Information is intelligence
HomeTourismनिकुञ्जमा एकसिङ्गे गैंडाको सख्यामा वृद्धि

निकुञ्जमा एकसिङ्गे गैंडाको सख्यामा वृद्धि

- Advertisement -spot_img

दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको सङ्ख्या कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढेको छ । स्थानान्तरण गरेर ल्याइएका नौ वटा एकसिङ्गे गैंडाको सङ्ख्या बढेर १७ पुगेको छ ।

गैंडाको बासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि गैंडाको सङ्ख्या बढ्न थालेको हो ।  पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैंडा शुक्लाफाँटामा ल्याइएको थियो । त्यसपछि सन् २०१७ मा पाँचवटा गैंडा निकुञ्जमा ल्याइएको थियो । हाल निकुञ्जमा १० वटा भाले, पाँचवटा पोथी र दुई वटा केटाकेटी संरक्षित रहेका छन् ।

स्थानान्तरण भएको दुई दशकपछि गैंडाको सङ्ख्या सन्तोषजनक रुपमा वृद्धि हँुदै गएको निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौडयालले बताउनुभयो । “गैंडालाई चौबिसै घण्टा निगरानीमा राखेर सुरक्षा दिएका छौंँ”, उहाँले भन्नुभयो, “जोखिमयुक्त क्षेत्रमा क्यामेरा जडान गरी गैंडाको निगरानी राख्ने कार्य भैरहेको छ ।”

गैंडा शाकाहारी प्राणी भएकाले आहाराको कमी हुन नदिनका लागि घाँसे मैदान व्यवस्थापनसँगै गैंडाले क्रिडा गर्ने तालतलैया क्षेत्र व्यवस्थापनको कार्यमा जोड दिइएको उहाँले बताउनुभयो । गैंडाको मुख्य बासस्थानका रुपमा महाकाली नदीतटीय क्षेत्र, चौधर नदीतटीय क्षेत्र, घाँसे मैदान, रानी ताल, सलगौडी ताललगायत रहेका छन ।

“निकुञ्जका कर्मचारीसँंगै नेपाली सेनाले चौबिसै घण्टा गैंडालगायतका दुर्लभ वन्यजन्तुको सुरक्षाका लागि चनाखो भएर कार्य गर्दै आएकाले हालसम्म चोरी शिकारीका घटना हुन पाएका छैनन्”, अधिकृत पौडयालले बताए , “संरक्षणका हिसाबले गैंडाको सङ्ख्यामा बृद्धि हुनुलाई सुधारन्मुख भन्न सकिन्छ ।” निकुञ्जमा पर्याप्त ताल र सिमसार क्षेत्र भएकाले गैंडाका लागि राम्रो बासस्थान रहेको छ । एकसिँगे गैंडा नेपाल र भारतमा मात्रै पाइने गरेको छ ।

यो गैंडाको प्रजाति लापोन्मुख अवस्थामा रहेको छ । एकसिँगे गैडाको सिँग २० दशमलव ५ सेन्टिमिटर देखि १०० सेन्टिमिटर लामो हुने गरेको छ । बाह्य आक्रमणबाट जोगिनका लागि गैंडाको सुरक्षा कवचका रुपमा मोटो छाला रहेको हुन्छ । एकसिँगे गैंडाको तौल दुई हजार किलो बढी हुन्छ । गैंडाको गर्भाधारणको समयावधि १६ देखि १८ महिनाको हुने गर्दछ । औषतमा गैंडा ४० देखि ५० बर्ष सम्म बाँचेको पाइएको छ । गैंडाले प्रतिघण्टा ५५ किलोमिटरका दरले दर्गुन सक्दछ ।

गैंडा चोरी शिकारी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सन् २०१६ मा गैंडाको चोरी सिकारी गरी  खागसहित बेलडाँडीका नत्थु राना पक्राउ परेका थिए । निकुञ्जकै गैंडाको चोरी शिकारी गरी खाग झिकेको आरोपमा रानालाई १३ वर्षको जेल सजाय भएको थियो ।

सन् २०१४ मा निकुञ्जबाट भारतको टाटरगञ्ज पुगेको भाले गैंडाको अर्को भाले गैंडासँग जुध्दा मृत्यु भएको थियो । सन् २०१८ मा गैडाको आक्रमणबाट निकुञ्ज छिरेका चार जना घाइते भएका थिए । गैंडाको आक्रमणमा परेर मृत्यु भएको रेकर्ड भने निकुञ्ज कार्यालयसँग रहेको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु