Information is intelligence
HomeLiteratureभूपू सहिद

भूपू सहिद

- Advertisement -spot_img

प्रिय नाम्गेल दाई पृथ्वीतिर हेर्दै नहेर्नु

प्रिय नाम्गेल दाई टासिदेलेक,
वर्षौंपछी तिमी मेरो सपनामा आयौ म ईन्द्रावती बगरमा गोठालो गएको रहेछु,तिमी पिँठ्युमा एकभारी गोलिबारूद भिरेर,कांधमा छ बित्ते राईफल बोकेर,एक दर्जन हुलसहित, तितेभीर पट्टि लाग्दै रहेछौ । उहि जोस्, उहि होस् , उहि दम, उहि कदम नाम्गेल दाई तिमी त उबेला सिकारिहरूले कालिज उडेको हेर्ने, कालिज ढुंगाूमाथी बसेर बाघचाल खेल्ने बेलाको जस्तै हंसिलो,फुर्तिलो देखिन्थ्यौ । पन्ध्र बर्षअघि तिमी नमारिएको भए, अहिलेसम्म त केश पनी फुलेर सेताम्मे हुन्थे होलान ।  मेरो बाले जस्तै,बुडो भएछ अब, एक गिलासले नै फिलिली पार्छ होई भन्थ्यौ होला, तर तिमी मेरो सपनामा जवानै रह्यौ दाई ।

अनायास तिमी किन मेरो सपनामा आयौ दाई ? कालिजढुंगामा बसेर एक्लै गट्टा उफारिरहेको मलाई, माथी बाटोबाट सुसेली सुसेली बोलाएर जेठा के छ होई हालखबर ? भनेर किन सोध्यौ ? अचानक तिमिलाई देख्दा म, अन्यौलमा परेको थिएं, तिमिसंग बोलु नबोलुँ, बोले के बोलुँ ? कसरी बोलुँ ? सोच्दासोच्दै ब्युझिएछु दिनभरी तिम्रै कुरा मनमा खेलिरह्यो ।

म तिमिलाई के भनेर सम्बोधन गरूँ दाई ? तिमिलाई तात्कालिन माओबादी कमाण्डर नाम्गेल लामा भनेर सम्बोधन गरूँ, मेरो पार्टी का बिलायो भनेर आत्तिएउला, तिमिलाई स्वर्गीय भनु ?  मृत्युपछी तिमी स्वर्ग गयौ कि गएनौ म कन्फ्युजमा छु । सत्यमार्गीहरूलाई यमदुतले स्वर्ग पठाउछन् भने अवश्य तिमी स्वर्गीय भयौ होला, तर के हाम्रा देउताहरूसंग पनी तिम्रो सत्याग्रह थाम्ने तागत छ होला र ? दुख नमान नाम्गेल दाई, एउटा लामापूत्रलाई ,यो रूद्रभक्त झूटो तक्मा भिराउँदैन ।

तिमीलाई म भूतपूर्व सहिद नाम्गेल लामा भनेर तिम्रो वास्तविक सम्बोधन गर्दैछु, हो मेरो दाई तिमी भूपू सहिद घोषित भएका छौ, तिमिलाई धेरैधेरै बधाई दिंदै, तिमिले सपनामा सोधेको प्रश्नको जवाफ, बिपनामा दिंदै छु । तिमिलाई हालखबर सुनाउँदै छु । ‘मेरो हाल नसोध्नु, म सधैभरी बेहाल छु’ भन्ने उदय मनिलाको गितजस्तै, मैले बताउने हाल सबै भताभुंग छन् दाई । सत्य सुन्न र बुझ्नसक्ने तिम्रो आत्मा अझै बलियै छनभने सुन दाई ,नत्र मीठोमिठो बकवास सुनेर आत्मशान्ती गराउने ध्येय हो भने चाहिं, जाऊ तिम्रै मलामीहरूको सपनामा तिनलाई आमसभाको मञ्चमा डुग्रीरहेका बेला चिच्याई चिच्याई सोध के छ हालखबर ?

तिमी मसंग धेरैकुरा सोध्न चाहिरहेका थियौ । अब के सोध्छौ तिमी ? जानेर के पाउँछौ ? म पहिल्यै भन्छु दाई, तिमी देशको हालत जानेर आत्मा नभड्काउ, चुपचाप बैकुण्ठ जाउ, नत्र म तिमिलाई कुचोले हानेर,सिस्नोले पोलेर लखेट्न बाध्य हुनेछु ।

त्यो दिन सँगै सुतेको तिमि कतिबेला हिडेछौँ, बिहान बिछ्यौना मिलाउंदा सिरानीमुनी एउटा रेडियो फेला पर्यो, हत्तपत्त बाजेलाई  त्यो रेडियो थमाईदिए । बाजेले रेडियो यताउता पल्टाउँदै, ‘लौ अब हतारमा रेडियो नै बिर्सेर हिंडेछ ,त्यो पनि बोदे झाँक्रीको नाति ढंग त कहाँ छ र अझ मै हुँ हेन्सम भनेर हिड्छ, जाठो’ भन्दै चिन्तामिश्रीत भावमा गालिको शब्द ठुस्क्याए । कुनदिन त्यो आउँछ, त्यतिन्जेललाई समाचार सुन्न हुन्छ भनेर बाजेले साचिदिएको रेडियो लिन, तिमी कहिल्यै आएनौ नाम्गेल दाई बरू त्यो रेडियो ले नै तिमि कहिल्यै रेडियो लिन नआउने समाचार सुनायो ।

त्यसपछि,तिम्रै रेडियोले क्रमशः जनआन्दोलनको समाचार सुनायो,मुलुकमा गणतन्त्र आएको खबर बतायो,त्यसपछी सिमली छायांमा बसी देखि लाऊ चेली सिन्दुर लाऊ जस्ता जनवादी गितहरू घन्कायो । नाम्गेल दाई,तिमिले छोडेर गएको थोत्रो रेडियो आजसम्म चल्दैछ, तर तिमिले बोकेर हिडेको नयाँ जनवाद १० वर्षनी टिकेन ।

तिमिसंग छुच्चो मुख गरेकोमा क्षमा देउ नाम्गेल दाई, तिमिलाई भूपू सहिद भनेकोमा खल्लो नमान तिमिलाई सहिद मैले बनाएको पनि हैन, खारेज गरेको पनि मैले हैन बरू तिमिले भन्दिन पर्यो तिमी कसको सहिद हौ ? सहिद बनाउने तोरि पार्टिहरूको कि ? सहिद मान्ने कोदो पार्टीको ? लफडा के छ भने अस्ति आधा भारी तोरि र आधाभारी कोदो मिसाएर जनतालाई गतिलो भारी बोकाईदिए फेरि दुईघुम्ती नकट्दै भारी फुकाएर भाग लगाउन थालेका छन । भाग नमिलेर कुन कोदो, कुन तोरि भाको छ ।

तोरि र कोदोको भाग त एकदिन मिल्ला तर तिमिहरूको शालिक भाग लाउन निकै सकस परेको छ उनिहरूलाई ।अब तिमिले नै भन्दिन पर्यो,आउदो साल तिम्रो सालिकमा कुन पक्षको माला भिराउने ? तिमिले खुलस्त पार्नु पर्यो सहिद बनाईदिए बापत तिम्रा छोरा र श्रीमतिले तिर्दै आएको दस्तुर कस्लाई बुझाउने हो ? आगामी दिनमा कस्को पर्चा बोकेर भोट माग्न गईदिनुपर्ने हो ? कस्को सम्मेलनमा खाली सिउंदो देखाएर रोईदिनुपर्ने हो ? तिम्रो छोरोले कल्लाई काट्नुपर्ने हो ? कल्लाई चाट्नुपर्ने हो ?

मत भन्छु नाम्गेल दाई तिमी तोरि पनि नबन कोदो हु पनि नभन । तिमी ब्रम्हाण्डमा रूमल्लिनु नै बेकार हो । मान्छेले एकजुनिमा देखेको सपना अर्को जुनिमा पूरा गर्छ रे भन्छन । कतै तिमी अर्को जुनि लिने सोचमा त छैनौ ? फेरि जन्मिने भए पूर्व तैयारी सहित आऊ है नाम्गेल दाई नवयुगमा जन्म लिदा धेरै सतर्कता चाहिने भाछ ।

तिमी फेरि जनजाती नै भएर जन्मिने भए, दशकोस बाटै चिनिने अनुहार लिएर जन्मनु, जतिसक्दो थेप्चिएको नाक ,चिम्सिएको आँखा लिएर जन्मिनु जातिबादी हुनु,पहिलेजस्तो हिन्दुलाई हिमालको मादेउ चिनाउने झाँक्रीको नाति हुँ भन्यौ भने आफ्नै जातिबाट बहिस्कार हुनेछौ । दारीजुँगा पाल्ने सोखले बाहुनको घरमा जन्मिने भए,खुब बिचार पुर्याऊ है । गरिब बाहुनको घरमा चैं जन्मिंदै नजन्मिनु  । यो देशमा गरिब अनि बाहुन हुनु दुई ठूला अभिशाप हुन । तिमिमा पृथ्विलाई नै उल्टो घुमाउने प्रतिभा छ भने पनि, कसैले पत्याउँने छैनन् ।  तिमी क्षेत्री,ठकुरी भएर जन्मिने हो भने शान्ति,अहिंसाको त कुरै नझिक नत्र तिमी डलरे भनिनेछौ, देवाली पूजामा संस्कार नासेको आरोप खेप्नेछौ, तिमि कात्तर साबित हुनेछौ । पहिलेजसरि क्षेत्रीको छोरो बुद्द भयो, क्षेत्रीहरू चैं बुद्दिष्ट किन भएनन् ? भनेर सवाल गर्ने जमाना छैन ।

अन्त्यमा,
मेरो कुरा मान्छौ भने,म  तिमिलाई आफ्नै दाई मानेर एउटै बिन्ती गर्नेछु । जति नै कठिन भएपनी तिमी स्वर्ग तर्नतिर लाग दाई, माथि माथी फर्क,उभोउभो लम्क आईन्दा देश, गाउँ, पार्टी, समाज सम्झेर पृथ्वीतिर हेर्दै नहेर ।
हार्दिक श्रद्धाञ्जली दाई

यो लेख दरबार टाईम्सको लागि सुनिल कुमार बस्नेतले लेखेका हुन्।

तपाईंहरुलाई पनि दरबार टाईम्समा आफ्नो लेख प्रकाशन गर्ने इच्छा छ भने durbartimes@gmail.com मा पठाउन सक्नुहुनेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु