Information is intelligence
HomeEntertainment & Artsबुढाहरूकाे गफ

बुढाहरूकाे गफ

- Advertisement -spot_img

गाउँका एकजना हजुरबुबाले भन्थे – बिहीबार नङ काट्न हुन्न । नकाट् !!

उतिबेला आफुलाई निकै प्रगतिशील मानिन्थ्यो, टेरिएन ।
तर,
त्याे एकदमै वैज्ञानिक कुरा रहेछ, वैज्ञानिक कारण सहितकाे कुरा रहेछ । कुनै अन्धविश्वास या धार्मिक प्रचलन हाेइन रहेछ ।

अलि ठूलो भएपछि, मैले तिनै हजुरबासँग साेधेँ – “हजुरबुबा ! किन काट्नुहुन्न बिहीबार नङ ? यस्ताे कुरा कसले मान्छ हिजोआज ? कारण त बताउनुस् !!”

हजुरबाले गाेजीबाट सिन्का निकालेर दाँत काेट्याउँदै भन्नुभयाे – “बिहीबार नङ काटिस् भने शुक्रबार बेलुका बियरकाे बाेत्तल केले खाेल्छस् त नि उल्लु ? सीतन बनाउने चाउचाउकाे खाेल केले खाेल्छस् ? नङ त पाल्नुपर्छ ।”

मन प्रसन्न भयाे । कारण बुझियाे । नङ पाल्न थालियाे ।

धेरै वर्षपछि आज बुढालाई भेट्न गएँ । बुढा त आगनकाे खाटमा उपरखुट्टी लाएर बसेका । जानेबित्तिकै ढाेगभेट गरेपछि बुढाले भने – “ए अल्ठ्याङ्ग्रा ! त्याे रेडियाे बजा त, सुइच कुट्ट पार् !!”

रेडियोमा गाना बज्याे –

रिङ्केबुङकाे राँगाेलाई, चुङ्केबुङकाे चुलेसीले,
ताप्लेजुङमा ताकेर, कालेबुङमा काटेर,
अरुण तमाेर तराैँला, तीते फापर छराैँला,
फूल लाउँला केशरी,
खाउँला बेसरी !!

हाहाहाहाहा – बुढा घर उचालिने गरी हाँस्न थाले । एकछिन पछि भने – “याे गीत गाउने मान्छे  हाम्रो प्रधानमन्त्री त हाेइन ? आकाशपाताल जाेडेर गीत गायाे त !”

मैले साेधेँ – “के भयाे र बा ?”

बुढाले भने – “बुझिनस् उल्लु ! रिङ्केबुङकाे राँगाेलाई चुङ्केबुङकाे चुलेसीले काट्छु भन्छ । चुलेसीले राँगाे काट्ने कस्ताे प्राणी हाेला ? अनि काट्छु भन्दा कसले पत्याउने हाेला ? अझ गफ हानेको सुन न, नेपालकाे ताप्लेजुङमा काट्छु भनेर ताकेपछि सिक्किमको कालेबुङमा गएर मार हान्ने किन हाेला ? कि काट्न आँटेकाे राँगाे फुत्केछ ? यस्ता उग्र उग्र गफ हान्ने त हाम्रा प्रधानमन्त्री हुन् ।

चुच्चे रेल पनि मुखैले हालिदिए । ७४ सालमै कुश्मामा स्टेसन बनाएर मुक्तिनाथ लुम्बिनी रेल हाल्छु भन्थे । पानीजहाज कुदाउँछु भन्थे । कुदाइहाले । त्यस्तै गफ हान्याे याे गीत गाउनेले पनि ।

अरु के छ केटा खबर ? कति कामले आइस् ?

मैले भनेँ – बा ! ज्ञानगुनका कुरा सिकाउनुहुन्थ्याे पहिला त एउटा कुरा साेध्न आकाे ।
बुढाले भने – लाै भन, के कुरा ?
साेधेँ – केटीले किन प्रेम प्रस्ताव नराखेका बा ? जहिले नि केटाले नै राख्नुपर्ने किन हाे ?
बुढाले बडा गजबकाे जवाफ दिए – राख्दैनन् बा राख्दैनन् केटीले प्रस्ताव । त्रेतायुगमा शुर्पणखाले प्रस्ताव राखेकी थिइन्, लक्ष्मणले नाकै काट्दिए । त्यसपछि केटीहरू डराएर प्रस्ताव राख्नै छाेडे ।

बुढाका यस्तै गफ चुट्की मारी मारी सुन्दै दिन बिताएर आइयाे !!

चिरन्जीवी ढकालका अन्य रचना पढ्नुहोस्

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु