Information is intelligence
HomeNewsवैतेश्वर जग्गा प्रकरण : विवादित जग्गाबारे अध्ययन प्रतिवेदन सार्वजनिक

वैतेश्वर जग्गा प्रकरण : विवादित जग्गाबारे अध्ययन प्रतिवेदन सार्वजनिक

- Advertisement -spot_img

दोलखा | स्थानीयले जग्गा दान गरेपछि स्थायी केन्द्र निर्माण भएको दोलखाको वैतेश्वर गाउँपालिकामा जग्गा अपचलन भएको भन्दै विवाद भएकाे छ । विवाद भएपछि गाउँपालिकाद्धारा छानविन समिति गठन भएकाे थियाे । समितिले विवादित जग्गाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

स्थानीयले दान गरेको जग्गा अपचलन भएको भन्दै सार्वजनिक रुपमा कुरा उठेपछि बैतेश्वरले भदौ २३ मा गठन गरेको समितिले बुधबार आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ६ का वडाध्यक्ष समशेर घिसिङ नेतृत्वको छानविन समितिले बुधबार अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हाे ।

प्रतिवेदनमा गाउँपालिकाको स्थायी केन्द्र निर्माणका लागि २८ जना जग्गादाताहरुबाट दान प्राप्त भएको १३ हजार २ सय ५१ वर्गमिटर मध्ये ११ हजार तीन सय ९३ वर्गमिटर जग्गा कार्यालय निर्माण हुने क्षेत्रमा ठुलो परिमाणमा दान गर्ने दाताहरुलाई सोधभर्ना गरिएको उल्लेख छ ।

बाँकी रहेको एक हजार नौ वर्गमिटर जग्गा भने रजिष्ट्रेसन र नामसारी जस्ता शिर्षकमा गाउँपालिकाको बजेट खर्चिन नमिल्ने भएपछि बिक्री गरि खर्च गरिएको उल्लेख गरिएको छ ।

समितिका अनुसार जग्गादाताबाट प्राप्त भएको जग्गा गाउँपालिकाको नाममा ल्याउन र बाँकी सोधभर्ना गरि पुःन जग्गादाताकै नाममा  रजिष्ट्रेसन पास गर्न झण्डै १० लाख रकम खर्च भएको संयोजक घिसिङले बताए ।

उनका अनुसार उल्लेखित सबै निर्णयहरु गाउँकार्यपालिकाद्धारा गठित जग्गा व्यवस्थापन समितिले प्रचलित नियम अनुसार नै गरेको जनाए ।  उनका अनुसार त्यसरी बिक्रि गरिएको एक हजार नौ वर्गमिटर जग्गा स्थानीय सिता आचार्य र निर्मला घिसिङ लाई ६ सय वर्गमिटर र मनमायाँ दाहाल , लालकुमारी तामाङ र कमला तमाङलाई ४ सय ९ वर्गमिटर विक्रि गरि प्राप्त रकमले जग्गासम्बन्धि भएका खर्चहरु व्यवस्थापन गरिएको हो ।

उल्लेखित व्यक्तिहरु वैतेश्वर गाउँपालिकाका जनप्रतिनिधिहरुका आफन्त रहेको स्थानीयहरुले जनाएका छन् । छानविन समितिले जारी गरेको विज्ञप्तिमा जग्गा व्यवस्थापन समितिका सदस्यहरु बालकुमार दाहाल र पदम बहादुर दाहालको नाममा नपुग जग्गादाताहरुलाई उपलब्ध गराउन आठ सय ४९ वर्गमिटर जग्गा बाँकी रहेको जनाइएको छ ।

उक्त जग्गा पहिलो घेरामा ठुलो परिमाणमा दान दिने दाताहरुलाई सोध भर्ना गर्न राखिएको भएपनि दाताहरुबिच सहमति भैनसकेकाले बाँकी रहेको जनाइएको छ ।

सोधभर्नामा स्वार्थ राखिएको स्थानीयको आरोप

पत्रकार सम्मेलनमा उपस्थित भएका केही जग्गादाताहरुले भने सोधभर्ना गर्ने भनिएको जग्गा व्यवस्थापन समितिका सदस्यहरुले स्वार्थ राख्दै वितरण गरिएको आरोप लगाएका छन् ।

जग्गादाता पदम बहादुर दाहालले सोधभर्ना गरिनुपर्ने जग्गामा समितिका सदस्य बालकुमार दाहालले स्वार्थ राखेर वितरण गरेको आरोप लगाए । उनले आफुहरुको एउटै परिवारबाट ठुलो परिमाणमा जग्गा दान गरेपनि कमजोर जग्गा दिन खोजेकाले अहिलेसम्म जग्गा लिन नसकिएको गुनासो गरे । उनले भने, ‘हामीले यति फराकिला पाटाहरु दियौं तर त्यसको सट्टा पाखो आकारको जग्गा दिन खोजीयो ।’

अर्का दाता हरिबहादुर दाहालले व्यवस्थापन समितिका सदस्यहरुकै कारण यो समस्या आएको बताउदै गाउँपालिकाले उचित सम्मान हुनेगरि जग्गा वितरण गर्नुपर्ने बताए । जग्गा वइवस्थापन समितिका सदस्य बालकुमार दाहालले भने गाउँपालिकामा प्राप्त भएको जग्गा समानुपातिक रुपमै वितरण गरिएको दाबी गरेका छन् ।

सबै मिलेर पाँडुलाई नमुना क्षेत्र बनाउँ : अध्यक्ष लामा

वैतेश्वर गाउँपालिकाका अध्यक्ष छबि लामाले अत्यन्तै कडा मेहनतका साथ पाँडुडाडालाई स्थायी केन्द्रको रुपमा विकास गरिएको बताउदै सबै मिलेर उक्त क्षेत्रलाई नमुना बनाउन अनुरोध गरे ।

अध्यक्ष लामाले पाँडु क्षेत्रको विकासका लागि आफुहरु निरन्तर प्रयत्नरत रहेको भन्दै जग्गा दान दिने दाताहरुलाई उच्च सम्मान हुनेगरि गाउँपालिका अघि बढ्ने बताएका छन् । उनले सामान्य विवाद आपसी छलफलबाटै समाधान गर्न सबैलाई आग्रह गरे ।

अध्यक्ष लामाले जग्गा व्यवस्थापन सम्बन्धि खर्च गाउँपालिकाको बजेटबाट गर्न नमिल्ने भएपछि खर्च व्यवस्थापनकै लागि पनि जनप्रतिनिधिका आफन्तहरुले पैसा तिरेर जग्गा खरिद गर्नु कुनै नौलो काम नभएको भन्दै यो विषयलाई सामान्य लिन अनुरोध समेत गरेका छन् । उनले सामाजिक सञ्जालमा आएका अनेकौं प्रतिक्रियाका पछि नलागी वास्तविकता बुझ्न सबै सरोकारवालाहरुलाई अनुरोध गरेका छन् ।

नेकपाको छानविन प्रतिवेदन केही दिनमै सार्वजनिक हुने

बैतेश्वर जग्गा प्रकरण सम्बन्धि छानविन गर्न नेकपा वैतेश्वर गाउँपालिका कमिटिले पनि छानविन समिति गठन गरेको थियो । ७ सदस्यीय समितिले आवश्यक अध्ययन गरि जिल्ला पार्टी कमिटिलाई प्रतिबेदन बुझाइसकेको समितिका एक सदस्यले बताए । उनका अनुसार जिल्ला कमिटिले केही दिन भीत्रै प्रतिबेदन सार्वजनिक गर्ने जनाइएको छ ।

Nayapatrika

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु