Information is intelligence
HomeNewsपुल हेर्न सिक्रि बेचेर सय किलाेमिटर यात्रा

पुल हेर्न सिक्रि बेचेर सय किलाेमिटर यात्रा

- Advertisement -spot_img

मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जबर्जस्ति पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो । निसीखोलाको वडा नम्बर–७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका आठ जनामध्ये चार जना साँझ घरमा फर्के । १७ वर्षीया अस्मिता सुनार, १५ वर्षीय रामप्रसाद सुनार, १६ वर्षीय श्यामु शिर्पाली र १५ वर्षीया सम्झना सिर्पाली भने सम्पर्क विहिन भए । परिवारले खोजी गर्न झिवाखोला प्रहरीमा निवेदनसमेत दियो । हराएको भनिएको पाँच दिन पछि बागलुङ बजारबाट ती किशोर किशोरी फेला परे ।

यद्यपी, उनीहरु हराएको नभई विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल हेर्नका लागि बागलुङ आएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार नर्सिङकोट घुम्न गएका आठमध्ये चार जना बागलुङका लागि निसीखोलाबाट हिँडेर बुर्तिवाङ आएका थिए ।

बुर्तिवाङको सुन पसलमा सोही दिन तीन किशोरीमध्ये दुई किशोरीले आफूले लगाएको चाँदीको सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको रेग्मीको भनाइ छ । “घाँटीमा लगाएको दुईवटा सिक्रि बेचेर ट्याक्सी चढेर बागलुङ आएको पाइयो”, रेग्मीले भने “बागलुङ् बजारको चिप्लेटी बसपार्कमा बास बसेका उनीहरुले लामो पुल अवलोकन समेत गरेका रहेछन् ।” कालिका मन्दिरसमेत घुम्न गएका उनीहरुलाई प्रहरीले फर्काएको थियो । पैसा र बासको अभावमा घर फर्कन नसकेका उनीहरुलाई प्रहरीले भदौ १० गते बागलुङ बजारमा फेला पारेको थियो ।

बागलुङ बजारमा निषेधाज्ञा भएकाले घर फर्कन समस्या भएका कारण परिवारको सम्पर्कमा नआएको हुन सक्ने परिवारका सदस्य बताउँछन् । घरबाट घुम्न भनेर निस्केका चारै जना सम्पर्कबिहिन भएपछि चिन्तामा रहेको र घुम्नेक्रममै भेटिएको खबरले खुसी दिलाएको श्यामु सिर्पालीका बुबा कोकबहादुर बिकले बताए । “हामी त तनावमा थियौं, कसैले अपहरण, केही गर्याे कि भनेर डराएका पनि थियौं,” बिकले भने, “रामप्रसाद सुनार, अस्मिता सुनारले घरबाट एक हजार र श्यामु सिर्पालीले ६०० लगेर निस्केका रहेछन् ।” सिर्पालीका बुबाका अनुसार बागलुङ् बजारमा प्रहरीले फेला पारेर बुर्तिवाङ लगेर परिवारको जिम्मामा लगाइदिएको छ ।

उनीहरुले दुई वटा चाँदीको सिक्रि बुर्तिवाङ बजारमा रु तीन हजारमा बिक्री गरी ट्याक्सी चढेर लामो पुल हेर्न  १० किमी पैदल र ९० किलोमिटर सवारी यात्रा गरी बागलुङ् बजार आएका थिए । सामाजिक सञ्जालमा निकै चर्चा कमाएको रामरेखा अदुवाबारी पुलका विषयमा उनीहरुले जानकारी पाए पछि परिवारलाई खबर नगरी बागलुङ बजारमा आएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु