Information is intelligence
HomeLiteratureठुलो मान्छे

ठुलो मान्छे

- Advertisement -spot_img

बा !
म आज
साच्चै ठूलो मान्छे बनेको छु
हो बा,
मेरा रहरहरुको उचाई आज ५.४ इन्च पुगेको छ
मेरा जिम्मेवारीको तौल झण्डै ५० के.जी. पुगिसक्यो

ठुला मान्छेहरुले ‘ठुलो मान्छे’ बन्नु
भनेर दिएको आशीर्वाद लाग्यो ‘बा’ मलाई

काकाले डाक्टर बन्नु भन्दथे
काका लाई भन्दिनु
मेरा बिरामी परेका परेला जचाउन
अब मलाई अस्पताल जानुपर्दैन
हो बा
मेरो चोइटै चोइटा परेको मुटु पनि
म आफै जोड्न सक्छु
म ठुलो मान्छे भैसके

काकीले निधारमा टिको टासेपछी सधैं
पाइलट बनेस भनेर
टाउकोमा हात बिसाउथिन
काकीलाई पनि भनिदिनु
आज मैले आफैलाई उडाएर
मुगलान पुर्याएको छु

बाजे
तमिले भनेर जसो
इन्जिनियर पनि बने
म आजकल आफैलाई पुर्ने
दशतले सपनाहरू
देख्छु

मास्टरले पनि
ठुलो भएर ठुलै मान्छे बन्या भन्दथ्या
मास्टर साब!
आज हामी निकै ठुला मान्छे बनेका छौं
हिजो एउटै बेन्चमा अटाएका साथी
आज एउटै देशमा नअट्ने भएकाछन्

आमाले सधैं
ठुलो भएर ज्ञानि बन्नु भन्दथिन
आमा पाई भन्दिनु
म निकै ज्ञानि भयाकोछु

मैले मेरा दुखहरुलाई चिच्याउनै दिएको छैन
आँसुहरुलाई पोखिनै दिएको छैन
रहरहरु पनि अनुमति मागेर हाँस्दछन्

तर
मलाई अब अझै ठुलो हुनुछैन ‘बा’
म एक इन्च मात्रै ठुलो हुँदा
अभाव एक फिट तन्किदिन्छ
म एक बर्ष मात्रै ठुलो हुँदा
जिम्मेवारी एक वर्गकिलोमिटर फैलिदिन्छ

म संगै मेरा दुखहरु
म भन्दा ठुला हुँदै गएका छन्
म भन्दा कान्छो भए पनि
जिम्मेवारी मोटाएर यी काधले
वजन थेकिनसक्नु छ

हो ‘बा’
मलाई अब अझै ठुलो हुनुछैन
परारै म ठुलो हुँदा आमाको काखमै अटिन
पोहोरै अलि ठुलो हुँदा घरमै पनि साघुरो भयो
आज त देशमै पनि नअट्ने भएको छु
अब अझै ठुलो भए
म संसारमै पनि अटाउदिन हो?

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु