Information is intelligence
HomePoliticsकडा लकडाउन गर्ने मेयरहरूको माग, गृह भन्छ 'छलफलै भएको छैन'

कडा लकडाउन गर्ने मेयरहरूको माग, गृह भन्छ ‘छलफलै भएको छैन’

- Advertisement -spot_img

काठमाण्डू उपत्यका कोभिड-१९ को केन्द्रविन्दु बनेपछि मङ्सिरमा कडा लकडाउन गर्न स्थानीय जनप्रतिनिधिले गरेको मागबारे सरकारी अधिकारी र विज्ञले मिश्रित प्रतिक्रिया दिएका छन्।

अघिल्लो साता कोभिड-१९ सङ्कट व्यस्थापन सञ्चालन केन्द्र सीसीएमसीको निर्देशक समितिसँग उपत्यकाका सबै मेयरले छठ सकिएलगत्तै लकडाउन गर्न माग गरेका थिए।

लकडाउन गरिए सङ्क्रमण विस्तार कम हुने कुरामा गृहमन्त्री रामबहादुर थापाले सकारात्मक टिप्पणी गरेको मेयर सङ्घका उपाध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए।

तर गृह मन्त्रालयका प्रवक्ताले उपत्यकामा लकडाउन हुने सम्भावना नदेखेको बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओको अनुसार देशभरको सङ्क्रमणमध्ये काठमाण्डू उपत्यकामा ४६ प्रतिशत र बागमती प्रदेशमा देखिएका सङ्क्रमण मध्ये ८५ प्रतिशत उपत्यकाका तीन जिल्लामा रहेको छ।

लकडाउनको माग किन?

मेयर महर्जनका अनुसार उपत्यकाका केही मेयरहरूले कडाइका साथ लकडाउन गरिएको खण्डमा सङ्क्रमणको दर नियन्त्रण गर्न सकिने धारणा राखेका थिए।

“त्यसपछि गृहमन्त्रीले छठपछि दुई हप्ताका लागि लकडाउन गर्ने सोचमा नेपाल सरकार रहेको भन्नुभयो। तर अहिले विधि पुगेको छैन, विधि पुर्याएर त्यो काम गर्छौँ भनेर भन्नुभयो।”

“मैले चैत ११ गते जस्तो घोषणा गर्ने अनि त्यसपछि हात बाँधेर बस्नुहुँदैन भन्ने धारणा राखे। अब लकडाउन गर्ने हो भने त्यो बीचमा के के गर्ने भन्ने कार्यक्रम हामीसँग हुनुपर्छ,” महर्जनले भने।

“परीक्षण र कन्ट्याक ट्रेसिङ गर्नुपर्छ भन्दा गृहमन्त्रीले १४ दिनपछि अझै एक साता लकडाउन थप्न सकिने पनि सङ्केत गर्नुभएको छ।”’

सङ्क्रमण दर रोक्नुपर्ने आवश्यकता

सीसीएमसीको निर्देशक समितिसँग उपत्यका मेयर फोरममा आबद्ध १८ वटा नगरपालिकाका मेयरहरू बैठक बसेका थिए।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल भन्छन्, “उपत्यकामा यसै गरी तीव्र रूपमा सङ्क्रमण फैलने हो भने यो जाडोमा हाम्रा अस्पतालहरूले धान्न सक्ने अवस्था रहँदैन।”

“सरकारलाई समस्या हुन्छ। तसर्थ यो चाडपर्वपछि बढेको यो सङ्क्रमण दरलाई नियन्त्रण गर्न पहिल्यै सूचना गरेर सबैलाई एक्लिएर बस्न अनुरोध गर्नुपर्यो भन्ने कुरा उठेको छ।”

“१४ दिनसम्म कडा लकडाउन गर्न सकियो भने सङ्क्रमण अरूमा सर्ने सम्भावना हुँदैन र लागेको पनि निको हुन्छ भन्ने राय आएको हो। लकडाउन गर्ने अभ्यास संसारका अन्य देशमा पनि भइरहेको हुनाले मलाई पनि यो ठिक हो कि जस्तो लागेको छ।”

सरकार के भन्छ?

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओको नेपाल कार्यलयले अघिल्लो साता सार्वजनिक गरेको प्रतिवेदनमा काठमाण्डू महानगर क्षेत्र कोभिड-१९ को ‘हटस्पट’का रूपमा बढिरहेको जनाएको छ।

प्रतिवेदन सार्वजनिक भएको सातामा देशभर देखिएका सङ्क्रमणको ५० प्रतिशत काठमाण्डू उपत्यकामा फेला परेको बताइएको छ।

तर गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा अर्को लकडाउनको सम्भावना नदेखेको बताउँछन्।

बुढाले भने, “एकपटक लकडाउन गर्दा स्थिति सहज हुन्छ वा खोप आइपुग्छ भन्ने अवस्था छैन। पहिला पनि लकडाउन भएकै हो, कहिलेसम्म गर्ने भन्ने प्रश्न उठ्छ।”

“अहिले आर्थिक गतिविधि गर्नुपर्ने र विकास निर्माणका कामहरू गर्नुपर्ने अवस्था छ। आम जनतालाई सोध्दा पनि निकै थौरै मानिसले मात्रै लकडाउन गर्नुपर्छ भनेर भन्लान।”

“पहिला गर्दा पनि खोल्नुपर्यो काम गरेर खाने वातावरण बनाइदिनुपर्यो भनेर आवाज उठेको हो। अहिले लकडाउनबारे छलफल भएको छैन।”

मन्त्रिपरिषद्ले लकडाउन नगर्ने निर्णय लिएसँगै जिल्लाहरूले पनि लकडाउन नगरेको उल्लेख गर्दै बुढाले कुनै क्षेत्रमा उच्च सङ्क्रमण देखिए त्यहाँ आवतजावत नियन्त्रण गरी परीक्षणलाई तीव्रता दिने नीति सरकारले लिएको बताए।

BBC

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु