Information is intelligence
HomeNewsजातीय विभेदले आफ्नै बाबुको शव छुन नपाएका बुढाक्षेत्री

जातीय विभेदले आफ्नै बाबुको शव छुन नपाएका बुढाक्षेत्री

- Advertisement -spot_img

जन्म दिने बाबुको निधनले धरधरी आँसु झरिरहेका बेला कसैले मृत शरीरलाई हेर्न र छुन मात्रै नभई दाहसंस्कारमा नै सहभागी हुन दिँदैनौँ भन्दा शोकमा डुबेका मानिसलाई कति पीडा हुँदो हो । त्यही पीडादायी परिस्थितिमा ‘हाम्रो कुल वंशबाट नै निकालिएको, तँ तल्लो जाति’ को भनेर आफ्नै दाजुभाइले नानाथरी गाली गरेर घचेट्दा कति मन जल्दो हो । यस्तो परिस्थितिको कल्पना गर्न पनि सकिन्न ।

तर यस्तै पीडादायी परिस्थितिले छटपटाएर न्यायको खोजीमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका राजिन्द्र बुढाक्षेत्री सदरमुकाम फुङलिङ आएको केही दिन बित्यो । समाजमा अहिले दलित समुदाय र अन्य जातिबीच जातीय भेदभाव कायमै छ । दलित समुदायका छोरीचेली विवाह गरेकै कारण आफ्ना दाजुभाइ र समाजबाट बहिस्कारमा परेका थुप्रै उदाहरणमध्ये बुढाक्षेत्री पनि एक छन्। गाउँमा सानैदेखि चिनजानमा रहेकी विश्वकर्मा थरकी महिलासँग प्रेमपछि वैवाहिक सम्बन्धमा जोडिनुभएका राजिन्द्र त्यसबेलादेखि नै गाउँ समाजबाट एक्लो भए। विसं २०६० सालमा उहाँबीच विवाह भएको थियो । विवाहपश्चात् घरबाट अन्यत्रै छुट्टिएर बसेका राजिन्द्रको परिवार समाजको नजरबाट टाढै बने पनि आफ्नै दुनियाँमा रमाउँदै आयो ।

यत्तिकैमा गएको साउन १० गते अचानक बिरामी पर्नुभएका आफ्ना बाबुले घरमा बोलाएर उपचारमा लैजानू भनेपछि राजिन्द्र उपचारका लागि बाबुलाई लिएर झापाको विर्तासिटी अस्पताल पुगे । केही दिन अस्पतालमा बसेपछि बाबुलाई केही सञ्चो भए जस्तो देखियो र बिरामी परेका बाबुले नै घर लैजानू भनेपछि साथमा लिएर साउन १७ गते राजिन्द्र घर फर्किएका थीए । घर आइपुगेको भोलिपल्ट साउन १८ गते नै पुनः बुबा सिकिस्त बिरामी परे । सिकिस्त बिरामी परेपछि बाबुको बैतर्नी गर्ने निधो भयो । उक्त समयमा एकाघरका दाजु प्रेम बुढाक्षेत्रीले ‘तिमीहरु छोराछोरीसहित परिवारै घर जानु, यहाँ बस्दा बिटुलो हुन्छ, अशुद्ध हुन्छ, तिमीहरु अछूत कामी जातका मानिस हौ र तिमीहरुलाई हाम्रो बुढाक्षेत्रीको कुल परिवारबाट हामीले बहिस्कार गरिसकेका छौँ’ भनेर आफुलाई त्यहाँ बस्न वञ्चित गरेको राजिन्द्रले बताउनुभयो । त्यही दिन दिउँसो साढे १ बजे राजिन्द्रका बुबा बिते।

मृत्युपछि परिवार शोकमा डुब्यो । अरु दाजुभाइ छरछिमेक सबै भेला भए । सँगैमा अरु सबैले मृत शरीर नजिक गएर हेरे, रोए कराए तर राजिन्द्र, उहाँकी श्रीमती फुलमाया र उहाँहरुका छोराछोरीलाई नजिक जानसमेत वञ्चित गराइयो । दाहसंस्कारका लागि शव उठाउन तयार हुँदासम्म राजिन्द्रले आफ्ना मृत बाबुको शरीर छुन पाउनुभएन । दाहसंस्कारका लागि घाटमा शव उठाएर लैजाने बेला भएको थियो । नाताले काका पर्ने रामबहादुर बुढाक्षेत्रीले समाजको अघि आएर ‘तिमीहरु अछूत कामी जातका मानिसहरुलाई क्षेत्रीको हुद्दामा आउन दिँदैनौँ, तिमीहरुले घाटमा जान, केस काट्न, काजक्रिया गर्न पाउँदैनौ’ भने। “मलाई पीडामाथि पीडा थोपरियो, चुप लागेर बस्नुबाहेक मसित कुनै विकल्प थिएन”, राजिन्द्रले भने ।

यस्तै सिदिङ्वा गाउँपालिकाको हुलाक कार्यालयमा कार्यरत बुद्धिप्रसाद बुढाथोकीले ‘लाससमेत छुन पाउँदैनौ अब उप्रान्त सेन्चुरी जात लेख्नू’ भनेर हप्कीधप्की गरेको उनले बताएक छन् । उहाँका अनुसार यसरी आफ्ना आफन्त, दाजुभाइले जातीय भेदभावसहित गालीगलौज गर्दा समाजका अरु मानिस मुखामुख गरिरहेका देखिन्थे । “त्यहाँ जम्मा भएका पुरोहितलगायत केही बाहुन समुदायका मानिसले राजिन्द्र पनि कुलप्रसादकै छोरा हो, दाजुभाइसँगै बसेर क्रिया बस्दा हुन्छ भन्दाभन्दै पनि चार जनाले गालीगलौज गर्दै दाहसंस्कारका लागि घाटमा जान, लास हेर्न र छुनसमेत वञ्चित गराए”, उनले भने। बाबुको लास लिएर अरु घाटतर्फ लागेपछि आफू आफ्नो परिवार लिएर छुट्टिएर बसेको घरतर्फ गएको र दलित समुदायकै पुरोहित बोलाएर १३ दिन क्रिया बसी बाबुको १३ दिने संस्कार सकाएको बुढाक्षेत्रीले बताए।

विश्वकर्माका छोरीसित विवाह गरेदेखि आफू घर परिवार र गाउँ समाजबाटै अलग्गै बन्नु परेको उहाँको भनाइ छ । उहाँका अनुसार यसअघि मूलघरमा भने आउने जाने हुन्थ्यो भने बाबुसँगको सम्बन्ध पनि ठिकै थियो । जातीय विभेदसहित बाबुको दाहसंस्कारमा सामेल हुन वञ्चित गराएपछि यसमा संलग्न चार जना विरुद्ध बुढाक्षेत्रीले बुधबार जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा किटानी जाहेरी दर्ता गराएका । जिल्लाको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु घर भई हाल इटहरी बस्दै आउनुभएका प्रेम बुढाक्षेत्री, सिदिङ्वा गाउँपालिका–४ का रामबहादुर बुढाथोकी, सोही ठाउँका क्रमशः बुद्धिप्रसाद बुढाथोकी र खड्क बुढाथोकी विरुद्ध जातीय भेदभाव तथा छुवाछूत गरेको भन्दै राजिन्द्र र उहाँकी श्रीमती फुलमायाले जाहेरी दिएका हुन्।

न्यायको खोजीमा कोरोना सङ्क्रमणका बीच गाउँबाट सदरमुकाम आउनुभएका क्षेत्रीलाई संयुक्त दलित अधिकार मञ्च ताप्लेजुङले जाहेरी दर्ता गराउनेसम्मको कार्यमा सहयोग गरेको छ । मञ्चका अध्यक्ष छत्र विश्वकर्माले यो एउटा प्रतिनिधिमूलक घटना मात्रै भएको साथै गाउँघरमा जातीय भेदभावजन्य आपराधिक घटना प्रशस्तै रहेको बताए। यस्ता घटना विरुद्ध सबैले आवाज उठाउन आवशयक भएकोमा उहाँले जोड दिए।

यता राजिन्द्र बुढाक्षेत्री र उहाँकी श्रीमती फुलमाया विश्वकर्मा (बुढाक्षेत्री) सहितले दिएको जाहेरीका आधारमा आवश्यक कानूनी कामकारवाही अघि बढाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। पीडित परिवारले छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ बमोजिम दोषीलाई हदैसम्मको सजाय गरी न्याय दिलाइदिन अनुरोध गरेको छ ।

सदियौँदेखि समाजमा चल्दै आएको जातीय भेदभाव ताप्लेजुङमा समेत अझै कायमै छ । बजार क्षेत्रमा बसोबास गर्ने पछिल्लो पुस्ता र केही सामाजिक क्षेत्रमा रहेका मानिसले भेदभावजन्य गतिविधि नगरे पनि बाँकी समुदायले भने भेदभावका व्यवहार त्याग्न सकेका छैनन् । दलित समुदायका मानिस जातीय भेदभावमा परे कानूनी उपचार खोज्न भने डराउने गरेको संयुक्त दलित अधिकार मञ्चको ठहर छ ।

भेदभावजन्य कार्यले पीडा भए पनि उजुरी दिँदा भोलि गाउँ समाजमा अप्ठ्यारोमा परिने हो कि भन्ने डरले पनि कानूनी उपचारको बाटोमा नलाग्ने गरेको पाइएको मञ्चका उपाध्यक्ष गङ्गा शङ्खरले बताए । यसरी समाजमा रहेको जातीय भेदभावलाई न्यूनीकरण गर्न सबै पक्षले जोड दिनुपर्ने आवश्यकता भएकोमा उहाँको जोड छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु