Information is intelligence
HomeNewsछाडा छोडिएका गाईबाच्छाको तस्करी रोक्न आह्वान

छाडा छोडिएका गाईबाच्छाको तस्करी रोक्न आह्वान

- Advertisement -spot_img

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका क्रममा सडकमा भौँतारिने राष्ट्रिय जनावर गाईबाच्छा एवं साँढे बेपत्ता हुन थालेका छन् । हराएका ती अबोध प्राणीका बारेमा जिम्मेवार निकाय बेखबर हुन थालेपछि तस्करी बढेको छाडा गाईबाच्छा संरक्षण अभियानकर्मी उत्तम पुडासैनी बताउछन्। “नदी किनार र एकान्त स्थलमा चारखुट्टा हराएको अवस्थामा भेटिएका प्राणीको हामीले अन्तिम संस्कार गरेका छौँ, तराईबाट राजधानीसम्म आउने राँगा र भैँसीको आपुर्ति ठप्प हुँदा पनि मासु खानेको तृष्णा ठप्प भएको हुँदैन, सडकमा छाडिएका ती अबोध प्राणीमाथि गिद्देदृष्टि परेका अनेकौँ उदाहरण हामीसँग छ”, उनले भने।

एकदिनमा १८ वटा गाईबाच्छाका मासुबिनाका शरीर (भुँडीमात्र) को अन्तिम संस्कार गरेको संरक्षण अभियानले जनाएको छ । राजधानीको कपनमा गौहत्या गरी मासुको व्यापार हुँदै गरेको समाचार सार्वजनिक भएको थियो । मासुको आपूर्ति कम हँुदा बजारको मागलाई ध्यानमा राख्दै तस्करीको निशानामा असहाय बाच्छाबाच्छी पर्न थालेका छन् ।

सडकमा अघिल्लो दिन देखिएका बाच्छा भोलिपल्ट बेपत्ता भएका र ती बाच्छाबाच्छीलाई फेरि कहिल्यै नदेखिनुको पछाडि पनि यस्तै कारण हुन सक्ने अभियानको ठहर छ । काठमाडौँ उपत्यकामा भदौ ३ गते मध्यरातदेखि जारी निषेधाज्ञाका कारण सडकमा भौँतारिने अबोध र असहाय गाईबाच्छा बिस्तारै पातलिन थालेका छन् । राष्ट्रिय जनावर गौप्राणी माथिको यस किसिमको क्रुरता बन्द गर्न सरोकार भएका निकायको ध्यान जानुपर्ने छाडा गाईबाच्छा संरक्षण अभियानकर्मीको माग छ ।

अभियानसँग ३०० असहाय गाईबाच्छाको संरक्षण गर्नसक्ने भौतिक संरचना तयार भएकाले रातारात बेपत्ता हुने अबोध प्राणीको उद्धार गरी आश्रयस्थलसम्म ल्याइदिन अभियानले आह्वान गरेको छ । पशुपति क्षेत्र विकास कोषले कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारमा उपलब्ध गराएको जग्गामा यस्तो संरचना पारिएको अभियानकर्मी पुडासैनीले बताए। तस्करको गिद्देदृष्टिबाट अबोध प्राणीलाई बचाउन अभियानले आममानिसमा आह्वान गरेको छ ।

पछिल्ला दिनमा पाल्न लैजाने बहानामा सडक र नदी किनारमा भेटिने गौप्राणीलाई गाडीमा राखेर लैजाने गिरोह सक्रिय भएको छ । यस्तो दृश्य देखिएमा प्रतिरोध गर्न र सम्बन्धित निकायको कुनै आधिकारिक पत्रविना त्यस्ता प्राणीलाई लैजानबाट रोक्न सबै लागिपर्नुपर्नेमा अभियानले जोड दिएको छ ।

काठमाडौँ उपत्यकामा गाईपालकले बाच्छा जन्मिए एक महिना नबित्दै सडक, नदी किनार, मठ मन्दिर जस्ता स्थानमा लगी छोडिदिने गरेका छन् । यसतर्फ स्थानीय सरकारको ध्यान नगएकाले समस्या बढ्न थालेको अभियानले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु