Information is intelligence
HomeShare Bazarनयाँं-नयाँं रेकर्ड रच्दै नेप्से

नयाँं-नयाँं रेकर्ड रच्दै नेप्से

- Advertisement -spot_img

काठमाडौं | सेयर बजारले सोमबार अहिलेसम्मकै अर्को उच्च विन्दु टेस्ट गरेको छ । नेप्से सूचक २०२८ सम्म पुगेको हो । बजार बुलिस बनिरहँदा नेप्सेले नयाँनयाँ विन्दुहरु बनाइरहेको छ । कारोबार रकममा पनि उछाल आउनेक्रम जारी छ । लगानीकर्ताको उत्साहमा कत्ति पनि कमी देखिएको छैन । सोमबार वाणिज्य बैंक समूहको सूचकमा केही करेक्सन आए पनि बिमा लगायतका समूहहरुमा तेजी आउनेक्रम जारी छ ।

लगानीकर्ताको मनोबल उच्च देखिएको छ । बजारलाई अधिक तरलता राम्रो साथ दिएको छ । बैंक ब्याजदर तल झरिरहेकाले लगानीकर्ता उत्साहित हुनु स्वभाविक हो । नेप्से माथि लागिरहँदा सोमबारको बजार भने केही अस्थिर देखिएको छ । २०२८ विन्दुसम्म पुगेको बजार फर्किएर २००० हजार मुनि आएर अडिएको छ । अल्पकालीन लगानीकर्ता हावी हुँदा बिक्री चाप पनि बढेको हो । तर यही बेला नयाँ लगानीकर्ता पनि उत्तिकै थपिएका छन् ।

जति आपूर्ति आए पनि बजार धमाधम खपत गरिरहेको फ्रन्टलाइनमा बसेर काम गर्ने ब्रोकरहरुको भनाई छ । अनलाइन प्रविधि प्रयोगका कारण लगानीकर्तालाई सेयर खरिदबिक्रीमा निकै सजिलो भएको छ । घरमै बसेर आफैंले सेयर किनबेच गर्न सक्ने भएका छन् । यसबाट कारोबार रकममा अझै उछाल आउन सहयोग पुगेको हो । ब्याजदर सस्तो छ । यसले पनि सर्वसाधारण लगानीकर्ताको आकर्षण सेयर बजारमा थप विस्तार भएको हो ।

बजारको चक्रीय नियमले पनि बुलिस प्रवृत्तिलाई सहयोग पुर्याएको छ । यस्तो अवस्थामा लगानीकर्ताले धैर्यतापूर्वक अघि बढ्नुपर्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरु छान्नुपर्छ । कोरोनाका कारण लगानीका अन्य क्षेत्र संकुचित भएका छन् । यसले साना–ठूला, नयाँ अनि पुराना सबैथरिका लगानीकर्ता सेयर बजारमा आकर्षित भएका हुन् । यसैगरी हाम्रो बजार करिब ४ वर्षसम्म वियरिस प्रवृत्ति हिँड्यो ।

लामो वियरिस चक्र पार गरेकाले पनि अहिले बुलिस प्रवृत्तिमा उत्साह थपिएको हो । यस्तै, बजार बढ्दै जाँदा लगानीकर्ताको मनोविज्ञान पनि थप विस्तार भएको छ । बजार बढ्छ भन्ने सकारात्मक मनोविज्ञान हावी हुँदा आम लगानीकर्तामा आफ्नो क्षमताले भ्याएसम्म लगानी गर्ने प्रवृत्ति देखिन्छ । यसले पनि बजारमा रौनकता थप्न सहयोग गरेको छ । यसैगरी, कोरोनाका कारण नेपाली बजारमात्र होइन, यतिबेला संसारका सेयर बजारहरु नयाँ उचाईमा पुगेका छन् ।

नेप्से सूचक २८.७९ अंकले बढेर १९९७.०५ विन्दुमा आइपुगेको छ । १९८ कम्पनीको ८ अर्ब ८६ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ करोड ५१ लाख ९१ हजारभन्दा बढी कित्ता कारोबार भएको छ । कुल १२ समूहको सेयर कारोबाार भएकामा ४ वटा समूह तल झरेका छन् भने बाँकी समूहका सूचक माथि लागेका छन् । निर्जीवन बिमा समूह सबैभन्दा धेरै ८२३.३५ अंकले बढेको छ ।

वाणिज्य बैंक समूह ७.३८ अंकले तल झरेको छ । ९ वटा कम्पनीको भाउ ९% भन्दा बढी वृद्धि भएको छ । विशाल बजारको भाउ सबैभन्दा धेरै १० सर्किट लाग्ने गरी घटेको छ । खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता लिएको छ । यसको ३८ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बिमा कम्पनी र तेस्रोमा प्रभु बैंक परेका छन् । नेपाली पैसा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु