Information is intelligence
HomeInternationalयस्ताे ताल , जहाँ मानिसका अस्थिपञ्जर मात्र भेटिन्छन्

यस्ताे ताल , जहाँ मानिसका अस्थिपञ्जर मात्र भेटिन्छन्

- Advertisement -spot_img

भारतीय हिमालयस्थित एउटा हिमाली उपत्यकामा रहेको विकट तालमा सयौँ मानव अस्थितपञ्जर छरिएका छन्।

उत्तराखण्ड राज्यस्थित भारतको एउटा अग्लो हिमाल त्रिशूलको चुचुरोको ठाडो भिरालोमा रहेको रूपकुण्ड समुद्र सतहबाट ५०२९ मिटर उचाइमा छ।

‘अस्थिपञ्जरको ताल’मा मानव अवशेषहरू छरिएको र हिउँमा दबेको कुरा सन् १९४२ मा एउटा ब्रिटिस रेन्जरको गस्तीले पत्ता लगाएको हो।

वर्षको अधिकांश समय हिउँ जमिरहने उक्त तालको आकार मौसमअनुसार घट्ने र बढ्ने हुन्छ। हिउँ पग्लिएका बेला अस्थिपञ्जर देखिन्छन्। कहिलेकाहीँ त त्यसमा मासु टाँसिएको र सग्लै रहेको देखिन्छ।

अहिलेसम्म त्यहाँ ६०० देखि ८०० जना मानिसको शरीरको अवशेष फेला परेको अनुमान छ।

पर्यटन प्रवर्द्धनका निम्ति स्थानीय सरकारले त्यसलाई ‘रहस्यपूर्ण ताल’ भन्ने गरेको छ।

आधा शताब्दीभन्दा लामो समयदेखि मानवशास्त्री र वैज्ञानिकहरूले अवशेषको अध्ययन गरेका छन् तर गुत्थी सुल्झिएको छैन।

ती मानिस को हुन्? कहिले मृत्यु भयो? ती कहाँबाट त्यहाँ पुगेका थिए?

त्यससँग एउटा पुरानो कथा जोडिन्छ जसमा भारतीय राजा, उनकी पत्नी र सेवकहरू करिब ८७० वर्षअघि हिउँको सिरेटोको सिकार भएका थिए।

अर्को कथा पनि छ, केही मानव अवशेष सन् १८४१ मा तिब्बत कब्जा गर्न गएका भारतीय सुरक्षाकर्मीहरूको हो जसलाई परास्त गरेर भगाइएको थियो।

उक्त भनाइअनुसार ७० भन्दा धेरै सुरक्षाकर्मी हिमालयको बाटो हुँदै घर फर्किन बाध्य बनाइए र बाटोमै उनीहरूको मृत्यु भएको थियो।

एउटा अर्को मान्यताअनुसार त्यो एउटा अन्तिम संस्कार गर्ने स्थल पनि हुनसक्छ जहाँ महामारीका पीडितहरूको अन्तिम संस्कार गरिएको होस्।

त्यस क्षेत्रमा पर्ने गाउँहरूमा चर्चित एउटा लोकगीतमा भगवती नन्दादेवीले फलाम जत्तिकै कडा आँधीको सृष्टि गरिन् जसले गर्दा ती मानिस त्यहीँ पुरिए।

भारतको दोस्रो अग्लो हिमाल नन्दादेवीलाई भगवतीको रूपमा श्रद्धा गरिन्छ।

अस्थिपञ्जरबारे यसअघिका अध्ययनहरूले मारिएका अधिकांश मानिसहरू ‘औसत संरचनाभन्दा’ अग्ला रहेको पत्ता लगाएका छन्।

धेरैजसो ३५ देखि ४० वर्षका रहेको एवम् शिशु र बालबालिका नरहेको पत्ता लगाइएको छ। केही पाको उमेरका महिला थिए जो सबैको स्वास्थ्य सामान्यता राम्रो थियो। साथै त्यो अवशेष नवौँ शताब्दीमा कुनै महाविपत्तिमा परेर ज्यान गुमाएका एउटै समूहका मानिसको भएको आम मान्यता पनि पाइन्छ। भारत, अमेरिका र जर्मनीका १६ वटा संस्थाका २८ जना सहअध्येताहरू संलग्न पछिल्लो पाँच वर्ष लामो अध्ययनले ती अनुमानहरू सत्य नहुन सक्ने उल्लेख गरेको छ। वैज्ञानिकहरूले जेनेटिक विश्लेषण र कार्बन डेटेड विधिबाट १५ जना महिलासहित ३८ वटा मानव अवशेषको अध्ययन गरेका थिए जसमा केही १,२०० सय वर्षअघिका थिए।जसअनुसार मृतकहरू वंशाणुगत रूपमा फरक-फरक छन् र मृत्यु पनि एक हजार वर्षसम्मको अन्तरमा भएको छ।

“यसले एउटै प्रलयका कारण सबैको मृत्यु भएको मान्यताको खण्डन गरेको छ,” अध्ययनको नेतृत्व गरेकी हार्वर्ड विश्वविश्वविद्यालयमा विद्यावारिधिकी विद्यार्थी एडाओइन हार्नी भन्छिन्।

“रूपकुण्डमा के भएको थियो भन्ने अझै अस्पष्ट छ तर एउटा घटनामा सबैको मृत्यु भएको थियो भनेर व्याख्या गर्न नसकिने निष्कर्षमा अब हामी निश्चिन्त भएका छौँ।”

बिबसी  नेपालीबाट साभार गरिएकाे याे लेख बिबिसीका भारतीय संवाददाता सौतिक विस्वासले लेखेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु