Information is intelligence
HomeNewsशुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन

शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन

- Advertisement -spot_img

गैरआवासीय नेपाली संघको आयोजनामा दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि २५ सम्म हुने भएको छ । पहिलो पटक दुई वर्षअघि संघले पहिलो ज्ञान सम्मेलनको आयोजना गरेको थियो । हरेक दुई वर्षको फरकमा ज्ञान सम्मेलन गर्ने संघको पूर्वयोजनाअनुरुप दोस्रो विश्व ज्ञान सम्मेलनको आयोजना गरिएको संघले जनाएको छ ।

कोभिड–१९ महामारीका कारण उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गर्दै अनलाइन प्रविधिका माध्यमबाट विश्व ज्ञान सम्मेलन गर्न लागिएको संघले जानकारी दिएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गर्ने संघले जनाएको छ ।

संघका अनुसार सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च अधिकारी र नेपाल तथा नेपाल बाहिर रहेका विज्ञको सहभागिता रहनेछ । सम्मेलनका निम्ति आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघका महासचिव एवं सम्मेलन संयोजक डा हेमराज शर्माले जानकारी दिए ।

सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिनेछन् । संघका अनुसार सम्मेलन विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम तथा नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा केन्द्रित हुनेछ । साथै संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन्।

गैर आवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सहआयोजनामा हुने सम्मेलनमा काठमाडौँ विश्वविद्यालयको सहकार्य रहनेछ । संघका अनुसार सम्मेलनको पहिलो दिन विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

यस्तै नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानीका साथै नेपालको विकास नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा छलफल केन्द्रित गरिनेछ । सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप सङ्कट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थानलगायतका सत्र समावेश गरिएका छन् ।

यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, ऊर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञानलगायतका समानान्तरसत्रमा विभिन्न विज्ञले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् । ती कार्यपत्रमाथि सम्बन्धित विषयका विज्ञले छलफल गर्नुहुनेछ । साथै सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्ने तथा सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञबीच पनि छलफल र परामर्श हुने र सम्मेलनको निष्कर्षलाई एक श्वेतपत्रमार्फत नेपाल सरकारसमक्ष सुझावका रुपमा प्रस्तुत गरिन संघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु