Information is intelligence
HomeNewsकाम देउ, गरेर खान्छौँः असङ्गठित मजदुर

काम देउ, गरेर खान्छौँः असङ्गठित मजदुर

- Advertisement -spot_img

कोभिड–१९ को जोखिम रोक्न जारी गरिएको बन्दाबन्दी हटेपछि विस्तारै कामको खोजीमा लागेका असङ्गठित क्षेत्रका मजदुर निषेधाज्ञा शुरु भएसँगै पुनःसडकमा आउन थालेका छन् । बजार सबै बन्द भएर कामविहिन भएपछि बाध्यताबस भोक मेटाउन बाध्यताबस सडकमा अउनु परेको मजदुरको दुखेसो छ । काठमाडौँको रत्नपार्कस्थित बसपार्कमा साँझको समयमा झण्डै पाँचदेखि सात सय मजदुर खाना कै लागि भेला हुने गरेका छन् ।

ज्याला मजदुरी गर्ने सिन्धुपाल्चोक कान्छा स्याङतान पाँच महिनादेखि बेकामे छन् । बीचमा बन्दाबन्दी खुले पनि राम्ररी काम पाउनु भएन । बन्दाबन्दी हट्दा ज्याला मजदुरीले जेनतेन खानसम्म पुगेको थियो । निषेधाज्ञा भएपछि भने फेरि पहिले झैँ भोकभोकै बस्नुपर्ने अबस्था आएपछि रत्नपार्कमा संस्थाले बाँडेको खानेकुरा खान थालेको स्याङ्तानले बताए । उनी भन्छन्, “हामीलाई काम गर्न देउ, गरेर खान्छौँ ।”

उनीहरुलाई हन्ड्रेड ग्रुपलगायत संस्थाले नियमित खाना खुवाउँदै आएको छ । खान पाउने भएपछि उपत्यकाका तीनै जिल्लामा कामविहिन मजदुर दिउँसो तीन बजे नै यहाँ भेला हुन्छन् ।

उनीहरुलाई चार बजेको समयमा खाना खुवाउने गरेको उक्त गु्रपका संस्थापक अङ्शु यादवले बताए । उनका अनुसार रत्नपार्कमा झण्डै सात सयलाई खाना खुवाउने गरिएको छ । “विगतमा दुई÷तीन सय आउँथे, अहिले बढेर छ÷सात सय पुगेका छन्”, यादवले भने, “चैत १३ गतेदेखि हामीले शुरु गरेको खाना खुवाउने अभियान अहिलेसम्म जारी छ ।” विगतमा ठाउँठाउँमा पुगेर खाना खुवाउने गरिए पनि अहिले धेरै ठाउँमा जान नसकिएको उनले बताए ।

सडकमै भेटिएका होटल मजदुर पूर्णप्रसाद पाण्डेलाई विगतमा खानाको दुःख थिएन । बागबजारको होटलमा खाना पकाउने (कुक) उहाँ होटल बन्द भएपछि कामविहिन भए । उनी पनि संस्थाले दिएको खाना खान रत्नपार्कमा आउँछन् । शनिबार खानाको लाइनमा बसेका पाण्डेले अन्य क्षेत्रमा पनि मजदुर भोकभोकै रहेको बताए । थाहा पाएका निकै टाढाबाट खाना खान यहाँ आइपुग्छन् ।

त्यस्तै पीडा काठमाडौँमा १२ बर्षदेखि भारी बोक्दै आएका सिन्धुपाल्चोकका कुमार श्रेष्ठको पनि छ । कोरोनाले गर्दा काम पाउन नसकेको दुखेसो गर्ने श्रेष्ठ पनि अहिले सडकमा काम विहिन छन् । कहिलेसम्म खानाको लागि सडकमा भौतारिनुपर्ने हो भनेर उनी पनि चिन्तित छन् ।

विगतमा सरकारले चैत ११ बाट बन्दाबन्दी लागु गरेको थियो । त्यसको अर्काे हप्तामा असङ्गठित क्षेत्रका मजदुरलाई सरकारले खाना खुवाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयमा विभिन्न संस्थाले समेत साथ दिए । ठाउँठाउँमा भोजन गराएर भोकाहरुको पेट भर्ने वातावरण मिलेको थियो । बीचमा बन्दाबन्दी खुकुलो हुँदै आएपछि उनीहरुलाई सरकारले काम दिने निर्णय गरेको थियो । उक्त निर्णय कतिपय स्थानीय तहले लागू गरे पनि प्रभावकारी हुन सकेको थिएन । कोभिड–१९ को सङ्क्रमण जोखिम भएको भन्दै उक्त खाना खुवाउने अभियानलाई सरकारले नै निरुत्साहित गर्यो ।

गत साउन ६ गतेदेखि बन्दाबन्दी अन्त्य हुँदा मजदुर कामको खोजीमा हिँडेपछि धेरै मजदुर सडकमा देखिएका थिएनन् । यही भदौ चार गते उपत्यकामा अत्यावश्यक काम बाहेकका गतिविधिमा पूर्ण रोक लगाउने गरी निषेधको आदेश जारी भएपछि भने मजदुर पुनः सडकमा आउन थालेका हुन् ।

त्यसरी सडकमा आएका मजदुरलाई विभिन्न संस्थामा आवद्ध युवाको सक्रियतामा खाना खुवाउँदै आइएको छ । खाना खुवाउने अभियान चलाएको हन्ड्रेड गु्रपले संस्थाले गरेको काम फेसबुकमा हाल्ने गरेको छ । संस्थाका प्रतिनिधि आफैँ पनि पैसा उठाएर मजदुरलाई खानाको जोहो गर्ने गरेका छन् । फेसबुकबाट थाहा पाएर कति मनकारीले सहयोग पनि गर्छन् । त्यही रकमबाट खाना खुवाउने अभियान सफल भइरहेको यादवले बताए । बानेश्वरमा खाना बनाउने र टेम्पुलाई दैनिक एक हजार तिरेर खाना ल्याउने गरिएको छ ।

अभियानमा लायन्स क्लवलगायत विभिन्न संस्थाले सहयोग गर्ने गरेको छ । लायन्स क्लवका प्रतिनिधि इन्द्रबहादुर कार्की सामाजिक उत्तरदायित्व अन्तरगत मजदुरको भोक मेटाउनका लागि आवश्यक सहयोग गर्न थालेको बताउँछन्। उहाँले मजदुरहरुलाई सरकारले उचित व्यवस्थापन गर्न सके प्रभावकारी हुने सुझाव दिए ।

यसरी सडकमा आइपुगेका मजदुरहरुले भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सकेका छैनन् । उनीहरुमा प्रभावकारी चेतना समेत पुग्न सकेको देखिएन । सडकका बेवारिसेमा समेत कोभिड–१९ देखिन थालेको वर्तमान अबस्थामा ति मजदुरले सामाजिक दूरी कायम गर्न नसक्दा जोखिम बढ्दो छ । महिनौदेखि प्रयोग भएको फोहर मास्क गोजीमा राखेर बसेका मजदुरले न त हात धुने गर्छन्, न त सेनिटाइज नै प्रयोग गर्न सक्छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु