Information is intelligence
HomeUncategorizedबेमौसमी तरकारी खेतीप्रति आकर्षण

बेमौसमी तरकारी खेतीप्रति आकर्षण

- Advertisement -spot_img

बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि जुम्ला र आसपासका क्षेत्रमा घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् । हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन थालेका छन् ।

जुुम्लामा हिउँदको समयमा तरकारी अभाव हुन्छ । अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ । तराईबाट आएको तरकारी महङ्गो हुने भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन् । अधिकांश किसानको आकर्षण बेमौसमी तरकारी खेतीमा देखिएको छ । प्लाष्टिक टनेलमा तरकारी खेती गर्न थालेपछि जिल्लामा उत्पादन पनि बढ्दै गएको छ । कनकासुन्दरी गाउपालिका–५ लुड्कुका गगन बुढाले प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी उत्पादन हुन थालेको बताउँछन् । बुढा विगत केही वर्षबाट गाउँमै  बस्दै आएकाछन् । “तरकारी खेती गर्न थालेपछि किसानको आम्दानी बढिरहेकै छ । बजारका बासिन्दाले समेत ताजा तरकारी उपभोग गर्न थालेका छन्”, उनले भने ।

बाहिरी हावापानीको प्रभाव नपर्ने भएकाले टनेलमा तरकारी उत्पादन पनि राम्रो हुने गरेको उमा बुढाले जानकारी दिए । प्लाष्टिक टनेलमा उत्पादन भएको साग प्रतिमुठा रु १५ देखि २० मा बिक्री हुने गरेको छ । स्थानीयवासीले धनियाँ, टमाटर, प्याज, काउली, लसुन, गाँजरलगायत तरकारी उत्पादन गरिरहेका छन् । सदरमुकाममा अधिकांश तरकारीको भाउ रु १०० देखि १५० छ ।

बुढाले गत वर्ष तरकारी खेतीबाट रु एक लाख बचत गरेको जानकारी दिए । उनले खुर्सानी उत्पादनलाई प्राथमिकता दिएको बताउँछन् । सदरमुकाममा बेमौसमी तरकारीको माग बढेकाले व्यावसायिक खेतीमा आकर्षण बढेको उनको भनाइ छ । यता सिञ्जा गाउँपालिका–६ कै मुन्कौरा बुढाले बजारमा तरकारी खेती गरिरहेकाछन् । उनको बारीमा साग, धनियाँ, टमाटर र गाँजरको उत्पादन हुने गरेको छ ।मङ्सिरदेखि फागुनसम्म तरकारीका बिरुवा चिसोबाट जोगाउन टनेल निर्माण गरिएको उनको भनाइ छ । कतिपय बारीमा आएर साग, धनियाँ, टमाटर र गाजर लिने गरेको बुढाले बताए । बुढाले तरकारीबाट रु ५० हजारभन्दा बढी आम्दानी गरेको बताउँछन् । नियमितरूपमा घरमा खाने गरेको उनको भनाइ छ । केही वर्षयताबाट तरकारी खेतीको लहर चलिरहेको छ ।

नेपालगञ्ज र सुर्खेतबाट आउने तरकारीको मूल्य रु २५० भन्दा माथि रहेको उनले जानकारी दिए । उनका अनुसार गाउँ–गाउँमा तरकारी उत्पादन बढ्दै गएपछि बाहिरको तरकारी कम भित्रन थालेको छ । रासस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु