Information is intelligence
HomeHealthछिटो फैलिने नयाँ कोरोना भाइरसबारे ८ प्रश्न, वैज्ञानिकहरूको जवाफ

छिटो फैलिने नयाँ कोरोना भाइरसबारे ८ प्रश्न, वैज्ञानिकहरूको जवाफ

- Advertisement -spot_img

कोरोना भाइरसको विश्वव्यापी लहर चलेयता यसको प्रकृति र गुणलाई लिएर एउटा स्थापित पहिचान कायम हुँदै गइरहेको थियो। तर, हालैका दिनमा बेलायततिरबाट आएको खबरले सबैको कन्सिरी फेरि तताउन थालेको छ।

बेलायतले कोरोना भाइरसकै एउटा नयाँ प्रजातिको आफूकहाँ विकास भएको जानकारी सार्वजनिक गरेपछि यसले संसारभर खतराको घन्टी बजाउन थालेको छ। वैज्ञानिकहरू पनि त्यसतर्फ सतर्कता अपनाउन सुरू गरेका छन्।

यो नयाँ भाइरस अझ बढी संक्रामक पाइएको छ भने यसको अनुवांशिक गुण पनि बेग्लै भेटिएको छ।

यो भाइरसलाई लिएर प्रारम्भिक अध्ययनका रिपोर्टहरू आउनासाथ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इशाइ धर्मावलम्बीको प्रमुख चाड क्रिसमसमा पनि देशभर कडा लकडाउन गर्ने भनिसकेका छन्।

त्यसैगरी बेलायततर्फको यात्रामा रोक लगाउन नेदरल्यान्ड्स, जर्मनी र अन्य युरोपेली मुलुकका अधिकारीहरूलाई पनि उनले सुझाव दिएका छन्। नेपालले पनि बेलायतबाट आउन रोक लगाइसकेको छ।

यो नयाँ भाइरस अब आएर गम्भीर बहस र विश्लेषणको केन्द्रमा पर्न थालेको छ। यसबारे उठेका प्रश्न र अहिलेसम्म वैज्ञानिकहरूले थाहा पाएका विवरण यसप्रकार छन्ः

१. के बेलायतमा भेटिएको भाइरस सुपरभाइरस हो?

पक्कै होइन। जतिबेला कोरोना भाइरस संसारभर फैलियो, त्यतिबेलै यसमा अनेक रूपान्तरण पनि हुँदै गयो। यसरी भएका रुपान्तरणमध्येकै यो पनि एक हो। भाइरसमा हुने परिवर्तनले यस्तो रूपान्तरण गर्छ। अहिलेको यो नयाँ रूपान्तरणलाई ‘बी.१.१.७’ नाम दिइएको छ र यसका आफ्नै खाले गुण छन्।

२. त्यसो भए यसको फरक के हो?

यो प्रजातितर्फ अध्येताहरूको ध्यानाकृष्ट यही महिना भएको हो जतिबेला दक्षिणी बेलायततिरबाट आएका नमूनाहरूमा यसको उपस्थिति धमाधम देखियो। ती नमूना संकलन भने सेप्टेम्बरदेखि गरिएको थियो।

अध्येताहरूले जब यसको ‘जिनोम’ मिहिन अध्ययन गरे, त्यतिबेला यसमा तुलनात्मक रूपले ठूलै परिवर्तन भएको पाए। वैज्ञानिक हिसाबले हेर्दा २३ अंकको परिवर्तन भेटियो। कोरोना भाइरसमा भएका धेरैजसो परिवर्तनले भाइरसलाई या त नोक्सान वा प्रभावहीन पारिदिँदै आएको थियो। तर बी.१.१.७ नाम दिइएको यो परिवर्तन भने संक्रमण विस्तार गर्न एकदमै प्रभावकारी हुने अवस्था देखियो।

३. के यो अन्य भाइरसभन्दा बढी संक्रामक छ?

हो, त्यस्तै देखिएको छ। प्रारम्भिक अध्ययन गर्ने संयुक्त अधिराज्यका अनुसन्धाताहरूले फेलापारे अनुसार बेलायतको दक्षिणी भेगमा यो भाइरस तीव्र गतिमा संक्रमित पार्न सक्ने गुणको भेटिएको थियो। जबकि परिवर्तित अन्य भाइरस महिनौं अगाडिदेखि देखापर्दै आए पनि तिनमा यस्तो तीव्र रफ्तार देखिएको थिएन।

तर कुनै पनि भाइरस बढी मात्रामा समुदायमा फैलिएको देखिनुलाई मात्र आधार बनाएर त्यो अधिक तीव्र गतिको संक्रामक छ भन्ने निश्कर्षमा पुग्न सकिँदैन। कहिलेकाहीँ संयोगले पनि कुनैकुनै भाइरस बढी फैलिरहेको हुन्छ।

उदाहरणका निम्ति कुनै प्रजातिको भाइरस असाध्यै भीडभाड हुने सहरको मध्य भागमै विकास भयो भने त्यसको विस्तार सहजै हुन सकिरहेको हुन्छ। र, झट्ट हेर्दा त्यो प्रजातिको भाइरस नै बढी संक्रमणकारी हो कि भन्ने भ्रम पनि पारिदिन सक्छ।

तर, बेलायतको जुन नयाँ भाइरसबारे हामी कुरा गरिरहेका छौं, त्यो भने तीव्र गतिमै संक्रमण विस्तार गर्नसक्ने किसिमको भेटिएको महामारी विज्ञानका तथ्यले देखाएका छन्। जुनजुन स्थानमा यो भाइरस भेटिएको छ, ती स्थानमा कोरोना भाइरसका बिरामीको कुल संख्या बढ्दै गइरहेको छ।

लन्डनस्थित इम्पेरियल कलेजका महामारीविज्ञ नेल फर्गुशनका अनुसार यो नयाँ प्रजातिमा बेलायतमै पाइने कोरोना भाइरसका अन्य प्रजातिभन्दा ५० देखि ७० प्रतिशत बढी संक्रमित पार्न सक्ने गुण देखिएको छ।

४. यो नयाँ प्रजातिको भाइरसबाट कसरी बच्ने?

यो भाइरसकेटाकेटीमा कसरी सर्छ भन्नेबाट पनि संक्रमण दर वृद्धिबारे अनुमान लगाउन सकिने केही वैज्ञानिकहरूको तर्क छ। सामान्यतया वयस्क वा किशोर उमेरकाभन्दा केटाकेटीमा भाइरस सर्ने सम्भावना अलि कमै हुन्छ।

‘तर, यो नयाँ प्रजाति केटाकेटीका मामिलामा पनि वयस्ककै मात्राको संक्रामक हुनसक्छ,’ बेलायत सरकारका सल्लाहकार तथा इम्पेरियल कलेज लन्डनकी भाइरसविज्ञ वेण्डी बर्क्ले भन्छिन्।

यो प्रजातप वास्तवमै बढी संक्रामक छ कि छैन भनेर हेर्न यतिबेला अध्येताहरूले यसको ल्याब परीक्षण तीव्र बनाएका छन्। त्यस्तो परीक्षणमा यसले कोषहरूलाई कसरी प्रभावित पार्दो रहेछ भन्ने सुक्ष्म तवरले नियालिँदैछ।

यसअघि पनि कोरोनाको एउटा परिवर्तित भाइरस प्रजाति फेला परेको थियो। त्यसलाई ‘६१४ जी’ नामाकरण गरिएको थियो। त्यो प्रजातिमा ठीक यस्तै परीक्षण अध्येताहरूले गरेका थिए। कोषहरू र विभिन्न जनावरमा गरिएको परीक्षणका आधारमा त्यो प्रजाति पनि आफ्ना अघिल्ला रुपभन्दा बढी संक्रामक भेटिएको थियो।

तर, सावधानीपूर्वक अपनाइएको उपायले उक्त ‘६१४ जी’ प्रजातिलाई पनि अन्यजस्तै नियन्त्रण गर्न सफलता मिलेको थियो। अहिले त्यस्तै स्थिति यो नयाँ ‘बी.१.१.७’ प्रजातिमा पनि देखिएको छ।

‘हामीले पहिले नै अपनाएका भौतिक दुरी, मास्क, हात धुने र स्यानिटाइजर लगाउने जस्ता सुरक्षा उपाय नै यसका मामिलामा पनि प्रभावकारी हुनेछ,’ युनिभर्सिटी अफ सेन्ट एन्ड्रयुज स्कुल अफ मेडिसिनकी संक्रामक रोग विशेषज्ञ डा. म्युज सेभिक भन्छिन्, ‘यति कुरा चाहिँ अहिल्यै थाहा भइसकेको छ।’

५. के यो नयाँ प्रजातिले मानिसलाई झनै सिकिस्त बनाउँछ?

यस्तो भन्न मिल्नेगरी कुनै ठोस उदाहरण अहिलेसम्म भेटिएको छैन। तर, त्यस्तो सम्भावनालाई गम्भीर रूपमा इंगित गर्ने एउटा कारण चाहिँ यसमा छ।

यो नयाँ भाइरससँग मिल्दोजुल्दो एउटा गुण दक्षिण अफ्रिकामा भेटिएको अर्को परिवर्तित भाइरसमा पनि पाइएको थियो। त्यो प्रजाति दक्षिण अफ्रिकाको तटवर्ती इलाकामा असाध्यै तीव्र गतिमा विस्तार भएको थियो। र, प्रारम्भिक अध्ययनमा त्यहाँका चिकित्सकले यो खालको भाइरसबाट संक्रमित मानिसले अत्यन्तै बढी ‘भाइरल लोड’ बोकेको थिए।

त्यसैगरी स्वासप्रश्वासका माथिल्ला अंगमा यो भाइरस असाध्यै धेरै मात्रामा थुप्रिएर रहेको पनि पाइएको थियो। धेरैजसो भाइरल रोगका हिसाबले हेर्दा यो असाध्यै गम्भीर लक्षणको कारक हुनसक्ने अवस्था हो।

६. यस्ता अनौठा प्रजाति कताबाट आउँछन्?

अहिलेको गम्भीर बहसका लागि उठेको प्रश्न यो नै हो।

कुनै संक्रमितको शरीरभित्र रहँदा नै त्यहाँका विशेष अवस्थाले यो भाइरसमा नयाँ किसिमको परिवर्तन गरिदिन सक्ने प्रवल सम्भावना हुन्छ। सामान्यतया संक्रमण हुँदा मानिसले कोरोना भाइरस आफूभित्र बोक्छन् र त्यसको केही दिनपछि मात्र लक्षण देखिन थाल्छ। त्यसपछि जसै शरीरको रोग प्रतिरोधी क्षमताले काम गर्न थाल्छ, भाइरस पनि कम हुँदै जान्छ।

यस बीचमा कथम्कदाचित कोरोनाका बिरामी सिकिस्त भएनन् भने सामान्यतया बढीमा केही साताभित्रै उसको शरीरका तमाम भाइरस आफैं समाप्त हुन्छन्।

तर कहिलेकाहीँ भाइरस प्रवेश गरेको मानिसको शरीर असाध्यै कम रोग प्रतिरोधी क्षमता बोकेको भइदिन्छ। त्यस्ता मानिसको शरीरमा भाइरस महिनौंसम्म बसिरहन सक्छ। हो, यस्ता रोग प्रतिरोधी क्षमता कम भएका भाइरसवाहककै शरीरभित्र लामो समय रहँदा भाइरस असाध्यै बढ्ने र तिनमा अत्यधिक परिवर्तन हुने गरेको केही अध्ययनले देखाएका छन्।

समयको अन्तरालमा अध्येताहरूले पत्ता लगाउँदै गएको तथ्य के पनि हो भने, त्यसरी परिवर्तन भएका भाइरसले आफूलाई अनुकूल बनाउँदै लगेपछि रोग प्रतिरोधी क्षमता पनि परास्त गरिदिने गुण विकास गर्दै लैजान्छन्। रोग प्रतिरोधी क्षमता कमजोर भएर लामो समय भाइरस बोक्ने बिरामीलाई दिइने औषधिले पनि यस्ता नयाँ प्रजाति विकास गर्न सघाइरहेको हुनसक्ने अध्येताहरूको अनुमान छ।

यस्ता कतिपय परिवर्तित भाइरसले ‘मोनोक्लोनोल एन्टिबडीज’ जस्ता औषधिको पनि सामना गर्न सक्ने गुण विकास गर्न सक्छन्।

अर्काथरि वैज्ञानिकले भने धेरै जनावरहरूमा कोरोना भाइरस विस्तार भएर पनि यो परिवर्तित स्वरूपको नयाँ भाइरस आएको अनुमान लगाएका छन्। जस्तो कि डेनमार्कका मिंक (न्याउरी मुसा जस्तै एक प्रकारको जनावर)।

त्यो अवस्थामा चाहिँ मानिसमा प्रवेश गर्नुअघि नै भाइरस परिवर्तन भइसक्ने सम्भावना प्रबल हुन्छ। पछिल्लो समय धेरै पशुहरूमा संक्रमण देखिएको अवस्थामा यसतर्फ पनि अध्येताको ध्यान गम्भीर रूपमा आकर्षित हुन थालेको छ।

७. के यो भाइरस धेरै देशमा विस्तार भइसकेको छ?

अमेरिकामा हालसम्म यो भाइरस छैन। भारत लगायत अन्य देशले पनि अहिलेसम्म आफूकहाँ नयाँ भाइरस नदेखिएको बताएका छन्। तर यसको अर्थ ती देशमा यो नयाँ कोरोना भाइरस पुगेकै छैन भन्ने होइन।

पछिल्लो समय बेलायती वैज्ञानिकहरूले कोरोना भाइरसको नयाँ परिवर्तन नियाल्न अत्यन्तै बलियो प्रणाली स्थापित गरिसकेका छन्। बेलायतबाट आउने मानिसले परिवर्तित भाइरस बोकेको हुन सक्नेछ भन्ने जानकारी पछिल्लो समय सबैजसो देशले पाइसकेका छन्। विस्तारै अन्य मुलुकमा यो नयाँ भाइरस देखिन सक्छ।

८. के यो नयाँ प्रजातिले भर्खरै पत्ता लागेका कोरोनाविरूद्धका खोप फेल गराइदिन्छ?

धेरै विज्ञहरूले यो नयाँ प्रजातिबाट भर्खरै पत्ता लागेका खोपलाई ठूलो असर पर्ला कि भनेर शंका गरेका भए पनि हालसम्म यसको जवाफ गराउँदैन भन्ने नै छ।

तर यसबाट कुनै न कुनै असर पर्न सक्ने सम्भावना भने नकार्न सकिँदैन।

अहिलेसम्म अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडिए) ले दुइटा खोपलाई मान्यता दिएको छ- फाइजर र बायो एन टेकको संयुक्त उत्पादन र मोडर्ना।

यी दुवै खोपले हाम्रो शरीरको रोग प्रतिरोधी क्षमतालाई कोरोना भाइरससँग लड्न प्रतिरोधीका रूपमा एन्टिबडी तयार पार्न सिकाउँछ। त्यो एन्टिबडीले भाइरसको सतहमा बस्ने प्रोटिनसँग लड्छ। त्यो प्रोटिनलाई ‘स्पाइक’ भनिन्छ।

यो स्पाइक प्रोटिन नै हाम्रो कोषिकामा बसेर त्यसभित्र प्रवेश गर्ने बाटो तयार पार्छ। खोप लगाएपछि तयार भएका एन्टिबडी त्यही स्पाइकको टुप्पोमा गएर बसिदिन्छ। परिणाम, भाइरस हाम्रो कोषिकाको भित्र पस्न पाउँदैन।

परिवर्तन हुँदा कोरोना भाइरसको ‘स्पाइक प्रोटिन’ को ढाँचा फेरिन सक्छ। यसले गर्दा एन्टिबडीले उक्त स्पाइक प्रोटिनलाई दह्रोसँग अँठ्याउन अलि गाह्रो हुन्छ। अहिले बेलायतमा फेला परेको नयाँ भाइरसमा स्पाइक जीनको मात्रा आठ छ।

तर, धेरै डराउनु पर्दैन। किनकी हाम्रो रोग प्रतिरोधी प्रणालीले एउटै प्रोटिनसँग लड्न एक साथ थुप्रै एन्टिबडी उत्पादन गरिरहेको हुन्छ। यस्तो अवस्थामा त्यो आक्रमणबाट भाइरसहरू विरलै बाँच्न सक्छन्।

स्वास्थ्य विज्ञान र हाम्रो शरीरको यस्तो तथ्यलाई मध्यनजर गर्दै विज्ञहरूले यो नयाँ भाइरसलेले भर्खरै पत्ता लागेका खोप फेल गराउन सक्ने कुनै सम्भावना देखेका छैनन्। यसलाई थप पक्का गर्न ‘वाल्टर रिड आर्मी इन्स्टिच्यूट अफ रिसर्च’का अध्येताले यी नयाँ भाइरसको स्पाइक प्रोटिनमा आउने परिवर्तन गहन अध्ययन सुरू गरिसकेका छन्।

कोरोनाविरुद्ध भर्खरै विकासित खोपको प्रभावलाई बेलायतमा देखिएको नयाँ भाइरसले कुनै असर पार्न नसक्ने डा. मोनसेफ स्लावीले पनि बताइसकेका छन्। उनी अमेरिकी नागरिकलाई खोि वितरण गर्ने संघीय प्रणाली ‘अपरेसन वार्प स्पीड’का प्रमुख वैज्ञानिक सल्लाहकार हुन्।

‘भविष्यमा कुनै दिन कुनै प्रकारले परिवर्तित भाइरसले कुनै विन्दुमा गएर अहिलेका खोपलाई निश्प्रभावी बनाइदिने सम्भावान हुन्छ,’ डा. मोनसेफ भन्छन्, ‘तर, अहिले नै खोप निश्प्रभावी हुने सम्भावना असाध्यै कम छ।’

तर, यस विषयमा अध्येता र वैज्ञानिकहरू चनाखो भएर बस्नुपर्ने आवश्यकता उनी देख्छन्।

अर्कातर्फ यी नयाँ खोपमाथि कुनै खतरा नै छैन भनेर ढुक्क हुनु पनि धेरै हतारको निश्कर्ष हुने अर्का संक्रामक रोग विशेषज्ञ किस्टिन एन्डरसन बताउँछन्। उनी इस्क्रिप्स रिसर्च इन्स्टिच्युटसँग आवद्ध छन्।

‘बेलायतमा जुन भाइरस देखिएको छ, त्यो फेरि कुनै कमजोर रोग प्रतिरोधी क्षमता भएको बिरामीमा सरिदियो र त्यसले फेरि अर्को नयाँ स्वरुप लियो भने चाहिँ खोपको प्रभावकारितालाई चुनौती दिनसक्ने स्थिति नआउला भन्न सकिन्न,’ उनी भन्छन्, ‘त्यसको अर्थ खोप कामै नलाग्ने होइन, कम प्रभावकारी देखिने हुन सक्छ।’

त्यस्तो सम्भावना खोजी गर्न पनि अध्येता र वैज्ञानिकहरू लागि परिसकेका छन्।

‘त्यसबारे अहिले नै भन्न सकिने अवस्था छैन,’ डा. एन्डरसन भन्छन्, ‘तर निकट भविष्यमै हामीले थाहा पाउने पक्का छ।’

( setopati बाट साभार गरिएकाे याे लेखद न्यूयोर्क टाइम्सका लागि कार्ल जिम्मर र बेनेडिक्ट क्यारेले लेखेको स्टोरीको भावानुवाद हाे। यो लेखका निम्ति बेन्जामिन मुलेर र काटी थोमसले पनि सघाएका छन्।)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु