Information is intelligence
HomeLiteratureछाेरी !

छाेरी !

- Advertisement -spot_img

मान्छेहरू छोरीको कुरै सुन्दैनन् । आमाको कुरा भने ढुङ्गामुढाले पनि सुन्छन्, गोमा ब्राह्मणीको कुरा जाँतो, चर्खाले सुनेजस्तो । ढुङ्गा मुढाले मात्रै सुन्छन् भन्दा पनि हुन्छ हुन त ।

म भने छोरीको कुरा गर्दैछु । हाम्री मामाघरकी हजुरआमाकी छोरी । अर्थात् माताश्री ।

अंश बाँडफाँड भएपछि एउटा गोरु पनि हाम्रो अंशमा पर्यो । आमैले रोपाइँको तयारी गर्नु भो । हली बाउसे मेलामा आइपुगे । मेलो सुरु हुने बेलामा बाबाले आफ्नो अंशको गोरु फुकाएर चराउन जंगल जानू भो । एउटा गोरुले जोत्न नमिल्ने । रोपाइँ रोकिने भयो । हजुरबाले टुलुटुलु हेरिरहनु भो । हली बाउसेले बोल्ने ठाउँ थिएन ।

गोठमा अर्को बूढो गोरु थियो बाली पुगेको । बूढो हुनाले चराउन लगिँदैनथ्यो त्यो गोरु । हजुरबाले भन्नू भो – “हल अड्काउन भएन । जा, गोठको गोरु लिएर आ । आजको पाप सबै म भोग्छु । पाप त अघिल्लो जन्ममा पनि गरेको रहेछु । त्यसैले यस्तो छोरो जन्माइदिए भगवानले ।”

जिम्माल बाले साँझ बुबालाई धेरै गाली गरे । थुक्क ! भनेको म अझै पनि सम्झिन्छु । खाटमा बसेका बुढा हजुरबाले बर्रर आँसु खसाल्नु भो । पछि बुढा हजुरबाले आमालाई भन्नू भो – “पुण्य गरेकी रहिछस् । तेरो पक्षमा बोल्ने मान्छे रहेछन् । नआत्तिनू । राम लक्ष्मणजस्ता छोरा छन् । तर दुख त परिरहन्छ छोरी मान्छे भएर जन्मिएपछि । नआत्तिनू कत्ति पनि ।”

बूढो गोरु मर्यो । बुढा हजुरबा बितेको पनि धेरै भयो । हामी तीन भाइ भयौं । बुढापाका साँचो बोल्दा रहेछन् । आमालाई दुख परिरहे । पछिपछि पनि आमालाई सान्त्वनाको खाँचो परिरह्यो । तर पछि पछि सान्त्वना दिनेले – राम लक्ष्मणजस्ता छोरा छन् तेरा, नआत्तिनू- भने भनेनन् मलाई थाहा छैन ।

पुराना कुरा हुन् नि । बिर्सिदो रहेछ यसै यसै ।

अल्लि अस्ति त हो । खेतबाट साँझ घाँस ल्याएर गोठमा फालेपछि मजेत्रोले पसिना पुछ्दै आमाले भन्नू भो – ” एउटी छोरी भएको भए  साँझमा आगो बाल्दि हो , हलो न मुङ्ग्रोजस्ता छोरा भएर के गर्नु ।”

आमालाई नजन्मिएकी छोरीको सम्झना आयो । म पनि मनमनै कल्पें – एउटी बहिनी भएको भए जाति नै हुन्थ्यो ।

हिजै हो कि खै दिन त बिर्सें । तर आमाले भनेको कुरा भने याद छ – “फलानाकी बुहारीले घरमा आगो सल्काइछ, भाइभाइले अंशबन्डा गरेछन् । छि ! अचेलका बुहारी ।”

आमालाई सोध्न मन थियो – “आमा, साँझमा अगेनामा आगो बाल्ने छोरीलाई घरमा आगो सल्काउन कसले सिकाउँछ ? ”  तर सबै प्रश्नहरू सोध्नका लागि बनेका हुँदैनन् ।

आगो बाल्नु त आगो बाल्नु नै हो नि । तर यस्तो विरोधाभासपूर्ण कसरी हुन्छ आगो ?
आमालाई सोध्न मन थियो – “आमा, साँझमा अगेनामा आगो बाल्ने छोरीलाई घरमा आगो सल्काउन कसले सिकाउँछ ? ”  तर सबै प्रश्नहरू सोध्नका लागि बनेका हुँदैनन् ।

तर छोरीहरू दुई प्रकारका हुँदा रहेछन् – आगो बाल्ने, आगो सल्काउने ।

सानोमा प्राय केटाकेटी पानीसँग खेल्न रुचाउँछन् । म भने आगोसँग खेल्थेँ रे ! त्यसैले आमाले खाना पकाएपछि सधैँ आगो निभाउनु हुन्थ्यो । सलाई सधैँ आमाकै पटुकामा हुन्थ्यो ।

पेटमा भोकले दनदनी आगो बल्थ्यो – आमा भन्नुहुन्छ । अनि पटुकीमा सलाई लिएर हिँडेपछि पेटमा आगो लागिहाल्छ नि ढाबै – भन्न मन लाग्छ । तर आमाको कुरामा नो मजाक ल !

आगो कहाँ पाइँदैन र ! नजिकैको मन्दिरमा बिहान धुप हाल्ने कोइला बनाउन सधैं आगो बाल्थे । पुजारी घर जाँदा प्राय आगो निभाउँदैनथे । शनिबार सधैं दिनभर आगो लगाएर हिँड्थ्यौँ मेरो साथी र म । जंगलमा गोबरका गुइँठा खोज्थ्यौँ । गुइँठामा आगो लिएर जंगल सखाप पार्थ्यौं । कसैका बाँसघारी बाँकी रहँदैनथे । बाँसघारीमा आगो लागेपछि जब बाँस पड्किन्छन् ठूलो आवाज गरेर, तब मलाई अझै धेरै आनन्द लाग्थ्यो । आँखाका परेला सधैँ खुम्चिएका हुन्थे आगोको रापले ।

छोरीहरू बिस्तारै आगो बाल्नेबाट आगो सल्काउनेसम्म पुग्दारहेछन् । म सानैबाट आगो लगाउनेमा पर्थें । मलाई लाग्छ छोरीहरू आगो बाल्ने ,आगो लगाउने हैन । आगो नै हुनुपर्छ । दियो जलाउन चाहनेले दियो जलाओस्, घर जलाउन चाहनेले घर ।

सानोमा आगो मन पर्थ्यो ।
र मलाई छोरी असाध्यै मन पर्छ अचेल । अझ आमाले – छोरा हलो न मुङ्ग्रो – भनेपछि !

भुँइकै टिप्नमा व्यस्त भइरहेँ म,
थाहा भएन पोल्टाबाट खसिरहेछन्।

… ।
खस्नु त बरु तारा जसरी,
खसे पनि यो पृथ्वीमा खस्न नपरोस्
खसेको देख्नेले झट्ट आफ्नो प्रियकुरा मागोस् ।

हलो न मुङ्ग्रो वाला छोराले शब्द बटुल्ने प्रयास गर्छ अचेल । तर आमालाई थाहा छैन । आमाले दिनभर जंगल डुलेर काँडामा हात घोचाएर एकझोला टिमुर टिपेर ल्याउँनुन्छ । बर्षदिनलाई तरकारीलाई वासना पुग्छ, चियालाई गन्ध पुग्छ । म घरै बस्छु । तर कुन्नि केले मलाई टिमुरको काँडालेभन्दा धेरै घोच्छ । अनि शब्दहरू टिप्न थाल्छु ।

भुँइकै टिप्नमा व्यस्त भइरहेँ म,
थाहा भएन पोल्टाबाट खसिरहेछन्।

… ।
खस्नु त बरु तारा जसरी,
खसे पनि यो पृथ्वीमा खस्न नपरोस्
खसेको देख्नेले झट्ट आफ्नो प्रियकुरा मागोस् ।

प्रिय कुरा ?
उपन्यास ,कथाका पात्र पनि औधि प्रिय हुने रहेछन् कुनै त । समय समयमा म सोचिरहन्छु – ‘अनुराधाको होस आयो होला कि अझै अचेत अवस्थामै छ होला ?’ कोमलमानले – ‘अनुराधा ! म तिमीलाई प्रेम गर्छु ‘ – भन्यो होला कि नाइँ ?

– “मास्साब! छाता लिनोस् !”
– “भो बा भो ! मान्छे पर्खिरहेको !”
–  “बाबू , जीवनमा कविता छरिएर बसेका छन् , देख्न सक्नुपर्छ,टिप्न सक्नु पर्छ । लेख्ने फुर्सत कसलाई ?”

मस्तिष्कमा यी टुक्राहरू कहाँबाट आइरहेछन् ? अहो! त्यो फुच्ची – जो झरीमा  आमासँग घर फर्किदै थिई । ‘औपन्यासिक पात्र : जीवनको पृष्ठभूमिमा’ आइरहन्छन् ।

त्यही फुच्ची हो जसलाई शङ्कर लामिछानेले ऊ बेला भेट्टाए । र मैले त्यही फुच्ची – जसलाई बसको यात्रामा भेट्टाएँ ।

हो म सोचिबस्छु । कल्पना गरिबस्छु । बच्चाहरूलाई स्कुल सकिएर घर फर्किँदा जति रमाइलो लाग्छ ,त्योभन्दा ज्यादा रमाइलो हुन्छ कल्पनाको यात्रा ।

बसको लामो यात्रामा अपरिचित महिलाले मलाई हेरेर आफ्नी सानी छोरीलाई भन्छिन्- ‘एकछिन अंकलको काखमा बस्छ है मेरो ज्ञानी छोरो!’

म झट्ट अपरिचित महिलाको अनुहारमा हेर्छु थोरै हाँसेर । अनि बच्चाको अनुहारमा पनि हेर्छु । यति बेलासम्म मेरा हात अगाडि बढिसकेका थिए बच्चालाई काखमा लिनका निमित्त । ऊ पनि सजिलोसँग मेरो काखमा बस्न तयार हुन्छ ।

बस गुडिरहेको छ । हिँडेको बाटो पछाडि छोडिँदै गइरहेछ । रूखहरू छिटो छिटो दगुरिरहेछन् । घरहरू, घरका ढोका कतै खुल्ला छन् । कतै सटरहरू खुल्ला छन् । पातलो गरेर सडक छेउमा रहेका घरहरू  बसको तीब्र गतिले गर्दा छिटो छिटो देखिदै हराउँदै गरिरहेछन् । छेउका होडिङ बोर्ड पढ्ने कोसिस गरिरहेछु म । …किराना, …नास्ता… म आधा आधा मात्रै पढिरहेछु होडिङ बोर्डमा अरूको परिचय दिन झुन्डिएका बाटुला अक्षरहरू ।

म महिलाको अनुहारमै नहेरिकन सोध्छु – नानी कि बाबू ?
महिलाले म तर्फ फर्किएर जवाफ दिन्छिन् – नानी हो । सायद हलुकासँग हाँसिरहेकी पनि छन् होला । मैले उनको अनुहारमा हेरिरहेको छैन । नानी र बाबू छुट्याउन नसकेकोमा उनी हाँसिरहेकी छन् होला ।

नानी भन्ने सुनेपछि मेरो कण्ठमा केही थान वर्णहरू- मानौं कि ती शब्द मलाई मुखाग्र शब्द हुन् – हतार हतार आएर लाइनमा लागेर बस्छन् , यानिकि म ती शब्दलाई पालैपालो उच्चारण गरूँ – ‘अनि किन अघि मेरो ज्ञानी छोरो भन्नुभा त? ज्ञानी छोरी भन्नू पर्दैन ?’

तर मैले ती शब्दहरू उच्चारण गरिनँ । केही शब्दहरू निराश भएर आआफ्नो बाटो लागे । केही शब्द भनें अझै उच्चारण गरी पो हाल्छ कि भन्ने झिनो आशमा कण्ठकै छेउछाउमा थिए ।

बाबू कि नानी ? भनेर सोध्दा ती महिला हाँसेको अनुभव भैरहेथ्यो मलाई । तर मैले उनको अनुहारमा हेरेको थिएन । कसैको अनभिज्ञतामा हाँस्नु खासै उचित हैन ।

मलाई थाहा थियोे मेरो काखको बच्चा नानी हो भन्ने ।.. ज्ञानी छोरो – यो शब्दले मलाई बिझाइरहेको थियोे । त्यसैले मैले यो प्रश्न राखेको थिएँ – बाबू कि नानी ?

कुन्नि किन मलाई छोरीलाई छोरो भनेर बोलाएको मनै पर्दैन । सानोमा छोरो भनेर बोलाउनेहरूले नै पछि गएर भन्छन् – ‘तँलाई म छोरो जसरी हुर्काएकी थिएँ ।’

छोरा र छोरीको हुर्काइ पनि फरक फरक हुन्छ र ? मायामा पनि विभेद गरिदिने ?

खैर!
त्यसपछि लामो समय सम्म बच्ची मसँगै बस्छे। कुरमुरेको आधा टुक्रा मलाई दिन्छे कति बेला । कति बेला मेरो टुप्पी समातेर भन्छे- ‘मम्माको जत्तै नामो कपाल !’

अंकललाई गाह्रो भो, आऊ यता – भन्दा पनि ऊ आफ्नी आमासँग जान्न । ऊसँग जम्माजम्मी दुई तीन सय शब्द होलान् । उसले जानेका थोरै शब्दका टुक्राहरू अफ्ठेरो गरेर जम्मा गर्छे , एउटा सजिलो वाक्य बनाउँछे र मसँग कुरा गर्छे ।

आफ्नो रित्तो झोला भारी लागेर माथि राख्ने म, दिनभर बच्चीलाई काखमा लिइरहन्छु । बाटो छेउका रुखहरू हिँड्दाहिँड्दै हामी टाढा पुगिसक्छौं । मेरो गन्तव्य आउनुभन्दा केही अगाडि आमा छोरी बसबाट ओर्लिन्छन् ।

‘अंकललाई पनि हाम्मो घर लाने’ – बसबाट झर्ने बेलामा बच्चीले मेरो टिसर्ट समातेर झगडा गर्छे । आफ्नो कुरालाई बलियो बनाउने ऊसँग कति सजिलो उपाय छ । ऊ रोइदिन्छे । उसकी आमालाई अफ्ठेरो पर्छ । भन्छे – ‘भोलि आउने रे घरमा अंकल । नानीलाई मिठी ल्याइदिनु है।’

फकाएर छोरीलाई लैजान्छे । आमाको हात समातेर मतर्फ फर्किदै भन्छे ऊ – ‘भोलि आनु है हाम्मो घर।’ म – हुन्छ,आउँछु -को भावमा टाउको हल्लाउँछु ।

हुन त यात्रा गरिरहँदा यस्ता घटना सधैं भैरहन्छन् । मलाई कसैले अंकल सम्बोधन गरेको उस्तो निको लाग्दैन । जब कसैले बच्चा समात्न दिएर भन्छ – अंकलसँग बस है एकछिन । तब मलाई अंकल शब्द आफैमा आनन्द दायक लाग्छ । जादु लाग्छ ।

*****
आजभोलि सधैंजसो बाटोमा हिँड्दा मेरो हातको कान्छी औँला समातेर एकजोर कलिला पाइतला मसँगै हिँडेजस्तो लाग्छ । म हिँडिरहँदा बाटोमा टक्क अडिएर अकस्मात कसैलाई खोज्छु आफ्नै छेउछाउमा ।

मलाई अचेल मेरी नजन्मिएकी छोरीको लगातार याद आउँछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु