Information is intelligence
HomeLiteratureगढदेखि घाटसम्म

गढदेखि घाटसम्म

- Advertisement -spot_img

मलाई अल्छी लाग्छ। अल्छी लाग्नु हामी अल्छीहरूका निमित्त ठूलो समस्याका रुपमा देखा परेको छ। अल्छीहरूलाई थप सहयोग होस् भन्ने धारणाले चतुर्श्लोकी रामायणजस्तो दुईवाक्य लेखाशय यहीँनिर छोड्दछु –

“एउटा दिनको पछिल्लो उमेरमा म नारायणगढ बजार निस्कन्छु र नारायणी किनार पुग्छु,मेला घुम्छु दिनेशसँग र रात बाक्लो नभइसक्दै म फेरि देवघाट फर्किन्छु।”


समयले खडा गरेको बूढो पालेजस्तो  निरन्तर आउने जानेलाई हेरिरहेको । एउटा बूढो बकुल्लाजस्तो नदीछेउमा उभिएको ।सुसाइरहेको नदीको चर्को अशान्तिपनलाई देखेर आफूले आजसम्म शान्त बनाउन नसकेकोमा खेद गरिरहेझैँ ,साँझको पहेँलो घामले पहेँलोपनलाई अझ गाढा बनाउँदा जन्डिसले खुब ग्रस्त छ कि झैँ,माध्यमिक योगाचार सौत्त्रान्तिक र वैभाषिक चारै जनालाई पढाउने समय भैसक्दा पनि नआएकाले यस्तै केही सोचेर बसिरहेजस्ता,हरेक क्यामेराले आँखा झिम्क्याउँदा पनि वास्ता नगरेजस्तो,नयाँ पोज दिन कहिल्यै नजान्ने मान्छेजस्तो सधैँ एउटै पोजमा फोटा खिचाइरहेको,राम्रा राम्रा जोडा देख्दा आफ्नो एक्लोपनलाई उपेक्षा गरिरहेको,रानी पोखरीमा बल्छी थापेर उभिएको घन्टाघरजस्तो झोक्राएको तर समयलाई बेवास्ता गरिरहेको नारायणी किनारको बुद्धको मूर्ति अगाडि एकछिन म उभिएपछि दिनेश आइपुग्छ।

केही पाइला हिंडेर घुमन्तेहरुका पाइतलाले टेकिँदा आफ्नो हरियोपन गुमाएका दुबोहरूको सुकेको रङ्गलाई ग्रहण गरेको एकचोक्टा जमिनमाथि हामी बस्छौँ।चोकमा किनेको एक पोलिथिन बदाम फोक्दा नफोक्दै कसैले एकअर्काका हात समातेका,कोही हात समात्ने आँट नपुगेर आफ्नो साहसमा शंका गरिरहेका,कोही दीर्घ हाँसो हाँसेर यताउताको नजर तान्न सफल भएका धेरै जोडाहरु हाम्रो आँखाबाट ओझेल पर्छन्।लगत्तै एक समूह युवती कलेजको ड्रेसमा माथिबाट लामालामा छाँयालाई एउटा वजनहिन सामान तानेजस्तो अनायास तान्दै ,सानो सानो आवाजमा हाम्रो केही अगाडि आइपुग्छन्।दिनेशले सुनिदो आवाज निकालेर भन्छ- यतामाथि नदी किनारमा कता रहेछ कलेज ? सबै उतैबाट ड्रेसमा आइरहेछन् त!

केही थान कलेज ड्रेस हाँस्दै आँखाबाट टाढा पुग्छन्।नदीको पल्लो किनारामा महोत्सव चलिरहेछ।चर्को चर्को आवाज गरेर नारायणी किनार सजीव बनेको छ।

धेरै दिन भैसक्यो महोत्सव लागेको तर म अझै गएको छैन। दिनेश धेरै पटक गइसक्यो।दिदीहरू पनि गइसकेछन्।मलाई नमज्जा लागेर आयो।कसैले – हिंड् जाम्- सम्म पनि भनेनन्।म भित्रभित्र अर्कै कोही नभएजस्तो महसुस गरेर बस्छु।

घाम रातो  अनुहार बनाएर नारायणी पुलमुनि डुब्नै आँट्यो । एकछिनमा डुब्यो पनि । म हेरिबसेँ। मलाई  लाग्यो- अस्ताउन बहुत सजिलो छ। यहीँ नारायणी पुलमुनि अस्ताउन सकिँदो रहेछ। उदाउनका लागि त यस्ता नारायणीपुल हजार तर्नु पर्छ होला। तर म त मैन न हुँ। कसैलाई अँध्यारो भए म उदाउन सक्छु। कसैलाई निद्रा लागे म अस्ताउन पनि सक्छु। नभए म रातभर उदाइरहन सक्छु,कोही रातभर निदाइरहन पनि सक्छ।

मैले आवाज निकालेर घाम निभेको भागतिर हेरेर भन्छु- साथीहरूले चितवन नवलपरासी लगायतका जिल्लाका सबै युवतीलाई महोत्सव घुमाएर आधा जति त आइमाइलाई पनि महोत्सव घुमाइसके। तर मलाई – हिंड् जाम्- सम्म पनि भनेनन्। साँच्चिकै एक्लो छु यार म!

नारायणी पुलमुनि पछि अब घाम अस्ताउने पालो दिनेशको अनुहारमा थियो।दिनेशको अनुहारमा घाम अस्ताउँछ।मलाई हेरिरहन्छ एकछिन् र भन्छ- “हिँड् ,महोत्सव जाम्। यो उमेरमा पनि महोत्सव जान म नै चाहिनु पर्ने तँलाई। साच्चिकै एक्लो रैछस् तँ।”

चारजोर जति खुट्टाहरू बाटोमा हिंडिरहेका तमाम खुट्टाहरूलाई बाटो दिँदै आफूले पनि बाटो ग्रहण गर्दै नारायणी पुलमाथि पुगिसक्छन्।नारायणी एउटा डर लाग्दो आवाज गरेर छिटोछिटो बग्नमा आतुर देखिन्छ।मैले दिनेशलाई जिस्क्याउने उद्देश्य राखेर भन्छु- तँलाई कस्तो कस्तो लागेको छैन?

  • किन ?
  • सधैं केटीसँग हिँड्ने गरेको तँ।आज मसँग हिँड्दा नि।
    ऊ रिसाउन सक्दैन किनकि ऊ मेरो साथी दिनेश हो। ऊ नरिसाइरहन पनि सक्दैन ,ऊ पनि मान्छे हो।सायद ऊ आफूलाई कुनै द्वन्द्वमा राखिरहेछ। यो समयमा उसले हरेक शब्द अड्कलेर मात्रै बोल्नु पर्नेछ। म उसका हर कुनै शब्द टिपेर होच्याउन सक्छु,हर कुनै शब्दलाई बेवास्ता गरिदिन सक्छु।

भारी ट्रकको आगमनले पुल एक झोक्का हल्लिँँदै चितवनतिर क्रमशः हल्लिँदै जान्छ।हामी नवलपरासीको जमिनमा टेकिसक्छौँ यतिबेला।रोडबाट थोरै ओरालो सिँढीहरू खोज्दै पैतला तलतल जान्छन्। भिडले कुल्चेर बाटोलाई अभ्यस्त बनाइरहेको छ। साँझ राम्रोसँग पर्न चाहन्छ। बिस्तारै अँध्यारो बाक्लिदै जानखोज्छ। जसलाई कसैले रोक्न सक्दैन र छिटो छिटो जान्छ। सायद जान्छ र मान्छेहरू रोक्न खोज्दैनन्। महोत्सवको प्रवेशद्वार नजिकै पुगिसक्छन् हाम्रा खुट्टा र टक्क उभिन्छन्।दिनेशले अगाडि फर्किएकै अवस्थामा टाउको पछाडि घुमाउँछ ,हेर्छ र गएर टिकट लिएर आउँछ।भित्र जानेहरूको भन्दा बहुत धेरै भिड छ बाहिरिनेहरूको।

टिकट लिइसकेपछि द्वारमा पुग्छौँ हामी।जहाँ हजार टिकटहरू च्यातिएर जमिनको छातीमा लटरम्म फलेजस्ता देखिएका छन्।नारायणी किनारबाट आइरहेको सानो हावाको गतिले एउटा टिकटको आधा टुक्रा उडाएर अलिक पर लैजान्छ जहाँ पहिलेदेखि नै अर्को आधा टुक्रा रहेको छ।हावाले त्यही टुक्रानिर पुराएर आधा टुक्रालाई छोडिदिन्छ। खै! कुन्नि कस्तो एउटा चित्र कोरिन्छ त्यहाँनिर म अर्थ बुझ्नसक्दिनँ। टिकटको टुक्रा उडाउने हावाले चिसोपन मेरो हृदयमा लगेर छोडिदिन्छ।दिनेशले – छ‍ोरो आइजा- भनिसकेपछि झस्किन्छु। ऊ भित्र छिरिसकेछ। उसको हातको टिकट द्वारमा उभिएको व्यक्तिले च्यातिसकेछ। म अलिक छिटो हिँडेर उसलाई भेट्टाउँछु। महोत्सवका स्टलहरू सुरु हुन्छन्। एउटा कपडाको पसल अगाडि उभिरहेकी युवतीलाई सोध्छ दिनेशले- महोत्सव लागेको कहाँ हो नि? युवती हाँस्छे।हामी पनि हाँस्दै अगाडि बढ्छौँ।

मन नलागेरै प्रत्येक स्टल अगाडिबाट हाम्रा पाइतला हिँड्छन्।एउटा पट्यारलाग्दो फेरो बाटो घुमेर हामी मञ्च अगाडि पुग्छौँ। शिव परियारले मञ्चबाट -हातमाथि- भनिरहेका छन्,अगाडि नाचिरहेका आवालवृद्धवनिताले हात  माथि पुराएर अझ स्वादमा बेपत्ताले नाचिरहेछन्। मनोरञ्जनका सामान बन्द भैसकेछन्। सायद बन्द नभएको हुन्थे भने म दिनेशलाई देखाउथेँ – चर्खेपिङजस्तो तेजले घुमिरहेको समयलाई ,समयले हरेक मान्छेलाई माथि पुराएर उस्तै गतिमा तल झारेको कुरा,मुटु हातमा समातेर गरेका जिन्दगीका यात्रा। ब्रेकडान्स चलिरहेको हुन्थ्यो भनें भन्नेथिएँ-  जीवन कता जान्छ ,कता घुम्छ थाहा हुँदैन,जिन्दगीले कहाँ पुराउँछ ,समयको छालले कुन बगरमा हुत्याइदिन्छ भनेर।थ्रिसिक्टी गेम चलिरहेको हुन्थ्यो भने बुझाइदिने थिएँ-
माथि पुराएर कसरी तल फर्काएर कहालिलाग्दो अवस्थामा छोड्छन् आफ्नाले! मिक्किमाउस खेलिरहेका हुन्थे भने बच्चाहरू म भन्ने थिएँ,उसलाई बुझाउने थिएँ- कोही कसरी उफ्रिरहेछ मुटुमा। र अन्त्यमा भन्नेथिएँ- जिन्दगी गेम हो। हारजितको पाटो एकातिर ,मनोरञ्जनको पाटो एकातिर।तर यसका लागि साहस जरुरी छ।

त,
कति साहस हुन्छ मान्छेमा है। ममा भने एक टुक्रा साहस पनि रहेनछ। एकबर्ष जति पहिले हो क्यारे!एउटी मान्छेले प्रेम प्रस्ताव राख्छे मसँग। म झसङ्ग हुन्छु। म हाँस्छु मात्रै। केही समयपछि उही मान्छे बिहेको प्रस्ताब राख्छे। यो बेला त म हाँस्न पनि सक्दिनँ। फेरि केही छोटो समयमै उसैले बिहेमा बोलाउँछे पनि। थाहा छैन अब उसले – भान्जाको भात ख्वाइमा आऊ- भन्छे भन्दिन। तर म उसको साहसदेखि भयभीत छु। बिहे गर्नु पनि त आफैँमा साहसको कुरा हो नि! तर मेरो ह्याङ्गरमा बर्षौंदेखि झुन्ड्याएको पुरानो कोट-जो कसैको शरीरमा नझुन्डिएको धेरै भो- जस्तो जिन्दगी  टक्टक्याउँदा पनि एकरेणु साहस उडेन।
हो एककण साहस पनि उडेन।

…तर
एकदिन उडेरै आएको खामभित्र एउटा बिहेको कार्ड देखापर्छ माधवदाजुका अघि। निमन्त्रणा उही मान्छेले पठाएकी थिई जसको बिहे थियोे र जसलाई माधव दाजुले बेपत्तासँग प्रेम गर्थे। म अभ्यस्तकालिक क्रिया प्रयोग गरेँ।आज के गर्छन् त्यो माधव दाजैले आफैँ जानून्। पछि दाजु बिहेमा पनि गए। म सोच्दिनँ माधव दाजुका अगाडि आकाश खस्यो खसेन भनेर। यदि खसेको भए आफूलाई कसरी होसमा राखेहोलान् दाजुले! कसरी बसे होलान् मण्डपको छेउछाउ! मलाई दाजुको साहस देखेर आज पनि कहाली लाग्छ।

मलाई थाहा छैन त्यहाँ के बित्यो। र के बितेन त्यो पनि थाहा छैन। यत्ति थाहा छ साँझ दाजुका कोठामा पुग्दा सुदेव दाजुले भनिरहेका थिए- “माधव जत्ति राम्रो त रहेनछ ऊ।” एउटा ख्याउटे दुब्लो हाँसो हाँसेका थिए दाजु,जुन हाँसो अनुहारमा जबर्जस्ती टाँसेजस्तो देखिएको थियो। मान्छेले चित्त बुझाउने अनेक उपाय खोज्छ। ससाना प्वाल खोजेर बस्छ चित्त बुझाउन। तर कहिलेकाहीँ त बहुत अफ्ठेरो पर्छ चित्त बुझाउन। हर कुनै कुरा देखाउँदा पनि मान्दैन चित्तले! आत्महत्यारुपि मार्गको धमिलो निकाश यहीँनिरबाट देखिन सुरु गर्छ होला सायद।

जति हाँस्ने प्रयास गरे पनि आँखाका चेपबाट पीडाले नियालिरहेको थियोे। मैले चुपचाप हेरिरहेको थिएँ अनुहारमा बत्ति निभेको। दुईवटा भोका मान्छेले एकअर्काको भोक बुझे पनि भोक मेटाउन भने सक्दारहेनछन्। म केवल चुपचाप हेरिरहेको थिएँ दाजुको अनुहारमा। मलाई कुन्नि के भएछ र सोधिमागेछु – “कस्तो भो बिहे?”
दाजुको अनुहारमा अकस्मात झ्याप्प बत्ति जान्छ। अघिनैबाट निभ्न आँटेको दियोजस्तो अनुहार झ्याप्प निभ्छ।

अकस्मात् बत्ति जानाले मञ्चमा शिव परियारले- हातमाथि हातमाथि- भन्न रोकिन्छ। नाचिरहेका पनि रोकिन्छन्।अँध्यारो बाक्लो भएर देखापर्छ अकस्मात्। सायद महोत्सवको झिलिमिलिले सब गायब थियोे अघि। मलाई घडि हेर्ने फुर्सत नि पुग्दैन। म हतारिँदै भन्छु- हिँड्,निस्कौँ अब। मलाई देवघाट पुग्नु छ।

हामी प्रवेशद्वार नपुग्दै बिजुली आइपुग्छ। एउटा ठुलो होहल्लाले बाताबरणलाई सजीव तुल्याउँछ।हामी हिँडेको बाटोलाई पछि छोड्दै पुल कटेर ब्रिज क्याफेनिर आइपुग्छौं।

ब्रिज क्याफे हाम्रो एउटा गन्तव्य जस्तो भैसकेको छ। उसले कति छिट्टै एउटा परिचय बनाइसकेको छ। ब्रिज क्याफेमा छु भनिसकेपछि अर्को कुनै  लोकेसन दिनु नपर्नै भैसकेको छ हामीलाई पनि । त्यो क्याफेमा सुरुमा म क्याफे मालिकले लगाएको माला देखेर गएको थिएँ जुन माला ओशोको थियो।स्वामीहरूसँग हात मिलाएलगत्तै हामी छुट्टिन्छौँ त्यहाँबाट पनि। मलाई जसरी हुन्छ देवघाट पुग्नुछ कोठामा। दिनेशले आफ्नो कोठामा लैजान सक्दो प्रयास गर्छ। सक्दैन। म म्याजिक चढ्छु। आँपटारी झर्छु। बस भेट्ने कुनै सम्भावना बाँकी थिएन। म यस्सै बाटो छेउमा उभिन्छु। हिंडेर जान मसँग साहस छैन। केही समयपहिले बागेश्वरीनिरको जङ्गलमा भेटिएको बाघले त्यो साहस पुछपास पारेर थोरै पनि नराखेर खोसेको थियोे मबाट।

साँढे आठ बजेतिर एउटा बाइक आउँछ। म रोक्न संकेत गर्दै हात उठाउँछु। एउटा जवान केटोले बाइक रोक्छ। जो कोही मान्छे जङ्गलको बाटो रातिको समयमा लिफ्ट दिन मान्दैनन्। खतरा पैदा हुनसक्छ। उसले रोक्छ। म बाइकको पछाडि बस्छु। बाइक हिंड्छ।

म त्रसित मानसिकताले ग्रसित हुन्छु। बीच जङ्गलमा लगेर केही गरिहाल्यो भने ? खल्ती छाम्छु। एउटा मोबाइल छ। साथमा दुई सय जति रुपैयाँ पनि होला। लगे यत्ति त लैजाला- सोच्छु। फेरि सोच्छु- एकथान जिन्दगी छ। पुरानो नोटजस्तो कच्याककुचुक पारेर बाटोछेउबाट तल फालिदियो भने ?

जङ्गलको बीचमा बाइकले झ्याप्प ब्रेक लगाएपछि त मेरो मुटु निस्केर बाटो छेउ पुग्छ। कति छिट्टै आमालाई सम्झिसकेछु मैले त। सधैँ हेट यु लेख्थेँ। आज लभ यु लेख्नु पर्दो रहेछ उसलाई। अन्तिम रहेछ। म सोचिसक्छु। अगाडिबाट बाटो काटेर मृग जोडसँग माथितिर लाग्छ। माथि पुग्ने बेलासम्म उसका खुट्टाले टेक्दा रुखका सुकेका पातहरुको खस्र्याङखुस्रुङ आवाज आइरहन्छ। बिस्तारै बाइक हिंड्छ। मुटु बाटो छेउबाट ठाउँमा आएर बस्छ। केही समयमै देवघाट बसपार्क ओर्लिन्छु म। र धन्यवादको अनुवाद स्वरुप हात जोडेर नमस्ते गर्छु। ऊ बाइकबाट ओर्लेर डोर्‍याएर पुल कट्छ। मैले नाम पनि सोधेनछु उसको। अँध्यारो थियो अनुहार पनि प्रष्ट देखिएन। यस्तै हुन्छन् कुनै यात्रा। कोसँग यात्रा गरियो पनि थाहा हुँदैन।

देवघाटको झोलुङ्गे पुल मस्तसँग सुतेको छ। उसका वारिपारी अंगरक्षकजस्ता दुई ठुला खम्बा खडा छन् जसले पुललाई मस्तसँग निदाउन निर्वाद सहयोग गरेका छन्। अजङ्गको छ पुल। दुई चार जना मात्रै हिँड्दा त पुलले थाहा पनि पाउँदैन। सय डेढसय जना हिँडे भने मात्रै  हल्लिन्छ अलिकति।सुतिरहेको मान्छे अर्को कुना फर्केर सुतेजस्तो मात्रै हुन्छ त्यो हल्लाई पनि। थाहा छैन कति पटक तरेँ यो पुल।लेखाजोखा राख्ने कुरा पनि भएन। तर धेरै सम्झना भैरहने कुराहरू गाँसिएका छन् यो पुलसँग।पहिलोपटक डराइडराइ पुल तरेकोदेखि लिएर अघि दिउँसो बजार जाँदा एउटी युवतीसँग ठोक्किएकोसम्म। त्यो युवतीले कस्तो मजाले – ओ सरि- भनेकी थिई।जुन आवाजले मलाई एकपटक जबर्जस्ती पछाडि फर्किएर उसलाई हेर्न बाध्य तुल्याएको थियो।

फडिन्द्र गुरुजीले – देवघाटबाट जाँदा केही सिकेर जाओ,आफूलाई केही बनाएर जाओ।नत्र यहाँ पढाइ सकिएपछि आश्रम छोडेर जाँदा पुलमा पुगेर अब कहाँ जाने होला भनेर सोच्न पर्ला च्यापुमा हात राखेर – भनेको बहुत सम्झिन्छु। तर केवल सम्झिन्छु मात्रै। अझै केही हुन सकेको छैन। दिनेशसँग झरी परिरहेको समयमा छाता ओढेर अबेर  राति पुलको बीच भागमा बसेको सम्झिन्छु। नवराज दाजुसँग साँझपख पुलको बीच भागमा आउने जानेलाई पूर्ण वेवास्ता गर्दै पलेटी कसेर ध्यान गरेको सम्झिन्छु।सम्झिन्छु हतारमा हिँडिरहदा छेउको तारमा अल्छेर कमिज च्यातिएको। सम्झिन्छु पुल तरिरहँदा हावाले धोती माथिमाथि उडाउन खोज्दा अगाडि आइरहेकी युवती देखेर अनुहारमा लाज फलेको।सम्झिएर भावुक हुन्छु। भावुक भएर फेरि सम्झिन्छु।

आजकल पुलको बिच भागमा एउटा थप ताल्चा झुन्डिएको छ। पहिले दुईवटा ससाना ताल्चा मसिनो लड्ठाको हातमा आफ्नो हात अड्काएर अग्लो केटो र होची केटी डेटिङ बसिरहेजस्तो बसिरहेका थिए। आजकल थप नयाँ ताल्चा लगाइएको छ। कसले किन लगायो होला ताल्चा त्यहाँ म एक सिरेठो चिसो सोचिबस्छु।

पुल तरेर उकालो सिँढीँहरू चढ्न थाल्छु म । अकस्मात छाती फुलेर आउँछ। कुन्नि किन मलाई ती सिँढीँ उक्लिन यस्तो विधि धौ लाग्छ ! कुन दिन यी सिँढीँ चढ्दा चढ्दै पुक्लुक्क ढल्छु म।

लामो लामो सास तानेर आश्रमको द्वारनिर पुग्छु। थोरै गेट खोलेर हेर्छु भित्र। उस्तो डराइहाल्नु पर्ने कोही मान्छे देख्दिनँ । सरासर कोठामा पुगेर लुगा फेर्छु । छोटो गम्छा बेर्छु । बिजुली रहेनछ । चिसोको खोजीमा बार्दलीमा निस्किएर बाटोतिर हेरी बस्छु ।

बाटोमा कसैको पाइतला घिस्रिरहेको आवाज आउँछ । अँध्यारो हुनाले मान्छे देख्दिनँ म । एकछिनमा मान्छे रोकिन्छ बाटोमा । उता तल उकालोबाट मोटरसाइकल आउनाले मोटरसाइकलको उज्यालो माथिमाथि रेखाजस्तो बनाएर चलायमान देखिन्छ। छिट्टै मोटरसाइकल  सिधा बाटोमा आइपुग्छ र उज्यालो लमतन्न सुतेको बाटोभरि पोखिन्छ। बाटोमा मान्छे उभिरहेकै छ । मोटरसाइकल नजिक नजिक आउनाले उसको छाँया लामो लामो भनेर बाटोमा तेर्सिन्छ । म देख्छु त्यो मान्छेले पिसाव फेरिरहेको छ । बिना संकोच ऊ यति बेला आफ्नै छायाँमा पिसाव फेरिरहेछ । मोटरसाइकल ह्वार्..र गर्दै मान्छेलाई छोडेर अगाडि जान्छ। त्यत्तिकैमा  मान्छेको छाँया पनि झ्याप्प निभ्छ । फेरि एकछिनमा पाइतलाका आवाजले बाटोको मौनतालाई च्यात्छन् । अँध्यारो भने अझै सकुशल रहिरहन्छ अबेरसम्म।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु