Information is intelligence
HomeNewsकोटेश्वर–कलङ्की सडकमा अझै बनेन ‘सर्भिस ट्रयाक’

कोटेश्वर–कलङ्की सडकमा अझै बनेन ‘सर्भिस ट्रयाक’

- Advertisement -spot_img

काठमन्डौ, चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलङ्की सडक) विस्तार सम्पन्न भएको दुई वर्ष बित्दासमेत बाहिरी लेन (सर्भिस ट्रयाक ) निर्माण हुन सकेको छैन । चिनियाँ सहयोगमा आठ लेन सडक निर्माण गरेपछि त्यस बाहिर दुबैतर्फ एक÷एक लेनको सर्भिस ट्याक निर्माण गर्ने सहमति भएको थियो ।
सडक विभागले तीन वर्ष पहिले नै निर्माण शुरु गरेपनि अझै सम्पन्न भइसकेको छैन । निर्माण हुन बाँकी खण्डमा कतै भौगोलिक कठिनाइ त कतै त्यहाँ रहेका भौतिक संरचना हटाउन नसकिदा ‘सर्भिस ट्रयाक’ निर्माण गर्न नसकिएको हो । भौगोलिक कठिनाइ भएका स्थानमा काठमाडौँ चक्रपथ योजनाले सडकको साटो भर्याङ बनाउने योजना गरेको छ । कतिपय स्थानमा भने समस्या हटाएर सडक नै बनाउने तयारी भएको छ ।
बालकुमारी पुलबाट कोटेश्वरतर्फ दुबैतर्फ ट्रयाक निर्माण हुन नसकेको योजना प्रमुख अमृतमणि रिमालले बताए । चक्रपथको भित्रपट्टि र बाहिरपट्टि गरी दुबैतर्फ भूगोल अग्लो होचो रहेको छ । थोरै क्षेत्रमा जमीनको तह निकै फरक रहेकाले सडक बन्न नसकेको हो । सडकको दायाँतर्फ सडकको साटो भर्याङ हालिने तयारी भइरहेको छ । बायाँतर्फ सडकको अधिकार क्षेत्रमा दुई घरका कारण सर्भिस ट्याक बन्न सकेको छैन ।
चक्रपथको अधिकार क्षेत्रबीच भागबाट दुबैतर्फ २५÷२५ मिटर र अर्काे छ÷छ मिटर ‘सिड बेल्ट’ हुन्छ । ‘सिड बेल्ट’ समेत ३१ मिटर चौडाइ भएपनि त्यही क्षेत्रमा घरहरु रहेका छन् । स्थानीयबासीले सहयोग गर्दा मात्रै सो स्थानमा सडक बन्न सक्ने उहाँको भनाइ छ । उनले भने, “ती घर नभत्काउँदासम्म सर्भिस ट्रयाक बनाउन सकिँदैन ।”
एकान्तकुनास्थित तिब्बती शरणार्थी क्याम्प पनि सडकको अधिकार क्षेत्रमा रहेकाले त्यस स्थानमा पनि सडक बन्न सकेको छैन ।  तत्काल त्यसलाई नहटाए सडक बनाउन नसकिने प्रमुख रिमालले बताए । यातायात व्यवस्था कार्यालयदेखि एकान्तकुना चोकसम्म पनि भूगोलका कारण सडक निर्माण कठीन रहेको छ । सो स्थानमा डिजाइनमा नै त्रुटि रहेकाले सडक निर्माण गर्न नसकिएको उनले बताए ।
डिजाइनमा ‘सर्भिस ट्रयाक’ मुख्य र सहायक सडकभन्दा कम उचाइमा बनाउने योजना रहेको थियो । सो स्थानमा पहिरोको समस्या भएको उनले  बताए । अहिले यो सडक अरु लेनजस्तै उचालेर बनाउने गरी तयारी भइरहेको छ ।
खसीबजारमा पनि ‘सर्भिस ट्रयाक’ निर्माण अघि बढ्न सकिरहेको छैन । ‘अण्डर पास’ रहेको सो स्थानमा भौगोलिक कठिनाइकै कारण सडक निर्माण हुन नसकेको हो । बाँकी रहेका अरु स्थानमा निर्माण गर्ने योजना भएपनि तत्काल खसीबजारमा निर्माण अघि बढ्ने देखिँदैन ।
विसं २०७५ माघमा चीन सरकारले सो सडक गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । दस दशमलव चार किमी लम्बाइ सडक निर्माणको काम चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन ग्रुपले गरेको हो । सोही वर्षदेखि नै सरकारले दुबैतर्फ एकएक लेनको सर्भिस ट्याक र छ आकाशे पुल निर्माण शुरु गरेको थियो ।
नेपालमा पहिलो पटक आठ लेन सडक र पहिलो ‘अण्डर पास’ लाई यो सडकको विशेषता मानिएको छ । खसी बजारचोकदेखि कलङ्की चोकसम्म रहेको ‘अण्डर पास’ को मुख्य लेन माथि सडकमा र सहायक लेन जमीनमुनि छ । निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ र अदक्ष कामदारमा नेपाली र चिनियाँ दुवै थिए ।
यो सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन हुने गरी डिजाइन भएको थियो । चिनियाँ सरकारले निर्माण गरेको आठ लेन भए पनि ‘सर्भिस ट्याक’ समेत गर्दा यो सडक १० लेनको हो । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुबैतर्फ सहायक लेन छ । चक्रपथ छिर्न चालकले पहिले सर्भिस ट्याक पुग्नुपर्छ । सर्भिस ट्याकबाट नै चालकले सहायक हुँदै मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । सडकमा निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् ।
दश दशमलव ४ किलोमिटरको यस सडकमध्ये सात दशमलव छ किमी काठमाडौँ र दुई दशमलव आठ किमी सडक ललितपुरमा पर्छ । चक्रपथको दोस्रो खण्डका रुपमा चीन सरकारले नै कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तार गर्दैछ । दोस्रो खण्डमा पनि पहिलो खण्डजस्तै आठ लेन हुनेछ भने पैदलयात्रुका लागि एक÷एक किमीको फरकमा आकाशे पुल निर्माण हुने भएको छ ।रासस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु