Information is intelligence
HomeLiteratureबालश्रमः अवस्था र व्यवस्था

बालश्रमः अवस्था र व्यवस्था

- Advertisement -spot_img

बालबालिका

           १६ वर्षभन्दा मुनिका कुनैपनि व्यक्ति बालबालिका हुन् । उनीहरू सहि , गलत छुट्टयाउन सक्दैनन् । कसैको नराम्रो सोच्दैनन्। चञ्चल स्वभाव , सोझोपना , रमाइलो मिजास , आफू हाँस्ने र अरूलाइ पनि हँसाउने , नयाँ खोजको लागि गर्ने बदमासी बालबालिकाका पहिचान हुन् । सामान्यतः उनीहरूमा सकारात्मक सोचमात्र हुन्छ । बालबालिका इश्वरका देन हुन् । बालबालिकालाई उर्जाशील सामाजिक प्राणी मानिन्छ ।  

बालापन

बालापन एकदमै रमाइलो अनि अविस्मरणीय पल हो । बालापनमा न कुनै कुराको समस्या हुन्छ, न त काँधमा जिम्मेवारी नै । यो त नितान्त पवित्र छ , चोखो छ । बालबालिका भाेलीका भविष्य हुन् । भाेलीका उज्यालाे हुन् । समाज , राष्ट्र र समग्र विश्वलाई नै प्रतिनिधित्व गर्नसक्ने पात्र हुन् बालबालिका ।

काँचाे माटाेसँग तुलना गरिने बालबालिका के साँच्चिकै खाली कागजमा सुन्दर भविष्य नै काेरिरहेका छन् त ? के काँचाे माटाेकाे प्रयाेग गरी सुन्दर घैँटाे नै बनाइरहेकाे छ त समाज ? पक्कै छैन , आज समाजमा एउटा अबाेध बालक गाडीकाे सहचालक भएकाे देख्न सकिन्छ । इँट्टाभट्टामा इँट्टा बाेकिरहेकाे देख्न सकिन्छ । अरूकाे घरमा काम गरिरहेकाे देख्न सकिन्छ । बालापनकाे विशेषणसँग कहिँकतै मेल नखाने यस्ता दृश्यहरू समाजमा सजिलै देख्न पाइन्छ । सुन्न पाइन्छ ।

बालश्रम

          विश्वमा हाल झन्डै १५२ मिलियन बालबालिकाहरू बालश्रमको सिकार भइरहेका छन् । घरायसी काम , मजदूरीदेखि लिएर अनैतिक काममासमेत बालबालिकाको प्रयोग भइरहेको छ । केही बालबालिकाहरू गरिबीको कारणले श्रम गरिरहेका छन् भने केही अरूको करकापमा,  शोषणमा परेर काम गरिरहेका छन् ।

१८ वर्षमुनिका बालबालिकालाई काम लगाउनु अपराध हो । यसलाई विश्वभरि नै कानुन विपरित मानिन्छ । बालबालिकालाई शारिरीक , मानसिक र सामाजिक परिश्रम गराउनु पनि बालश्रम नै मानिन्छ ।

सन् १९३८ मा बालश्रमलाई अनैतिक कार्य घोषणा गरेतापनि यो कार्य अहिलेसम्म प्रचलित छ । विकासशील मुलुकहरूमा बालश्रमको अत्याधिक प्रयोग भएको  पाइन्छ । अरूलाई भन्दा बालबालिकालाई कम ज्यालामा धेरै मजदूरी गराउन पाइने भएकाले युवाहरूभन्दा उनीहरू नै धेरै प्रयोग हुन्छन् । विशेषगरि  आर्थिक हिसाबले कमजाेर, निमुखा , समाजबाट पिछडिएको परिवारका बच्चालाई बालश्रम गराइन्छ। बालश्रम एक अबोध बालकको रमाइलो बालापन खोस्ने धारिलो हतियार हो ।

बालश्रम मानव अधिकारकाे हनन मात्र नभै सामाजिक अपराध एवम् मानव सभ्यताकाे अभिशाप पनि हाे  । बालश्रमको अभ्यास रहेसम्म त्यस्ताे समाजलाई सभ्य, विकसित र  आधुनिक मान्न
सकिँदैन । बालश्रमले बालबालिकाको बालापन सम्बन्धी माैलिक अधिकार हनन मात्र गर्दैन
उनीहरुको भविष्यसमेत अन्धकारतिर धकेल्छ ।बालश्रम श्रमको शोषणका साथै राष्ट्रकाे कर्णधारका रूपमा रहेका बालबालिकाकाे प्रतिभालाई कुण्ठित पार्ने कुसँस्कार पनि हाे । (बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरूयाेजना २०७५-८५)

                  शक्तिशाली  राज्यका रूपमा मानिने अमेरिकामा पनि बालश्रमको प्रयोग हुन्छ । कृषि क्षेत्रमा, कलकारखानामा बालबालिकाको धेरै मात्रामा प्रयोग हुन्छ । बालश्रम अनैतिक भएपनि अमेरिकामा यसकाे प्रयोग गरिँदै आएकाे पाइन्छ । अमेरिकामा १४ वर्षभन्दा मुनिका बालबालिकालाई काममा लगाउनु गैरकानुनी हो । तर, ७ देखि १० वर्षका बालबालिकाहरूले श्रम गरिरहेकाे पाइन्छ ।

यस्तै छिमेकी राष्ट्र भारतमा पनि अत्याधिक बालश्रम भएको पाइन्छ । भारतमा करिब १२.९ मिलियन बालबालिकाहरू श्रमबाट शोषित भैरहेका छन् । तीमध्ये ७ देखि १७ वर्षसम्मका बालबालिकाहरू बालश्रमका शिकार भैरहेका छन् ।

          चीनमा भने बालश्रम भएकाे तथ्यांक पाइँदैन । कडा शाासन र कानुनका कारण चीनमा बालबालिकाहरुले आफ्नो हक र अधिकार पाएका छन् ।

         नेपालको सन्दर्भमा बालश्रमको अत्याधिक मात्रामा प्रयोग भएको पाइन्छ । घरायसी काममा , सवारी साधनमा , कलकारखानामा , कार्यलयमा , होटलमा , पसलमा; हरेक ठाउँमा कामको लागि बालबालिकाको प्रयोग भएको पाइन्छ ।

धेरैजसो सवारी साधनको सहचालकमा , होटलतिर बालश्रम भैरहेको छ । वर्तमान स्थितिमा बालश्रम अनैतिक कार्यमा पनि प्रयोग भएको छ । मुख्यत बालिकाहरू अनैतिक कार्यको शिकार भैरहेका छन् । बालश्रमको नाममा धेरै बालबालिकाहरू बेचिएका छन् । कैयाैँ बालबालिकाले अकालमै ज्यान गुमाउनु परेको छ ।

बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ मा बालबालिकाको हक , अधिकार , स्याहार सुसारको बारेमा प्रष्ट व्यवस्था गरिएकाे छ । तर ती हक , अधिकारहरू अक्षरमा मात्र सिमित भएका छन् ।

      बालबालिका सम्बन्धी ऐन, २०७५का अनुसार बालबालिकालाई मानसिक , शारिरिक यातना दिएमा दश वर्षसम्मको जेल सजाय र थाेरैमा दश हजार जरिवाना हुने लेखिएको छ ।

ऐनमा दश वर्षसम्मको जेल सजाय भएतापनि हालसम्म तीन वर्षभन्दा धेरै सजाय भएको पाइँदैन । देशको कानुन फितलो भएकाले अपराधीहरू झन् धेरै सक्रिय भैरहेका छन् भने बालबालिकाहरू झन् धेरै समस्या र जालझेलमा परेका छन् । संविधान र कानुन  कमजोर भएर आज आफ्नै घरमा बालबालिकाहरू सुरक्षित छैनन् ।

कानुन पालना गराउने निकायहरू सजायभन्दा मेलमिलापमा बढी जाेड दिन्छन् । सामाजिक संरचना बिग्रिने , इज्जत , मानप्रतिष्ठामा आँच आउने अवस्थामा सम्बन्धित निकायहरू नै चुक्ने गर्छन् । अपराधीकाे सामाजिक प्रतिष्ठासँग अबाेध बालककाे भविष्य नै साट्न तयार देखिन्छन् निकायहरू । नेपालमा कानुनकाे फितलाे प्रयाेग नै सबैभन्दा ठूलाे समस्या हाे । पद र पैसाकाे प्रभावमा न्यायालयकाे समेत बेलाबेला नाम जाेडिने गर्छ भने अन्य निकायहरू त बारम्बार प्रश्नकाे घेरामा परिरहेका छन् ।

निष्कर्ष

कुनैपनि देशमा बन्ने नियम र कानूनले मात्र बालश्रम राेक्न सकिन्न । कानुनकाे परिपालना गर्ने निकाय र समग्र सरकारले नै कडाइका साथ कानुन परिपालना गराउनुपर्छ । दण्डहिनताकाे कमी र आपराधिक मनाेवृत्तिमा जाेड हुन नदिएमा साथै राज्यले सम्पूर्ण व्यक्ति तथा नागरिकहरूकाे हेरचाह गर्न सकेमा बालश्रम निर्मूल पार्न सकिन्छ ।

माैलिक हक तथा अधिकार, मानव अधिकार र अन्य अन्तराष्ट्रिय सन्धि तथा सम्झाैताहरूकाे पूर्ण पालना गरी मुलुक तथा समग्र विश्वलाई नै बालश्रम मुक्त घाेषणा गर्न सकिन्छ । त्यसतर्फ अन्तराष्ट्रिय समुदायमा नेपाल सरकारले पहल गराेस । बालश्रम मुक्त विश्व घाेषणा हाेस् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु