Information is intelligence
HomeNewsनदी कटानका कारण टीकापुरमा जोखिम बढ्यो

नदी कटानका कारण टीकापुरमा जोखिम बढ्यो

- Advertisement -spot_img

नदी कटानका कारण कर्णाली नदी फुट्ने खतरा बढेको छ । टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनको मूलपानीमा कर्णाली नदीले तटबन्ध कटान गर्दा टीकापुरमा जोखिम बढेको हो । नदीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध कटान शुरु गरेको छ । “कटान तीव्ररुपमा भइरहेको छ । नदीले बहाव बदल्ने देखिन्छ”, स्थानीय झपट सोडारीले भने, “यसलाई नियन्त्रण नगरे बस्तीमा क्षति पुग्ने निश्चित छ । नदी बस्तीमा पसे टीकापुर २, ७, ८ सखाप हुने देखिन्छ । हजारौँ घर डुबानमा पर्नेछन् ।”

सोडारीका अनुसार यस वर्ष नै निर्माण गरिएको तटबन्ध कमजोर रहेकाले नदी कटान बढेको हो । नदीले कटान तीव्र पार्दा नदी बस्तीमा फर्किने अवस्था आएको उनको भनाइ छ । उनले भने, “नदीलाई तत्काल नियन्त्रणको प्रयास नभए बस्ती सखाप हुन्छ ।” नदी कटानले करिब १०० मिटर तटबन्ध बगेर जाने अवस्थामा पुगेको छ । तटबन्ध बगे कर्णालीको पानी नगरक्षेत्र पस्ने जोखिम रहेको छ । नदीले कटान गरिरहेको क्षेत्रलाई टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल, सिँचाइ आयोजनाका प्रतिनिधि, प्राविधिकसहितको टोलीले निरीक्षण गरेको छ ।

“नदी कटानका कारण बस्ती जोखिम पर्ने देखिएको छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा विपद् समितिको बैठक बसी तत्कालका लागि जैविक तटबन्ध गर्ने निर्णय भएको छ”, नगर प्रमुख रावलले भने, “नदीमा पानीको बहाव घट्न थालेपछि कटान बढेको छ । नदी कटान नरोके वडा नं २ पूरै उच्च जोखिममा पर्नेछ ।”

विपद् समितिले तत्काल जैविक तटबन्धका लागि नदी नियन्त्रण एकल प्रयासबाट मात्र सम्भव नभएकाले सशस्त्र र जनपद प्रहरीको सहयोग लिने निर्णय गरेको छ । नदीमा आजैबाट नियन्त्रणको प्रयास शुरु गरिने भएको छ । यसका साथै नदी नियन्त्रणका लागि थप व्यवस्था गर्न जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिलाई गुहार गर्ने निर्णय गरी जिल्लालाई अनुरोध गरेको नगर प्रमुख रावलले बताए। “हामी एक्लैले नियन्त्रण सम्भव छैन, जिल्लालाई पहल गर्नका लागि अनुरोध गरेका छौँ”, उनले भने, “तत्काल सिँचाइ र नगरपालिकाले मिलेर स्थानीय, सशस्त्र प्रहरी र जनपद प्रहरीको सहयोग लिएर स्थानीय स्रोतको प्रयोग गरी नियन्त्रणको प्रयास गर्छौैं ।”

कर्णाली नदीको कटानले टीकापुर–५ स्थित टीकापुर पार्क क्षेत्रमा बनेको तटबन्धको माटोसमेत बगाउन थालेको छ । त्यहाँ पनि कटानको जोखिम रहेकाले यहाँ थप त्रास सिर्जना भएको छ । पार्क क्षेत्रमा तटबन्ध भत्किए टीकापुर पार्क तहसनहस हुनेछ । “पार्क किनारमा रहेको कर्णाली नदीको तटबन्ध भत्किए टीकापुर–५, ७, ८ वडामा डुबान र कटान हुनेछ”, स्थानीय बडघर धर्मराज जैसीले भने, “सिँचाइले नदी नियन्त्रणको काम निरन्तर गर्न आवश्यक छ ।”

बर्दियाको राजापुर नगरपालिका पनि जोखिममा

कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीले बर्दियाको राजापुर नगरपालिका–१ चनौरा, टिउनी, वडा नं ३ को तिघरामा कटान तीव्र पारेको छ । नदीले कटान तीव्र पारेपछि स्थानीयवासीले जैविक तटबन्ध गर्न थालेका छन् ।

कर्णाली नदीमा पानीको बहाव बढ्दा बर्दियातर्फ बग्न थालेपछि राजापुर नगरपालिकाको वडा नं १ र ३ जोखिममा परेको हो । वडा नं १ मा नदी नियन्त्रण गर्न नसके दौलतपुर, चनौरा र टिउनीका हजारौँ घर डुबान र कटानमा पर्नेछन् । साथै वडा नं ३ को तिघराका सयौँ परिवार विस्थापित हुने अवस्था आउनेछ ।

बर्दियातर्फ कर्णाली वन व्यवस्थापन आयोजनाको सहयोगमा नदी नियन्त्रणको काम भइरहेको छ । आयोजनाले बर्दियातर्फ तटबन्ध कार्य गरिरहेको छ । “कर्णालीको पानी बर्दियातर्फ बग्दा आयोजनाले बनाएको तटबन्ध भत्कने जोखिम बढेको छ”, दौलतपुरका लोकराज ढुङ्गानाले भने, “नदीले वडा नं ३ मा पाँच बिघा जग्गा कटान गरिसकेको छ भने वडा नं १ मा कर्णाली नदी व्यवस्थापन आयोजनाले बनाएको बाँध भत्कने जोखिम बढेको छ ।”

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु