Information is intelligence
HomeEntertainment & Artsएकपाखे

एकपाखे

- Advertisement -spot_img

पानी परिरहेको दिन, लाेहीमुते गाेरूलाई ख्वाउने भनेर पारी पाखाबाट १ भारी घाँस सकी नसकी ल्याएँ।

चिसापाखे भन्ने ठाउँबाट ल्याएको चीसाे पानीकाे छहरे धारामा सर्लक्क नुहाएँ । जिउ फुर्तिलो भयाे । बासी राेटी चियामा डाेबेर खाजा खाँदै टिभी हेर्न बसियाे ।

जन्ता जान्न चाहन्छ भन्दै टेलिभिजन सेटकाे एउटा कुर्सीमा ऋषि धमला उफ्रिइरहेका थिए । पल्लो कुर्सीमा प्रधानमन्त्रीका सल्लाहकार थापाकाजी विराजमान थिए । कुलमानसँगै बिजुली पनि गयाे भन्ने गुनासाे थियाे । जनताले कुलमानलाई भगवान् भन्छन् भन्ने पत्रकारको तर्क थियाे । पाेखरीबाट भ्यागुतो फुत्त उफ्रेझैँ  थापाकाजीकाे मुखारविन्दबाट फुत्त निस्क्याे – “कुलमानलाई देवता भन्नेहरू एकपाखे हुन् ।”

ए उल्का ………… !
मलाई भाउन्न भयाे । एकपाखे भनेकाे के रहेछ ? वारिपाखाे पनि चिनेकाे । पारीपाखाे पनि चिनेकाे । वल्लाे पाखाे तल्लाे पाखाे उपल्लाे पाखाे, सबै चिनेको । बारी चिनियाे, खेत चिनियाे, टार चिनियाे, मझुवा चिनियाे, सीम्ले चिनियाे तर याे एकपाखाे भन्ने जिनिस अहिलेसम्म नचिनेकाे, के रहेछ ? भन्ने प्रश्न मनमा उठ्याे ।

गाउँमा बुढाहरूसँग साेध्न गएँ । “ए भगुमान् ! घाँस काट्नी पाखाे चिनियाे, रात्पाखे भन्नि माछाे पनि चिनियाे, बनमुन्छेओ आखाे नि देखियाे, तर याे जिमराज एउपाखे भन्नि जिनिस न देखियाे, न जानियाे !” बुढाहरू ञी गरेर ओठ लफ्र्याक्क पारेर हाँसे तर एकपाखेकाे अर्थ बुझाएनन् ।

मन भुमरीमा पर्याे । साेधखाेज गरेँ । थापाकाजीकाे घर प्यूठान भन्ने थाहा पाइयाे । प्यूठान, स्वर्गद्वारीमा द्वारपाल बसेका साथीहरूलाई फाेन गरेर साेधेँ । थाहा भएन । जुम्री भन्ने ठाउँमा जुम्रा मारेर बसेकीलाई साेधेँ । कुराे अाएन । भृङ्गीमा भाङाे बेच्ने व्यापारीलाई साेधेँ, थाहा लागेन । बागदुल्लामा बाघकाे दुलाे कुरेर बस्ने शिकारीलाई साेधेँ, थाहा भएन । आँडे जेठादेखि गाँडे माइली हुँदै पाँडे सानासम्मलाई पुकारेँ, त्यहाँ पनि थाहा छैन भन्ने जवाफ आयाे ।
गुगल बाबाकाे शरणमा गएँ, हात लाग्याे शून्य ।

उपाय नलागेर, फेसबुकतिर छिरेकाे त फेसबुकमा रमिता रहेछ । भैरहवाका झपटलालदेखि ताैलिहवाका पाेपटलालसम्म सबैले “म पनि पाखे” भन्ने लेखिसकेका । वारिगाउँकी लालुदेखि पारिगाउँकी भालुसम्म सबै पाखे भएछन् । जिरिका इन्तु गिरीदेखि धवलागिरीका सन्तु पुरीसम्म सब पाखे ।

घनघाेर घटाटाेप चिन्तनमा घाेत्लिएँ । दिमागकाे नसा फुट्ने गरी साेच्दा पनि एकपाखेकाे भावार्थ, ध्वन्यार्थ, लक्ष्यार्थ केही दिमागमा घुसेन ।

अन्त्यमा,
थापाकाजीले ट्विटरमा ट्विट्नुभएछ कि, मेराे मतलब याे थियाे तर फलानाहरूले उचाले, ढिम्कानाहरूले अतिरञ्जित गरे ।

उहाँका मुखारविन्दबाट नै एकपाखेका विषयमा समास विग्रह सहितका अर्थ सुन्न, पढन पाएपछि कान पवित्र, आँखा पवित्र पारेर म धन्य हुँदै भैँसी सुतेझैँ मस्त सुतेँ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु