Information is intelligence
HomeEconomyके हाे नागरिक स्टक डिलर ? कसरी गर्छ काम ? शेयर बजारलाइ...

के हाे नागरिक स्टक डिलर ? कसरी गर्छ काम ? शेयर बजारलाइ कसरी स्थिर बनाउँछ ?

- Advertisement -spot_img

नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलरलाई सञ्चालन अनुमति दिएको छ । योसँगै नागरिक स्टक डिलरले धितोपत्र बजारमा सेयर खरिद बिक्री गर्न सक्नेछ । बहुप्रतिक्षित स्टक डिलरले अनुमति पाएसँगै पुँजी बजारको विकासमा थप योग्दान पुग्ने अपेक्षा सरोकारवाला निकायको छ । यता, लगानीकर्ताले पनि बजारमा थप सेयरको माग बढ्ने विश्वास गरेका छन् । हाम्रो बजारमा अहिलेसम्म व्यक्तिगत लगानीकर्ताको मात्र वर्चस्व छ ।

स्टक डिलर प्रवेशपछि संस्थागत लगानीकर्ताको पनि उपस्थिति बढ्नेछ । यस्ता संस्थाले राम्रोसँग अध्ययन अनुसन्धान गरेर लगानी गर्ने भएकाले पुँजी बजार गतिशील बनाउन सहयोग पुग्ने छ । यो संस्थागत धितोपत्र व्यापारी भएकाले पनि बजार गतिशील बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ । अहिलेसम्म हाम्रो बजारमा म्युचुअल फन्ड, केही इन्भेष्टमेन्ट कम्पनीहरु बाहेक व्यक्तिगत लगानीकर्ताकै भरमा बजार चलिरहेको छ । नागरिक स्टक डिलर, नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापित तथा सञ्चालित एक स्वायत्त संस्था पनि हो ।

नागरिक लगानी कोष ऐन, २०४७ को दफा ३२ (ड) मा पुँजी बजार विकासका लागि आवश्यकता अनुसार सहायक कम्पनी खडा गरी स्टक डिलरको कार्य गर्न सक्ने कानुनी व्यवस्था छ । उक्त अधिकारको प्रयोग गर्दै कोषले स्टक डिलरको काम गर्न छुट्टै सहायक कम्पनी खडा गरेको हो । कोषले दर्ता गरेको सहायक कम्पनी नागरिक स्टक डिलरको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । यस कम्पनीमा कोषको ५१% सेयर छ । त्यस्तै, यसमा नेपाल पुनर्बिमा कम्पनीको १०%, नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को ९% र सर्वसाधारणको ३०% सेयर स्वामित्व रहेको छ।

के हो स्टक डिलर, कसरी गर्छ यसले काम ?

स्टक डिलरले नियामक निकायको अनुमति लिएर दोस्रो बजारमा सेयर तथा अन्य धितोपत्रहरु खरिदबिक्री गर्न सक्छ । सेयर बजारमा माग र आपूर्तिको व्यवस्थापन गर्न सहयोग पुर्याउँछ । समग्रमा, पुँजी बजारमै सन्तुलन कायम राख्ने कार्य गर्दछ । पुँजी तथा तरलता व्यवस्थापनमा पनि यसले काम गर्न सक्छ । सेयर बजारमा हुने उच्च उतारचढावलाई नियन्त्रणमा राख्ने भएकाले जोखिम न्यूनीकरणमा समेत यसको निकै ठूलो भूमिका हुने गर्छ ।

सेयर कारोबारमा हुन सक्ने अस्वभाविक उतारचढाबलाई न्यूनीकरण गरी बजारलाई स्थिरता प्रदान गर्ने भएकाले लामो समयदेखि यो स्थापनाको आवाज उठेको हो । विकसित मुलुकको अभ्यास हेर्दा स्टक डिलरले बजार विकास र सन्तुलनमा महत्वपूर्ण काम गरेको देख्न सकिन्छ ।

सेयर बजारको उतारचढाव अनुसार यसले आवश्यकता अनुसार सेयर खरिद बिक्री गरी सन्तुलन मिलाउने प्रयास गर्छ । उच्च जोखिमलाई न्यूनीकरण गर्छ । समग्रमा पुँजी बजारलाई थप आधुनिकीकरण र विकास गर्न पनि मद्दत गर्ने सरोकारवालाहरु बताउँछन् । यसले नेप्से वा सीडीएसबाट कारोबार विन्डो लिएर सीधै सेयर किनबेच गर्न सक्नेछ । ब्रोकरको मध्यस्थता आवश्यक पर्दैन ।

नेपालीपैसा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु