Information is intelligence
HomeNewsअब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

- Advertisement -spot_img

काठमाडौँ — सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम अब अनलाइन माध्यमबाटै भुक्तानी गर्न पाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो ।

महाशाखा प्रमुखबाट हालै प्रहरी प्रधान कार्यालय सरुवा भएका एसएसपी भीम ढकालले सोमबार आयोजित पत्रकार सम्मेलनमा ७ महिना अघिबाटै सफ्टवेयर निर्माण गर्न सुरु गरिएको र केही साताभित्र यसलाई प्रयोगमा ल्याउन लागिएको बताए । उनले आफ्नो स्थानमा सरुवा भएर आएका एसएसपी जनक भट्टराईलाई जिम्मेवारी हस्तान्तरण गर्दै प्रविधिको विकासबाट सवारी व्यवस्थापन गर्दा थप प्रभावकारी र कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताए ।

सफ्टवेयरको नाम टीभीआरएस (ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम) राखिएको छ । यो प्रविधिलाई तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समाबेस गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुने छ । ‘जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न घरमै बसेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था लागू हुन लागेको छ, ७ महिना अघिबाट सुरु भएको सफ्टवेयर प्रयोगमा आएपछि चालक ट्राफिक प्रहरी कार्यालयमै जानु पर्दैन ।’ यसअघि सवारी र सवारी कागजातपत्र हराएमा अनलाइनबाटै उजुरी दिन सकिने व्यवस्था लागू भइसकेको छ । यो प्रविधिको विकास भएसँगै दैनिक सरदर ४ सय जनाले अनलाइनबाटै सिफारिस लिन थालेका छन् । यसअघि लाइनमा बसेर दिनमा डेढ सयले सिफारिस लिन्थे । अनलाइनबाट कागजात र सवारी हराएको सिफारिस पत्र मात्रै ३ हजार बढीले लिएका छन् ।

छिट्टै बिमा दाबी सम्बन्धी कागजपत्र सिफारिस पनि अनलाइनबाटै दिने गरी प्रविधिको प्रयोग गर्न लागिएको महाशाखाले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु