Information is intelligence
HomeCulture & Religionके हो हरिबोधनी एकादशी? के छ यसको महत्व?

के हो हरिबोधनी एकादशी? के छ यसको महत्व?

- Advertisement -spot_img

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले मङ्सिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि तिथि रहेको बताए । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने शास्त्रीय मत छ ।

एकादशी तिथि ५६ घडी नाघेका दिन स्मृतिलाई आधारमानी कर्म गर्ने अर्थात् स्मार्तले एकादशी मनाउँछन् । यसै कारण मङ्सिर १० गते बुधबारलाई स्मार्तानां एकादशी व्रत भनी समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको उनले जानकारी दिए ।

वेदमा आधारित भई कर्म गर्नेले अरुणोदयकालमा एकादशी तिथि परेको दिन तिथि मनाउने गर्छन् । सूर्योदय हुनुअघिको चार घडीलाई अरुणोदय भनिन्छ । यो एकादशी यस वर्ष मङ्सिर ११ गते बिहीबार परेको समितिले जनाएको छ । जसलाई वैष्णवानां एकादशी अर्थात् वैष्णवको एकादशी भन्ने गरिएको छ ।

कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ ।

वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।

यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशङ्खुनारायण, काठमाडौँको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचङ्गुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

हरिबोधनी एकादशी किन मनाइन्छ ? यस्तो छ महत्व

हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरु मध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।

हिन्दू धर्ममा एकादशीलाई भगवान बिष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसि भगवान विष्णुको आराधना गरिन्छ ।

आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास रहेको छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कार्त्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।

भविष्योत्तर पुराणका अनुसार अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीको दिनमा गरिने विष्णु भगवानको उपासना धेरै फलदायी हुने कुरा उल्लेख गरिएको छ । यसै अनुसार हिन्दू धर्माबलम्बीहरुले बिहानै नुवाईधुवाई गरि ब्रत बसेर भगवान विष्णुको पूजाआराधना गर्ने गरिन्छ ।

हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानिलकण्ठ लगाएत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारयण र शेष नारायणमा विशेष मेला लाग्छन् ।

यो पनि : धार्मिक पर्वमा देवघाट नआउन आग्रह

महाभारत ग्रन्थका अनुसार कहिल्यै भोको नबस्ने भीमसेनले पनि यस दिन ब्रत बसेका थिए । त्यसैलै अरु दिनमा ब्रत बस्न नसक्ने हिन्दू धर्माबलम्बीहरुले समेत ठूलो एकादशीको दिनमा भने ब्रत बस्नै पर्ने मान्यता रहेको छ ।

चार महिना अघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिनमा मठ सिंगारेर विशेष पूजा गरि विष्णु भगवानका अर्का रुप पिपलसँग विवाह गरिदिने परम्परा पनि रहि आएको छ ।

भोलीपल्ट द्वादशीको दिन तुलसीको पूजनसँगै चर्तुमास भरि विष्णुको प्रतिकको रुपमा पूजा गरिएको तुलसीको बिसर्जन पनि गरिन्छ ।

हरीबोधनी एकादशीको दिनमा प्रसादको रुपमा विशेषगरि सख्खरखण्ड, पिँडालु आदि कन्दमुल र फलफूल भगवान विष्णुलाई चढाएर ब्रतालुहरुले प्रसादको रुपमा खाने गर्छन् ।

हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पिपल, दूबो र शालिग्रामलाई भगवान विष्णुको प्रतिकको रुपमा मानिएको छ ।

यो पनि पढ्नुहोस् :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु