Information is intelligence
HomeTourismकोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि पदयात्रा

कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि पदयात्रा

- Advertisement -spot_img

तनहुँको भिमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको छ । कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्राको तयारी गरेको हो ।

कोभिड–१९ को प्रभावका कारण रोकिएका पर्यटन गतिविधि पुनः सञ्चालन गर्नका लागि पदयात्राको आयोजना गरिएको समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिए । आगामी कात्तिक १ गतेदेखि गरिने पदयात्रा भिमाद बजारदेखि वडा–९ को पाथर्दी पुगेर टुङ्गिने छ ।

पदयात्रामा करिब १५० जनाको सहभागिता रहने अनुमान गरिएको आलेले जानकारी दिए । “कोभिडले पर्यटनका सबै गतिविधि रोकिए, अब विस्तारै पर्यटनका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यस्वरुप वडामा भएका पर्यटकीय गन्तव्यको प्रचारका लागि पदयात्रा गर्न लागेका हौँ,” उनले भने, “पदयात्राको मुख्य लक्ष्य वडाभित्र भएका सबै पर्यटकीय गन्तव्य बाहिर ल्याउनु हो ।” पदयात्रा १७ किलोमिटर दूरीको रहने छ ।

पदयात्राका क्रममा सोही वडामा रहेको सिद्धगुफाको पनि भ्रमण गरिनेछ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गुफामा विभिन्न पूर्वाधार निर्माण गरिएको छ । कोभिड–१९ कै समयमा गुफा क्षेत्रमा शौचालय, प्रतीक्षालय र रेलिङ निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु २५ लाख उपलब्ध गराएको थियो ।

पदयात्राको क्रममा इलुङ झरना पुग्ने कार्यक्रम पनि छ । व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा कोभिड–१९ कै कारण उक्त क्यानोनिङ रोकिएको छ । इलुङ झरना जाने बाटोमा अप्ठ्यारो रहेको ठाउँमा ढुङ्गाले छापेर पदमार्ग निर्माण गरिएको छ भने सोही ठाउँमा रेलिङसमेत हालिएको छ । झरनामा पूर्वाधार विकासका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷७७ मा रु १० लाख विनियोजन गरेको छ । सो रकमबाट क्यानोनिङका लागि आवश्यक सामग्री खरिद गर्ने तयारी गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु