Information is intelligence
HomeCulture & Religionआज फूलपाती, शुभ साइतमा के के भित्राउने ?

आज फूलपाती, शुभ साइतमा के के भित्राउने ?

- Advertisement -spot_img

आज २०७७ साल कार्तिक अर्थात सातौँ महिना ७ गते सप्तमी तिथीमा फुलपाती परेको छ। आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फुलपाती पर्वमा  आज घर घरमा शास्त्रीय विधिअनुसार फुलपाती भित्र्याइन्छ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा फुलपाती भित्र्याइने प्रचलन छ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।

के के भित्र्याउने त फुलपातीमा ?

शास्त्रीय मान्यता अनुसार फूलपातीको रुपमा नौ थरीका फूलपाती भित्र्याउने गरिएको छ ।

कदली दाढिमी धान्या हरिद्रा मानकं कचु : ।
विल्वशोका जयन्ती च विज्ञेया नवपत्रिका ।।

शास्त्रहरुका अनुसार नवपत्रिका(फुलपाती) को रुपमा कचू (पिँडालु), हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत दशैं घरमा राख्ने गरिन्छ ।

यी नौ किसिमका वनस्पपतिका क्रमश : ब्रह्मायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्र्तिकी देवीलाई आह्वान गरेर पूजा गरिन्छ ।

यस वर्षको निमित्त फुलपाती भित्र्याउनका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइत बिहान ७ बजेर ११ मिनेटमा छ । त्यस्तै विहान १० बजेर २४ देखि ११ बजेर ५४ मिनेटसम्ममा शुभ समय मानिएको छ । तर कतिपय क्षेत्रमा भने बेलुका फुलपाती भित्र्याउने प्रचलन रहेको छ ।

आज सातौं दिन शक्ति कालरात्रिको नामद्वारा प्रसिद्ध छ । नवरात्री पर्व अर्थात दुर्गापूजाको सातौं दिन माता कालरात्रिको उपासना गर्ने दिन हो । यस दिन स्थापना र प्राणप्रतिष्ठा गरिएकी कालरात्रिको भोलिपल्ट अष्टमीको मध्यरात्रीमा तान्त्रिक पद्धतिले विशेष पूजाआजा गरि विसर्जन गर्ने प्रचलन छ ।

हनुमानढोकामा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँ घरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाण्डौको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याउन लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र पूरा गरिने जनाइएको छ ।

राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आ-आफ्ना घर फर्कने क्रम अझ तीव्र हुन्छ ।

फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दशैँको रौनकलाई अझ बढाउँछ । यस वर्ष भने कोरोनाका कारण शहरबजारमा भीड हुने गरी पिङ हालेको देखिँदैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु