङ्गीतकाे प्रवर्द्धनका लागि अहिले युट्युब भन्दा अर्काे सशक्त प्ल्याटफर्म छैन ।

युट्युबमा रिलिज गर्ने गीतहरू मात्र मापन हुनेहुन्?

युट्युबभन्दा बाहिर अन्त कहाँ चलाउनु ? कसले रेभिन्यु दिन्छ ? राम्राे कन्टेन्ट भयाे भने बलियाे कन्टेन्ट भयाे भने युट्युबले नै बरू राम्राे पेमेन्ट दिन्छ । राम्राे रेभिन्यु आउँछ । अन्य नयाँ नयाँ प्ल्याटफर्महरू पनि आएका छन् । जस्तै आइट्युन ,स्पाेटिफाइ। तरपनि सबैभन्दा सशक्त माध्यम भनेकाे युट्युब नै हाे । अहिले अडियाे मात्र राम्राे भएर हुँदैन । पहिला थियाे  रेडियाे नेपालमा गीत बजेपछि रेडियाे बाेकेर पर पुगेर सुन्ने गरिन्थ्याे । तर अहिले त्याे जमाना रहेन । अडियाे सँगसँगै भिडियाे देखि लिएर अन्य सबै कुराहरूमा क्वालिटी चाहिन्छ । त्यै भएर अहिलेकाे लागि सशक्त माध्यम भनेकाे युट्युब नै हाे । त्यसमा कुनै शंका छैन । युट्युब बाहेक रेडियाे टिभि पनि हाम्राे प्ल्याटफर्म हाे । तर आयश्राेतकाे हिसाबले युट्युबमा बढी सहभागिता भएकाे भने हाे । टिभिमा, रेडियाे मा दर्शक श्राेताले गीत बजेकै बेला सुन्नु पर्ने हुन्छ । तर युट्युबमा भने आफ्नै अनुकूल समयमा सुन्न सकिने भएकाले दर्शक श्राेता पनि युट्युबमा आकर्षित हुनुभएकाे छ । यसले सर्जकलाइ पनि युट्युबलाई प्राथमिकतामा राख्नुपर्ने एक किसिमकाे दबाब भने छ । सिर्जनालाई मापन गर्ने माध्यम भने धेरै छन् तर युट्युब चै सबैभन्दा सशक्त माध्यम बनेकाे छ अहिलेकाे समयमा ।

नेपाली साङ्गितिक क्षेत्रमा भएका विकृतिहरूलाई कसरी सुधारेर लैजान सकिएला ?

याे प्रश्नकाे उत्तर मैले अघि नै दिसकेँ तर म फेरिपनि भन्दैछु । सबैभन्दा पहिले सर्जकहरूले ध्यान दिन पर्छ ।सर्जकहरूले आफ्नाे विवेक प्रयाेग गरेर मात्रै रचना गर्नुपर्छ। मेराे / हाम्राे रचनाले याे समाजमा कस्ताे प्रभाव पार्छ भन्ने कुरा विचार गर्न सकियाे भने विस्तारै  विकृति हट्दै जान्छ ।

काेराेना माहामारीले गर्दा सङ्गीत क्षेत्रमा कस्ताे असर पारेकाे छ? तपाइँलाई कस्ताे असर पारेकाे छ?

काेराेना माहामारीले गर्नु गरेकाे छ । संगीत क्षेत्रमा मात्र हैन सबै क्षेत्रमा यसले असर पारेकाे छ । मेराे लागि चै साैभाग्य भनुँ या के भनाैँ  याे काेराेना माहाहारी सुरू भएपछि मैले लेखेका दुइवटा गीत आए । एउटा के माया लाग्छ र? आयाे अर्काे तीनपाते आयाे ।दुवैले एक किसिमकाे साङ्गीतिक क्षेत्रमा तरङ्ग ल्याइदिए । काेराेना माहामारीले अन्य क्षेत्रमा ढाड भाँच्दै गर्दाखेरि मेरा दुइवटा गीतहरू चै जनमानसमा रूचाइए । त्यसले गर्दा चै अन्य कुराहरूलाइ छाडेर यही दुइवटा गीतले साङ्गीतिक क्षेत्रमा छाप छाड्न सफल भएका छन् म एकदम खुशी भएकाे छु  । खुशी सँगसँगै दुखी पनि छु ,किनकी काेराेना माहामारीले देशमा यस्ताे विकराल परिस्थितिकाे सिर्जना गरेकाे छ । यसबाट कसरी मुक्त भइएला ? कहिले भइएला भन्ने चिन्ता पनि रहेकाे छ ।

अन्त्यमा तपाइँले याे क्षेत्रमा गरेकाे आशा र तपाइँले पाउनुभएकाे सफलता कत्तिकाे म्याच भएकाे छ ? के तपाइँले सेचेकाे जत्तिकै सजिलाे रैछ सङ्गीत क्षेत्र?

आशा, हेर्नुस  रूखमा पाकेकाे फल खाउँला मात्र भनेर हुँदैन याे प्राप्त गर्ने दुइवटा कुरा हुन्छ ।पहिलाे भनेकाे रूखमा चढ्न सकिन्छ कि सकिँदैन भन्ने हाे अर्काे भनेकाे झटाराे हान्ने हाे । झटाराे हान्दा झर्छ कि झर्दैन भन्ने हाे । अनि अब रूखमा चढ्दा चिप्लिन्छ कि भन्ने डर हुन्छ । झटाराे हान्दा त्याे फल कहाँ पुग्छ भन्ने डर हुन्छ । तर फल खाने प्रयास चै छाडन हुन्न । यी त अलिकति ठट्याैली कुरा भए ।

सङ्गीतकाे क्षेत्रमा अथवा जुनसुकै क्षेत्रमा आशा भन्दा पनि काम नै ठूलाे कुरा हाे  ।आशा गरेर प्रतिकूल परिणाम आयाे भने निराशा मात्र आइलाग्छ। त्यै भएर हामीले गर्न सक्ने काम के हाे त्यसलाई प्राथमिकतामा राखेर मेहेनत र लगनशीलताका साथ काम गर्न पर्छ अनि मात्र आशाकाे कुरा आउँछ ।

काम गर्दै जाँदा आशा भन्दा मेहेनतकाे जरूरत बढी हुन्छ । कहिलेकाँही धेरथाेर भाग्यले पनि साथ दिनुपर्छ जस्ताे लाग्छ । भाग्यमा छ भन्दैमा डाेकाेमा दूध अडिन्छ भन्ने पनि हाेइन, त्यसकाे लागि त ठेकी नै चाहिन्छ भन्ने कुरा ख्याल राख्न पर्छ ।

साेचेझैँ साङ्गीतिक क्षेत्र रैछ कि छैनरैछ भन्ने प्रश्न गर्नुभयाे । वास्तवमा भन्नुपर्दा याे क्षेत्र मैले साेचे झैँ छैन रैछ । किनभने कुनैपनि  गीत मैले लेखेर चल्याे भन्ने हुँदैन । याे टीमवर्कमा भर पर्ने कुरा हाे । पर्दा बाहिर र पर्दा भित्र दुवैतिर रहने मान्छेकाे उत्तिकै भूमिका हुन्छ । हामी टीममा विश्वास गर्छाैँ । मेराे लेखन शैली ग्रामीण भेगकाे भएकाेले मैले टीम पनि त्यस्तै छनाेट गरेकाे हाे । दर्शक श्राेताहरूले पनि रूचाइदिनुभएकाे छ । मेराे गीतहरू पनि ग्रामीण परिवेशमा नै रहेका छन् ।याे क्षेत्रमा अप्ठ्याराे र अवसर दुवै छ,  परिस्थिति कसकाे पक्षमा छ भन्ने कुराले पनि यसकाे निर्धारण गरेकाे हुन्छ ।

याे क्षेत्रमा सबै कुराहरू टिकाउ हुँदैनन् । आज म छु दुइ चारवटा गीतहरू चलेका छन् । भाेली मेराे ठाउँमा अरू काेही आउला । आज मेरा गीत चलेका छन् र तपाइँ र म सँगै बस्ने अवसर मिलेकाे छ । भाेली मेरा गीतहरू नचलेकाे अवस्थामा याे अवसर नजुर्न पनि सक्छ । याे क्षेत्रमा उदय र अस्तकाे प्रक्रिया चलिरहन्छ । त्यै भएर आफूले गर्ने काममा इमान्दारिताका  साथ लागिन्छ । आम जनताले मन पराउनुहुन्छ । भाेली मैलेभन्दा अर्काेले राम्राे लेख्ला, त्याे समयकाे चक्र हाे । सँधै समय मेरै पक्षमा मात्र रहन्छ भन्ने हुँदैन । त्यसैले आज सफलता मिल्दा मात्तिने , घमण्ड गर्ने गर्न हुँदैन भन्ने लाग्छ । मलाई चैँ  नेपाली साङ्गीतिक क्षेत्रलाइ थाेरै भएपनि याेगदान दिन मन छ । पक्कै समयले साथ दिनेछ भन्ने आशा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु