Information is intelligence
HomeTourismपर्यटकीयस्थलमा भीड

पर्यटकीयस्थलमा भीड

- Advertisement -spot_img

लामही | जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलमा चहलपहल बढ्न थालेको छ । लामो समयसम्म कोरोना सङ्क्रमणका कारण सुनसान बनेका धार्मिक तथा पर्यटकीयस्थलमा स्वास्थ्य सावधानी अपनाएर मन्दिरमा पूजापाठसँगै सर्वसाधाणको चहलपहल बढ्न थालेको हो ।

जिल्लाका मठमन्दिर, कृत्रिम जलाशयसँगै पर्यटकीयस्थलमा पुग्ने मानिसको सङ्ख्या बढ्दै जान थालेको छ । घोराही उपमहानगरपालिका–१३ मा रहेको ज्यामिरे दहमा पुग्ने मानिसको सङ्ख्यामा समेत वृद्धि भएको डुङ्गाचालक वीरजन पुनले जानकारी दिए । कोरोना सङ्क्रमणको जोखिमका कारण लामो समयसम्म चल्न नसकेका डुङ्गा अहिले चल्न थालेको उनको भनाइ छ । आजभोलि दैनिक करिब २०० को सङ्ख्यामा मानिस दहमा घुमफिर तथा डुङ्गा चढ्न आउने गरेको उनले बताए ।

ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समूहको जङ्गलको बीचमा रहेको दह आकर्षक रहेको छ । वडा नं १३ कै बाह्रकुने दहसँग जोडिएको ज्यामिरे दहलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि करिब तीन वर्ष पहिले तालको चौडाइ, लम्बाइ र गहिराइ बढाइएको थियो । करिब १२ बिघा क्षेत्रफलमा फैलिएको दहको लम्बाइ एक हजार १५ मिटर, चौडाइ ४५ मिटर र गहिराइ ३० मिटर रहेको ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ ।

बाह्रकुने दहबाट ज्यामिरे दह पुग्नका लागि ग्रिलसहितको सिँढी निर्माण गरिएको छ । प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालय दाङले पर्यटकीय क्षेत्रको विकासका लागि ग्रिलसहितका सिँढी निर्माण गरिदिएपछि बाह्रकुने दहबाट ज्यामिरे दह मानिसलाई आउन सहज भएको स्थानीय कमल पुनले जानकरी दिनुभयो ।

त्यस्तै  पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा पर्यटकको आकर्षण बढ्दै गएको छ । कोरोनाका कारण सुनसान बनेको शान्ति उद्यानमा पछिल्लो समयमा विभिन्न भौतिक संरचना थपिएसँगै पर्यटक पनि थपिँदै गएका छन् । लुम्बिनी प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा रु २४ लाख लागतमा बुद्धको मूर्ति स्थापना गरेसँगै दिनहुँजसो आन्तरिक पर्यटकको केन्द्र बन्दै गएको उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिए । उनले बिदाको दिन दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेको बताए ।

उनले शान्ति उद्यानमा विभिन्न संरचना पछिल्लो समयमा थपिएपछि पर्यटक पनि भरिभराउ हुने गरेको बताए । विसं २०५९ मा शान्तिको कामना गर्दै तुलसीपुर उपमहानगरपालिका–७ मा स्थापना भएको प्रदेशकै सबैभन्दा ठूलो पर्यटनको सम्भावना बोकेको राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य स्थान बन्दै गएको हो । उद्यान व्यवस्थापनका अनुसार त्यहाँ दाङका साथै छिमेकी जिल्लाबाट अवलोकनका लागि मानिस आउने गरेका छन् । “बुद्धको मूर्ति स्थापनासँगै पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ, यसअघि कोरोनाको सङ्क्रमणले सुनसान उद्यानमा हाल भरिभराउ हुने गरेको छ”, भण्डारीले भने ।

चराचरुङ्गीको मधुर स्वर र प्राकृतिक एवं जैविक विविधताले भरिएको उद्यानमा बाल उद्यानदेखि वनस्पति र बगैँचासमेत छन् । त्यस्तै सानो चिडियाखानाले पनि आकर्षण बढाएको छ । त्यस्तै अम्बिकेश्वरी मन्दिर, छिलिकोटको कालिका मालिका मन्दिरमा पनि पर्यटकको चहलपहल बढेको छ । त्यस्तै गढवा गाउँपालिकाको कोइलावासमा रहेको रामजानकी मन्दिरमा पनि आन्तरिक पर्यटक आउन थालेका छन् ।

यो पनि पढ्नुहोस्:

नेपाल र भारत बिचको उडान फेरी संचालनमा आउन

पालमै पहिलो पटक भेटियो ‘हरित परेवा’

पर्यटनको अर्को गन्तव्य ‘बेथानचोक नारायणस्थान डाँडा’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु