Information is intelligence
HomeEntertainment & Artsके लाग्छ र! भाग्यमा नै 'श्री' लेखेपछि

के लाग्छ र! भाग्यमा नै ‘श्री’ लेखेपछि

- Advertisement -spot_img

स्वस्ति श्री गिरिराज चक्रचूडामणि………… समरविजयिनाम् ………… तपाईं श्री युवराज खतिवडालाई राष्ट्रिय याेजना आयाेगकाे सदस्यमा नियुक्त गरिएकाे छ ।

अहाे आश्चर्यम् !

खतिवडा बाजेकाे खुशीकाे सीमाना रहेन । गाेडा भुइँमा रहेनन् । १२२७ किलोमिटर प्रतिघन्टाकाे गतिमा गाडी भगाएर घरतिर टाप कसे । घरकाे आँगनमा गएर ७ फन्काे नाचे । बुढीलाई किन किस नगरुँ ? भन्ने भयाे, गरे । आँगन कम्पनीको ४ किलाे पेडा किनेर घर लगेका थिए । २ किलाे त बाँडे, २ किलाे पेडा भने एक्लै पकुल्याए ।

नखाउन् पनि किन ?

अमृतम् राजसम्मानम् चामृतम् दधिभाेजनम् !
अर्थात् राजाबाट सम्मान पाउनु त अमृत खानु बराबर हाे । खुशीकाे सीमाना रहेन ।
जय हाे श्री ५ सरकार । हजुरकाे महिमा अपरम्पार ।
दरबार गइरहन्थे । दर्शनभेट पाइरहन्थे । जिन्दगी चकाचक भयाे ।
राजतन्त्र गयाे । लाेकतन्त्र आयाे । राजतन्त्रकाे समयकाे अनुभव काम लाग्याे । experience लेटर लिएर प्रधानमन्त्रीकहाँ पुगे । तथास्तु ! भन्ने आशीष पाए । पुनः याेजना आयाेगमै सदस्य भए । जिन्दगी फेरि चकाचक भयाे ।

लाेकतन्त्र के ? गणतन्त्रै आयाे ।

एकरात सपनामा पकापक फेरी ठूला ठूला लड्डु खाएकाे देखे ।
बिहान उठे । सपना सम्झेर मजा आयाे । सपनामा खाएका लड्डु मुखमा नअट्ने खालका थिए । निल्न गाह्रो भयाे । “बाेकाकाे मुखमा कुभिन्डाे” भन्ने  उखानकाे अर्थ बुझे । मन प्रसन्न भयाे ।
सपनाले पक्कै दह्रो चीजमा हात पर्छ भन्ने बतायाे भन्ठानेर यसाे शक्ति केन्द्रतिर दाैडाहामा गएका त याेजना आयाेगकाे “उपाध्यक्ष” पद पाे हात पर्याे । मुखमा लड्डु नअटेकाे सपना त यस्ताे पाे रहेछ । लड्डु खाए जसरी उपाध्यक्ष पद पनि enjoy गरे ।

उपाध्यक्ष भएर जिन्दगी चलिरहेकाे थियाे । एकरात फेरि उस्तै गरी सपना देखे । सपनामा माता लक्ष्मीले खुशी भएर उनकाे टाउकाेमा हात राखिरहेकी । पृष्ठभूमिमा दिव्य सङ्गीत बजिरहेकाे । उनकाे कान नजिकै आएर लक्ष्मीका पार्षदले गिटार बजाए – ता रा रा रा रा रा । झसङ्ग भए, बिउँझिएकाे त फाेन बजेकाे रहेछ ।

उठाए ……… सुने । ज्यू ज्यू … हस् हजुर हस् ।
उताबाट खबर आयाे – उपाध्यक्ष पदबाट राजीनामा दिनुस् त, नेपाल राष्ट्रबैंककाे  गभर्नर बनाइदिन्छु ।
उमङ्गले शरीर बुर्लुक्क भयाे । खाटमा बसेका युवराज बुर्लुक्क उफ्रेर छतमा ठाेकिएर पुनः खाटमै ल्याण्डिङ गरे । “ए भगवान् ! अब त नेपालका हरेक नाेटमा मेराे हस्ताक्षर ? जुन पैसा हेरे नि म । सबैका गाेजीमा म । ब्राभित्रकाे पैसामा म । बैंकमा म । यत्र तत्र सर्वत्र म नै म ।
पैसामा छापिए । केही समय पैसामा छापिएपछि अवकाश हुने बेला आयाे । “पुनर्मूषिका भव” भने झैँ फेरी राष्ट्रिय याेजना आयाेगमा उपाध्यक्ष भए । त्यसमा समय सकिएपछि फेरि राष्ट्रियसभाकाे सदस्य पद पड्काए ।

यता,
कमेडी कुलगुरु ओलीजी महाराज प्रधानमन्त्री हुनुभयो । राष्ट्रिय सभाकाे सदस्यकाे हैसियतले खतिवडा बाजेले अर्थमन्त्री पद पड्काउन पाए । राष्ट्रिय सभाकाे सदस्यता सकियाे तर उनकाे भाग्यको श्री सकिएको थिएन । फेरि ६ महिने अर्थमन्त्रीमा नियुक्त भए ।
जय हाे खड्ग  सरकार । हजुरकाे महिमा अपरम्पार ।
बालुवाटार गइरहन्थे । दर्शनभेट पाइरहन्थे । जिन्दगी चकाचक भयाे ।
उपरवाला देता है ताे छप्पर फाड के देता है भन्थे, साँच्चिकै रहेछ । अर्थमन्त्री सँगै सञ्चार मन्त्रीको पनि जिम्मेवारी पाए ।
जब अर्थमन्त्रीकाे पनि अवधि सकियाे, के गर्ने ? भन्ने चिन्तामा थिए । लक्ष्मीले भनिन् – पुत्र ! प्रधानमन्त्रीकाे विशेष आर्थिक सल्लाहकार बन्नू ।
हस् माता !
नभन्दै अर्थमन्त्रीकाे पद छाेडेकाे ३ दिनमै सल्लाहकार बने ।
अब के गर्ने त यत्तिकै बसेर ? केही समय घुम्न जानुपर्ने ! कता जानु खै ? प्रधानमन्त्री समक्ष पीडा पाेखे । प्रभाे ! थाकेँ । रिफ्रेसमेन्टकाे लागि समय चाहियाे । के गराैँ ? कता जाउँ ?
प्रधानमन्त्रीले भने – “जाउ  ! अफ्रिकाकाे राजदूत हुनु । सभानाकाे घाँसे मैदान दखि माउन्ट किलिमन्जराे समेत घुमेर आउनु । दक्षिण अफ्रिकाकाे राजदूतको जिम्मामा १२ देश आउँछन् । मजाले घुम्नू । जीवा लामिछाने नामका यात्रीले आफ्नाे “सरसरती संसार” भन्ने किताबमा अफ्रिकाकाे “मसाई मारा” भन्ने ठाउँको वर्णन बडाे राेचक किसिमले गरेका छन्, त्याे हेर्नू ! मन बहलाउनू अनि आउनू !
भाग्यमा श्री भएका मान्छे न हुन्, माता सरस्वती प्रधानमन्त्रीकाे जिब्रोमा सवार भइन् । अफ्रिका किन जानुपर्थ्याे ? अफ्रिका भन्न खाेजेकाे बेला जिब्राे लरबरिएर  “अम्रिका” उच्चारण भएछ ।
आहा ! अम्रिका जाने ?
हस् ।

खुशीकाे सीमा रहेन । आँगन कम्पनीका ४ किलाे पेडा फेरी घरमा पुगे । पेडाले पेट डम्म भएर यतिबेला खतिवडा जी महाराज सुखशयनमा घुरिरहनुभएकाे छ भन्ने सुनियाे ।
स्वस्ति श्री चिरञ्जीवीपुराणे खतिवडा महात्म्ये…………… !

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु