Information is intelligence
HomeNewsकहिले खुल्ला चिडियाखाना ?

कहिले खुल्ला चिडियाखाना ?

- Advertisement -spot_img

गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट निर्णय नआउँदा कहिले खुल्ने भन्ने निश्चित नभएको हो ।

विश्वभर फैलिएको कोभिड–१९ का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्णरूपमा चिडियाखाना बन्द गरिएको थियो । लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्ने तयारी गरे पनि निर्णय नआएकाले अन्योल भएको चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिए ।

“कोरोना भाइरस सङ्क्रमण कम भएको छैन, त्रास केही कम भएकाले सावधानी अपनाएर खोल्ने तयारी गरेको हो । त्यसका लागि मापदण्ड पनि तयारी अवस्थामा छ”, पोखरेलले भने। मास्क अनिवार्य ल्याउनुपर्ने, एकपटकमा ८०० मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ ।

यसअघिझैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छन् । यहाँ मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा आदि रहेका छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

उक्त स्थानमा अवलोकनका गर्न विदेशीका लागि रु ७५०, सार्क राष्ट्रका पाहुनाका लागि रु ५००, नेपालीलाई रु १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ । वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ देखि १६ करोडसम्मको आर्थिक कारोवार हुने गरेको छ ।

अवलोकन गर्न आएका अवलोकनकर्ताबाट प्राप्त शुल्कबाट कर्मचारी व्यवस्थापन र जनावरलाई खानपानको व्यवस्थापन गर्दै आएको चिडियाखानामा विगत आठ महिनादेखि आम्दानी शून्य भएपछि खर्च व्यवस्थापन गर्न समस्या भएको छ । कोरोनाका कारण बन्द हुनुअघि ८० कर्मचारी कार्यरत थिए । अहिले व्यवस्थापन गर्नै समस्या भएपछि २० कर्मचारी कटौती गरिसकेको जनाइएको छ । अब तत्काल सञ्चालनमा नल्याए थप समस्या हुनेछ । (रासस)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु