Information is intelligence
HomeEntertainment & Artsशेरबहादुरकाे सपना

शेरबहादुरकाे सपना

- Advertisement -spot_img

“कर्णालीपार काठमाडौं सम्पर्क समिति”को पाटीमा घाँटीसम्म हुनेगरी मासुभात दन्काएर आएपछि शेरबहादुर देउबा बैठक काेठाकाे बिस्तारामा ढल्के ।

“घरैपछि प्राेजेक्ट, गाउँपिच्छे सडक” बनाइदिए पछि त केटाहरुले मासुभात नख्वाएर हुन्छ ? साह्रै मीठाे बनाएछ क्याटरिङवालाले । अलिकति फ्राइड बाेकेर ल्याएको भए त बेलुकालाई सीतन हुने रहेछ नि यार ।

ट्रे ताने, चुराेट मगाए । काम गर्नेले सूर्य चुराेट ल्याइदिएछ, देउबा चर्किए – “भनेर भन्देखुन्, तेरीमा उल्लुनन्दन ! काँग्रेस पाटीकाे सभापतिलाई एमालेकाे चुनाव चिह्नवाला चुराेट ख्वाउने ? जा, चाैतारी चुराेट ले । रुखकाे चित्र हुन्छ त्यसमा ! भाेटमा नि रूख, चुराेटमा नि रूख !”

चाैतारी आइपुग्याे । सल्काए, भित्तामा अढेसा लगाएर बसे । चाैतारी सल्केको देखेर काम गर्नेले मनमनै भन्याे – “पाटी र चुनाव चिह्नमा त आगै लगायाै देउवा काका ! आगै लगायाै ।” उता देउवाकाे मनमा कल्पनाकाे लड्डु फुट्याे, देउवा कल्पलाेकमा पुगे । कल्पनाकाे संसार निकै रमाइलो ।

ओलीले राजीनामा दिए त क्या गजब हुन्थ्याे । कहिले लैनचौरकाे आशीष त कहिले प्रचण्ड निवासकाे जलपान गरेर भए पनि प्रधानमन्त्री बन्ने वातावरण बनाउँथे । चट्ट शानले बालुवाटार गइन्थ्याे । प्रधानमन्त्री भइन्थ्याे । दिन आउँथ्याे शेरे ! दिन आउँथ्यो ।

“ऐया तेस्का बाजे ………!” देउवा जरखरिएर उठे । साेच्दा साेच्दै चुराेट सकिएर हात पाेलेछ । भुटभुटाए – “पाटी भित्रका मान्छेको व्यहाेराले त पाेलेकै थियाे, साला चुरोटले नि पाेल्छ यार……… ! देशमा चुरोट खाने त वातावरण नै छैन त !”

ठुटाे फाले । अर्काे सल्काए ।
खप्र ओलीलाई सम्झे । उखान टुक्काकाे स्मरण भाे । “भालुका चाकमा भुत्लाकाे के दरिद्र?” “अभागीलाई हग्न आउँछ साउनका राती” जस्ता घनघाेर उखान सम्झेर खित्का छुट्याे । “खितितितितिति………!” “हाहाहाहाहाहा ।”

यार, भलै आठपास हाेउन्, क्रियटिभिटी भने गजबकाे छ ओलीकाे – मनमनै प्रशंसा गरे । तर, यिनलाई येन केन प्रकारेण लत्याउन पाए, कुर्सी हत्याउन पाइन्थ्यो यार । आठपास प्रधानमन्त्री हुने, अक्सफोर्डकाे स्कलर चाहिँ प्रतिपक्षमा बसेर टेबल ठटाउन त सुहाएन नि !  फिल्मकाे डाइलग सम्झे – “डिमाख लगा पासा डिमाख !!”

केही बेरकाे खित्क्याई पछि देउवाकाे चेतन मन प्रचण्डका जुङ्गामा पुग्याे ।

“यिनी भूमिगत हुँदा म लण्डनमा पढ्थेँ । अक्सफोर्डमा स्कलर पनि भइयाे, तर कास्कीको ढिकुरपाेखरीमा ढिकुरलाई गुलेली हान्ने प्रचण्डसँग राजनीतिक दाउपेच गर्न लेखेको रहेछ । गुलेली हान्दा हान्दै चितवन झरेर बन्दुक हान्ने भए, आफूले त ढंगले चुराेट तान्न नि नजानेर हात पाेल्छ………!”

“तर, राजनीति उसकै वरिपरि घुम्छ । आफूलाई आरजूले फनफन घुमाउँछिन् । घरमा यिनले राजनीतिमा उनले, जाँताे पाे बनाए त यार !” – देउवालाई दिक्क लाग्याे ।

“प्रचण्डलाई फकाउने कसरी त यार ?” फेरि साेच्न थाले । “यिनले पाटी फुटाए भने ओली सरकार अल्पमतमा पर्छ । यिनीसँग मिलेर म प्रधानमन्त्री बन्न सक्छु नि यार, ओलीबा पाहा पछारिएझैँ पछारिन कति बेर ?” – मनमा आशाका बेलुन फुले । देउवा मन्द मुस्कुराए ।

“बाेली अलि पिराे हाे, खड्क ओली हिराे हाे !” भन्नेहरु के गर्लान् ओली सरकार गिरेपछि ? सालेहरुलाई खुलामञ्चमा राखेर भाषण ठाेकिदिन्छु …………… ।

चुराेट सकियाे । रिमाेर्ट लिए । टिभी खाेलेर हेरे । समाचार रहेछ – “नेकपा फूटकाे संघारमा, अध्यक्षद्वय बीच चिठी लेखालेख ।”

“ओेहाे समाचार वाचिका ! तेरा मुखाँ मासुभात !! यस्तै खबर सुनाउने गर्नु सँधै !” – देउवा प्रसन्न भए ।

खुशीकाे सीमाना रहेन । उठेर आरजूका गालामा ओठ टाँसे अनि ३ फन्काे नाचे । सरकार ढलाेस् भन्ने चाहना पूरा हाेस् भन्नका लागि यतिबेला देउबा पूजाकाेठामा धूप हाल्दैछन् भन्ने सुनियाे …………… ।

चिरन्जीवी ढकालका अन्य रचना पढ्नुहोस्

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु