Information is intelligence
HomeTourismआलेख: सामुदायिक पर्यटनको उदाहरण ‘खोपारा–खयर भारानी’

आलेख: सामुदायिक पर्यटनको उदाहरण ‘खोपारा–खयर भारानी’

- Advertisement -spot_img

बेनी | एकै ठाउँमा गुजमुज्ज मिलेको पाउद्वार गाउँ । गाउँको शिरमा छ जङ्गल र पहाड । जहाँ अन्नपूर्ण गाउँपालिका–५ वडामा पर्ने पाउद्वार गाउँका बाक्लै गोठ थिए । तल्लो भागमा गाईगोठ, खोपारा (खोप्रा) डाँडासम्म भैंसीगोठ र त्यहाँदेखि माथि भेडाबाख्राका गोठ बस्थे । अहिले भने समय फेरिएको छ । केही दशक अघिसम्म गोठ बस्ने पाखा र डाँडामा यतिबेला पर्यटक बस्न थालेका छन् । चौफेरै हिमाल देख्न सकिने खोपारा पछिल्लो समय उत्कृष्ट र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भइसकेको छ ।

पउद्वारदेखि खोपारा हुँदै साउथ अन्नपूर्ण हिमालको फेदीमा रहेको खयर भारानी तालसम्मको क्षेत्रलाई समेटेर समुदायकै अगुवाइमा उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको हो । अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाका हिमालहरु, गुराँसे जङ्गल, हिमालको काखमा रहेको खयर तालको अवलोकनका लागि पाउद्वार–खोपारा– खयर भारानी रुट तयार गरिएको हो । बेलायती सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट राजु पुनको अगुवाइमा देश विदेशमा रहेका स्थानीयवासी र सहयोगदातामार्फत रु एक करोड ६० लाख रकम सङ्कलन गरी यो क्षेत्रमा भारानी थान, पदमार्ग, चौतारा, आवास, शौचालयलगायत पर्यटन पूर्वाधार निर्माण गरिएको हो ।

“यो सबै हाम्रा बाजे, पुर्खाहरुको गोठ आउने थलो हो, सानो छँदा हामी पनि गाई, भैँसी र भेडा लिएर यहाँ आउँथ्यौँ’ अहिले माथिल्लो भेगमा भेडा र चौँरीगोठ छन्, ती पनि अब पर्यटकका आकर्षण भएका छन्”, यस क्षेत्रको पर्यटन अभियन्ता पुनले खोपारा डाँडाको वर्णन गर्नुहुन्छ । अहिले भने उनले भनेजस्तै खोपारा र खयर क्षेत्र किसान गोठालो जाने लेकमा सीमित छैन । यहाँको परिचय नै फेरिएको छ । अग्लो डाँडाबाट आँखै अगाडि हिमाल देख्न सकिने जैविक विविधतायुक्त यो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यमा परिणत भएको छ ।

“विसं २०२१ मा म पनि भैँसीगोठमा बसेको हुँ, त्यतिबेला ८०–९० वटा गोठ हुन्थे, अग्लो डाँडामा गोठमा बस्दा निकै रमाइलो लाग्थ्योे, दुःख पनि हुन्थ्यो, पछि लामो समय प्रवासमा बसेँ, यहाँको हरेक डाँडाकाँडामा गोठाला मात्रै होइन, पर्यटक पनि उकाल्न सकिन्छ भन्ने लाग्यो र पर्यटन पूर्वाधार बनाउन कस्सिएका हौँ”, पुनले भने। ‘पहाडकी रानी’ जस्तै सुन्दर ठाउँ खोपारा–खयरभारानी क्षेत्रको पर्यटन विकासको लक्ष्य लिएर २०६९ सालदेखि पुनले पूर्वाधार निर्माणको अगुवाई गरेका थिए । यो एक दशकमा समुदायकै सक्रियतामा नमुना पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने गरी पूर्वाधार निर्माणले सार्थकता पाएको छ ।

पहिलो वर्षको असार सम्ममा रु ३२ लाख सहयोग जुटेपछि खयरभारानी थान तथा क्षेत्र संरक्षण कोष स्थापना गरी सहयोग सङ्कलन र पूर्वाधार निर्माण कार्यसँगसँगै अघि बढेको कोषका संयोजकसमेत रहेका अभियन्ता पुनले बताए। कोषमा स्वदेश तथा विदेशमा रहेका पाउद्वारवासी, छिमेकी गाउँका प्रवासीले उल्लेख्य रुपमा सहयोग गरेका छन् । दश वर्षको अवधिमा पाउद्वारादेखि खोपारा हुँदै खयर पुग्ने जङ्गल, भिर र अप्ठ्यारो ठाउँमा ढुङ्गाको सिँढी बनाएर पदमार्ग बनाइएको कोषका अध्यक्ष भीमबहादुर तिलिजा पुनले बताए । “पहिले सामान्य ओहोरदोहोर गर्ने डोरो थियो, पानी पर्दा चिप्लिएर लड्ने समस्या थियो, अहिले हिँड्नका लागि कुनै अप्ठ्यारो ठाउँ छैन, पदमार्गको ठाउँठाउँमा विश्राम लिने चौतारा बनाएका छौँ”, उनले भने ।  पाउद्वारका स्थानीयवासीले दिवङ्गत आफन्तको स्मृति र परिवारको हर्षबढाइँ र सफल कार्यको उपलक्ष्यमा ‘सम्झना र कामना’को धार्मिक भावले पदमार्ग बनाउने अभियानमा सहकार्य गरेका छन् ।

पदमार्गअन्तर्गत पर्यटकलाई खान र बस्नका लागि खोपारामा लज र होटेल सञ्चालनमा  छन् । खोपाराबाट अर्को दिनको बास बस्न खयरखोलामा होटेल सुविधा नभएकाले कोषमार्फत नै पाहुना बस्ने अस्थायी प्लास्टिक घर, शौचालय, आश्रयस्थल र खयर ताल परिसरमा आश्रयस्थल बनाएको पुनले बताए । खयर तालमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वासले जनैपूर्णिमाको अवसरमा विशेष पूजा हुँदै आएको छ । अन्य समयमा समेत यहाँ आन्तरिक पर्यटकहरु जान थालेका छन् । “आश्रयस्थल नहुँदा भेडीगोठमा बास बस्नुपथ्र्यो, ठूलो सङ्ख्यामा मानिस आउँदा त गोठको क्षमताले नभ्याउने भएकाले बाहिर नै उभिएर बस्नुपथ्र्यो, अहिले त्यो समस्या हटेको छ”, कोषका अध्यक्ष पुनले भने । पदमार्गअन्तर्गत खोपारा र खयरखोलामा खानेपानीको समेत बन्दोबस्त मिलाइएको छ । स्थानीयवासीले थालेको पर्यटन पूर्वाधार निर्माण अभियानअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र गाउँपालिकाले समेत सघाएका छन् ।

गाउँपालिकाले दुई चरणमा गरी विनियोजन गरेको रु १३ लाख बजेटबाट पदमार्ग निर्माण गरिएको कोषका अध्यक्ष पुनले बताए। यस वर्ष पर्यटन बोर्डबाट रु २० लाख बजेट विनियोजन भएकाले उक्त बजेटलाई खोपारामा पर्यटक आवासगृह बनाउने कार्यमा परिचालन गरिने तयारी गरिएको कोषले जनाएको छ ।रासस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु