Information is intelligence
HomeLiteratureदेश आफ्नै आफ्नाहरूले सखाप पारे प्रभू

देश आफ्नै आफ्नाहरूले सखाप पारे प्रभू

- Advertisement -spot_img

मुलदेवता श्री देवा दी देव महादेवको चरणमा
कुलदेवता महामष्टो को शरणमा यो अभागी भक्तको साष्टाङ्ग दण्डवत,

कुरो कहाँसम्म सांचो हो प्रभू, नर्कमा भोग्नुपर्ने सम्पुर्ण कष्ट, पृथ्वीमा नै भोगेर जाने हुनाले,अचेल यमदूतले नेपालीहरूलाई  सिधै स्वर्ग पठाउन थालेका छन् रे हो ? त्यही सुखको एक पलपनी भोग्न र सुन्नसम्म नपाईने भूमिबाट आज मैले तिमिलाई किन पुकारें भनीकन, स्वयं त्रीकालेश्वरको आगे क्या बेलिबिस्तार लगाऊँ प्रभू ।

हे कुलदेवता, हे परमेश्वर
काट्दै काटिंदै, जित्दै जिताउंदै,लखेट्दै लखेटिंदै कर्णालिको तिरदेखी,चोभारको काप हुँदै सिन्धुको भिर सम्म आईपुग्दा हजारौं हजार बर्ष बितिगएछन् प्रभू, यिनै समयकालमा भारदारहरूले धर्म छाडे,हामीले कर्म छाडेनौं, महाराजहरू नै दरबारबाट निकालिए, हामिले आफ्नो तरबार बिसाएर हिंडेनौं  कहिल्यै हाम्रा आँगनमा गतिलो कलाकार जन्मिएनन्,कवि महाकवीहरू पैदा भएनन्,बैज्ञानिकहरू हुर्किएनन् । आजसम्म पनि हाम्रा पिंढिमा कि आर्मी जन्मिन्छन् कि प्रहरी बडामहाराजले खुंडा हान्नकै लागि छानेका चारजात मध्य, एक जातको सन्तान् भएर पनि आज यो देशमा आफ्नो अस्तित्व देख्दिनँ मष्टदेव, यो देशमा हाम्रो पनि योगदान छ, मेरा पूर्खाहरूको पनि ठूलो बलिदान छ, भनेर कसैलाई सुनाउन खोज्दा आफैंलाई खित्ता छोडेर हाँसिदिउँझैं हुन्छ भने सुन्नेहरूले ओट लेपारिदिंदा के जंगिनु छ र ।

मष्टदेव
आफ्नो वंश कुटुम्बकै दुई चारजना बडाबाठाहरूले पूर्खाको बलिदानलाई लगानी जस्तो बनाएर त्यसको ब्याज, स्याज गरि यत्तिधेरै कुम्ल्याई सकेछन् कि,अस्ति एक बन्धुको सम्पत्ति छानबिन गर्दा सात प्रदेश छक् परे । देशभरका वंशहरूको जायजेथा एकापट्टि,हाम्रा काजीसाबको साम्राज्य अर्कोपट्टि राखेर जोख्ने भएदेखुन् दुईचार करोड त अझ उनैको बढी देखिएला, हुन त बन्धुलाई लाग्यो होला, मेरो पूर्खाले तरबार बजारेर बनाएको देशको ढुकुटीबाट दशविस बोरा आफ्नो दरबारभित्र हुल्नुमा के बठ्याईं छ र ? बडामहाराजको हुकुम बमोजिम हो भने,अहिलेसम्म तिनले दुईपिण्ड खाईसक्ने थिए । अब यो रावणको राज्यमा खुद्रा चोरीचकारिको के लेखाजोखा ।

हे परमेश्वरी
मेरो गर्दन चिलाएको होकी मेरा कुटुम्बहरूको खाली आङ्ग सकसकाएको हो, म पूर्खाको स्वाभीमानलाई स्वाहा नपारौं, निष्पक्ष बनौं भन्छु मेरा ईष्टहरू जसलाई बोकेपनी बोक्नु न हो,बोक्न पाए त भैगोनी झैं गर्नुहुन्छ ।
मेरो देश आफ्नै आफ्नाले बिगार्दिए प्रभू मैले कात्रोमा तिरेको कर पनि मेरा कुटुम्बले आफ्नो गोजिमा घुसाउंछन्, परदेशमा लाखौं मुहरूलाई बेचेको रकमले मेरा बन्धु राजधानीमा मोटर र्याली निकाल्छन् ।  मैले यौवन र निन्द्रा बेचेको पैसा मेरा नातेदारहरूले बिदेशीको तन्नामा उडाईदिन्छन् । मैले भोक र प्यास सहेर जोगाएको कमाई, मेरा भाईभतिजाले सडकमा पचाईदिन्छन । अनिफेरि  यिनीहरू नै गर्छन् ईमानका कुरा, धर्मका व्याख्या, सिमानामा लुगलुग काम्दै पिल्लर जोगाईरहेका सिपाहिलाई एकसरो न्यानो लुगा छैन, राजधानिमा माननीयहरूलाई साईज साईजका टालो र खास्टोको रोजिछाडी छ ।  हे भूतेश्वर कुनैदिन त्यसरी गरिबको पसिना कराईमा उमाल्नु परेछ भने,वीर पूर्खाहरूको कसम यो देशको काट्टो खाए बराबर,

हे भष्मेश्वर ,मैले असत्य र अधर्म बोलेको रहेछु भने,अहिल्यै रगत छदाईदिनु, नत्र केही असन्तुष्टि त मेरो ईश्वरप्रती पनि छ । सात पूस्ते रिनले थलिएको ज्यानमा देशभक्तिको अर्को भारी किन बोकाईदिन्छौ हे मुक्तिदाता ? आईन्दा देशभक्तहरूलाई धनाड्यको घरमा जन्माईदिनु, कि त धनिमानीको मगजमा अलिकती भएपनी राष्ट्रप्रेम घुसाईदिनु हामी निमुखालाई मात्रै यो बोझ टोक्नु न बोक्नु भो ।

आफ्नै दैलाको सांप नखेदी,अरूको आंगनमा छेपारो नहेर्नु, भनेझैं यो मातृभूमी उजाड पारेको दोष पहिले आफैं र आफ्नैलाई लगाउँछु मैले जस्तै आफ्नो भूमी र आफ्नो संस्कृतिलाई माया गर्नेहरूले पहिला आफ्नै दोष सुधार्न जरुरी छ । गोठालाहरूलाई गोठ जिम्मा लगाएर बसेका गोठ मालिकहरूले गोठ नै बिर्सिएकाले केही मालिकहरू आफ्नै गोठमा भैंसी किन्न गईदिनाले, धूर्त गोठालाहरूको यो रगरग बढेको हो बुद्दको देशमा अशान्तिले शोभा दिदैन, भाईभाईको झगडामा छिमेकिले दाउ नमारोस् भनेर सबैजना मौन छौं । यो मौनतालाई गोठालाहरूले हाम्रो कायरता नसम्झिउन्, आफ्नो दायरामा रहुन् । चित्त नबुझेको कुरा देउता कुलायनलाई त धुप बालेर,घण्ट बजाएर झक्झाईन्छ भने,दुईटा बोत्तल र दुईबिटोमा खरिद हुने द्रव्यपिचासहरूलाई नाङेझार पारी,सिस्नोपानीले मन्छाउन नपरोस् ।

द्वापरयुगमा कृष्णले धर्मस्थापना गर्न खोज्दा आफ्नै वंशबिनास भएजस्तो,आज देशमा अनुशासन कायम गर्दा सकेसम्म प्राणीबधको दोष नलागोस् भनेर सबै सपूतहरू न म श्री कृष्ण ,न त चाणक्य भनेर चुपचाप बसेका छन । तर,संधै देश उजाडिरहेको टुलुटुलु हेर्न र सहन सक्ने तिम्रोजत्रो शहनशीलता हामिसंग छैन भोलेनाथ,

मन्दिर धितो राखेर दुनियाँलाई मागेको भिखले, मातृभूमिमा धुनी लगाउने तिम्रा भिखारीभक्तहरूलाई औकातमा बस्ने सद्बुद्दी देउ महाकालेश्वर,नत्र गोर्खेले खुकुरिमा धार लगाउन पर्यो भने, सिरूपातेमा आफ्नो गर्दन् चढाउनु अघी, तिनले शक्तिपिठमा महामृत्युञ्जय भजेर आउन चेतना भया
जय देश,जय मातृभूमी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु