Information is intelligence
HomeLiterature‘म, माटो र मुटु’ कवितासङ्ग्रहको समीक्षात्मक अध्ययन

‘म, माटो र मुटु’ कवितासङ्ग्रहको समीक्षात्मक अध्ययन

- Advertisement -spot_img

नेपाली साहित्यका विविध विधामा कलम चलाउने प्रा. जगत् उपाध्याय ‘प्रेक्षित्’ (२०२५) एक स्थापित साहित्यिक स्रष्टा हुन् । साहित्यका कथा, कविता, गीत, गजल, निबन्ध, खण्डकाव्य, समालोचना तथा दर्शनजस्ता विभिन्न विधामा कलम चलाउने ‘प्रेक्षित्’ बहुमुखी साहित्यिक प्रतिभा हुन् ।

‘प्रेक्षित्’को साहित्यिक यात्राको औपचारिक थालनी ‘मेरो चाहना’ (२०४५) फुटकर कविताबाट भएको हो । उनको प्रथम प्रकाशित पुस्तकाकार कृति भने ‘आकुञ्चन’ (२०५०) संयुक्त कविता सङ्ग्रह हो । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका दर्शन विषयका प्राध्यापक ‘प्रेक्षित्’को वास्तविक नाम जगत्प्रसाद उपाध्याय हो । ‘प्रेक्षित्’ उनको साहित्यिक उपनाम हो र यही नामले उनी साहित्यिक क्षेत्रमा चिरपरिचित छन् । हालसम्म उनका ‘आकुञ्चन’ (२०५०), समयका छालहरू (२०६०), कमिलाको एकता (२०५९), हिमाल हेर्न जाऔँ (२०६५), म, माटो र मुटु (२०७५) र आरम्भ (हाइकुसङ्ग्रह, २०७५) सहित जम्मा ६ वटा कविता सङ्ग्रह तथा ज्वाला (२०५४) खण्डकाव्य प्रकाशित छन् ।

यी बाहेक ‘प्रेक्षित’का अरू धेरै सिर्जना  र समालोचना केही प्रकाशित र प्रकाशोन्मुख रहेका छन् । शैक्षिक, साहित्यिक  र वैचारिक क्षेत्रमा खरो रूपमा समर्पित ‘प्रेक्षित्’ विभिन्न शैक्षिक र साहित्यिक पुरस्कार र सम्मानद्वारा पुरस्कृत तथा सम्मानित छन् । महेन्द्र विद्याभूषण (२०५०), पण्डितराज सोमनाथ पुरस्कार (२०५२ अभिनन्दनसहित), मुकुन्दनाथ भट्टराई निबन्ध पुरस्कार (२०४८), राष्ट्रिय शिक्षा दिवस पुरस्कार (२०६४), सुप्रबल जनसेवा श्री पदकद्वारा पुरस्कृत ‘प्रेक्षित्’ नेपाली साहित्यका क्षेत्रमा सम्मानित र परिचित नाम हो ।

रूप र अन्तरवस्तुको सुन्दर संयोजन तथा सन्तुलन गरी साहित्य सिर्जना गर्ने कवि ‘प्रेक्षित्’का कविता र काव्यमा जीवनवादी चेतना, प्रगतिवादी वैचारिक पुट, काव्यात्मक स्तरीयता, परिष्कृत भाषाशैलीजस्ता कवितात्मक विशेषता पाइन्छन् । भाव, भाषा र लयको सुन्दर प्रस्तुति र संयोजन पाइने ‘प्रेक्षित्’को कविता सिर्जना विशिष्ट प्रकृतिको छ । हाल नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवसमेत रहेका ‘प्रेक्षित्’को ‘म, माटो र मुटु’ (२०७५) कविता सङ्ग्रह अत्यन्त चर्चित छ ।

मकालु प्रकाशन गृह, काठमाडौँबाट प्रकाशित ‘म, माटो र मुटु’ कविता सङ्ग्रहमा जम्मा ४० वटा फुटकर कविता सङ्ग्रहीत छन् । शास्त्रीय लय र लोकलयमा रचित यस सङ्ग्रहका कविता २०५१ सालदेखि २०७५ सालसम्मको समयमा रचित तथा विभिन्न पत्रपत्रिकामा प्रकाशित रहेका छन् । वसन्तराज अज्ञातको अत्यन्त आकर्षक, सशक्त र कृतिको भाव र शीर्षकोचित आवरण चित्र प्रस्तुत भएको यस कविता सङ्ग्रहमा समय, समाज, विचार र भावनाको सुन्दर संयोजन र समन्वय भएको छ । परिष्कृत र परिमार्जित भाषाशैली र स्वच्छन्दतावादी प्रगतिवादी भावप्रवाहको प्रयोग भएका यस सङ्ग्रहका कविता सबै काव्य पारखीका लागि पठनीय छन् ।

बहुमुखी साहित्यिक प्रतिभाका रूपमा परिचित कवि ‘प्रेक्षित्’को प्राध्यापकीय कवि प्रौढता र प्रगतिवादी जीवन चेतना उनका कवितामा सशक्त रूपमा पोखिएको छ । उनका अन्य विधाका सिर्जनाभन्दा कविता र काव्य विधा नै बढी सफल र प्रिय विधा हो भन्दा अतिशयोक्ति नहोला । विभिन्न सङ्घ संस्थामा आवद्घ ‘प्रेक्षित्’ साहित्यसाधनामा रमाउने अथक साधक पनि हुन् ।

तिम्रा पौरखका किल्ला कहिल्यै ढल्न दिन्नँ म ।
तिमीझैँ म स्वयम् जल्छु, देश यो जल्न दिन्नँ म ।।
यी हाम्रा घरका कोठा, चोटा टुक्रिन दिन्नँ म ।
बिरानो वनको साँढे यहाँ डुक्रिन दिन्नँ म ।।

‘म, माटो र मुटु’ (२०७५) कविता सङ्ग्रहमा सङ्गृहीत कविताहरूमा मूलतः माटोप्रति माया, जीवनप्रतिको आस्था र परिवर्तनप्रतिको विश्वास अभिव्यक्ति हुनुका साथै समकालिन जीवनका विभिन्न सङ्घर्षका मोड एवम् मर्म र वेदना पोखिएका छन् । निरङ्कुशताको विरोध, गणतन्त्रको आह्वान्, समाजमा विद्यमान सामाजिक, राजनीतिक विभेद, द्वन्द्व, हिंसाप्रतिहिंसा विरोध, सामाजिक न्याय र परिवर्तनको तीव्र आकाङ्क्षा तथा सामाजिक विकृतिप्रति विरोध रहेको छ ।

नेपाली राष्ट्रियताका प्रखर समर्थक कवि ‘प्रेक्षित्’मा सहिदप्रति उच्च सम्मान यसरी प्रकट भएको पाइन्छ ।
तिम्रा पौरखका किल्ला कहिल्यै ढल्न दिन्नँ म ।
तिमीझैँ म स्वयम् जल्छु, देश यो जल्न दिन्नँ म ।।
यी हाम्रा घरका कोठा, चोटा टुक्रिन दिन्नँ म ।
बिरानो वनको साँढे यहाँ डुक्रिन दिन्नँ म ।।
(सहिदहरूसँग अन्तरसंवाद, श्लोक ९, पृ.६०)

यसै गरी प्रस्तुत सङ्ग्रहमा सङ्कलित ‘मेरो देश’ शीर्षक कवितामा कवि मातृभूमिको अस्तित्व र सम्मानका लागि यस्तो कामना गर्दछन् –

अग्लो सगरमाथा झैँ अग्लै देश होओस् सधैँ ।
अग्लै हुन् अगुवा सारा अग्लै हुन् जनता सबै ।।
सिंह बन्ने नहोस् कोही, स्याल बन्ने नहोस् कुनै ।
गर्दै गर्व भनून् मान्छे मेरो देश नेपाल नै ।।
(मेरो देश, श्लोक ७, पृ. ६४)

यसरी हरेक नागरिकले मेरो देश नेपाल हो भनेर गर्व गर्न सकून् भन्ने चाहना व्यक्त छ ।

धर्ती रोइरहेको छ, शीतझैँ आँसु झर्दछन् ।
बलात्कृत भई कन्याहरू अकाल मर्दछन् ।।

मान्छे मान्छेका बिच विद्यमान् सबै खालका विभेद, शोषक र शोषित बिचको भिन्नतालाई पनि कवि ‘प्रेक्षित्’ले आफ्ना कवितामा उठाएका छन् । मानव कल्याण र वर्गीय विभेदको अन्त्य चाहने कवि ‘प्रेक्षित्’का  कवितामा गरीखाने वर्ग र बसीखाने अथवा हुँदा खाने र हुने खाने वर्गबिच ठूलो असमानता रहेको उल्लेख गरिएको छ । उनी आफ्नो कवितामा यस्तो भन्दछन् –

रम्छन् शोषक कामबेगर सधैँ संसार कब्जा गरी ।
चुस्छन् मानवका नसीब पसिना जूका बनी बेसरी ।।
काम क्यै नगरेर मालिक हुने ? गर्ने सदा दास नै ?
हिँड्दै क्यै नहिँडेर पर्वत छुने, हिँड्ने सधैँ भासमै ।।
(संसार यो जित्नु छ, श्लोक २, पृ. ६५)

माथि भनिएझैँ समाजमा शोषक र शोषित गरी दुई वर्ग रहेको र शोषकले शोषित वर्गको वा श्रमिकवर्गको खुन, पसिना र श्रम शोषण गरी जूका ढाडिएझैँ ढाडिएका छन् । नारीलाई विलासिताको साधन सम्झिने पूँजीवादी संस्कृतिका पक्षधरले नारी अस्मिता र राष्ट्रियतामाथि अनेक तरहले हिंसा गरेको उल्लेख गरेका छन् । जस्तै ः

बेसी औ लेकका सारा खेतबारीहरू लुटी ।
खान खोज्दै छ यी मेरा पँधेरा, घर औ कुटी ।। (१)

धर्ती रोइरहेको छ, शीतझैँ आँसु झर्दछन् ।
बलात्कृत भई कन्याहरू अकाल मर्दछन् ।। (४)
(यक्षप्रश्न, श्लोक (१) र (४), पृ. ६९)

माथिका कवितामा राष्ट्रियतामाथि विस्तारवादीले आफ्नो पञ्जा फिजाउँदै छ र नेपाली चेलीको जवानीमाथि शोषकले आँखा लगाउँदै छ । यसमा नेपाली चेली अथवा नारी अस्मिता लुटिएर मर्न बाध्य छन् भन्ने भाव सशक्त रूपमा प्रस्तुत गरिएको छ ।

जनता आफैमा सार्वभौमसत्ता सम्पन्न छन् । जनता जनार्दन हुन् । तसर्थ, जनतामाथि निरङ्कुश हैकम नचलाऊ भन्दै कवि लेख्छन् –

हामी मालिक हौँ स्वयम् स्वघरका सारा कुरा जान्दछौँ ।
तिम्रो हैकमलाई वक्षथलका छारा, छुरा ठान्दछौँ ।।
(फर्केर जाउ तिमी, श्लोक ५, पृ. ७५)

यस सङ्ग्रहमा सङ्कलित कवितामा कवि ‘प्रेक्षित्’को संस्कृत प्राज्ञिक व्यक्तित्व र माक्र्सवादी जीवन दर्शनको सुन्दर समन्वय र संयोजन भएको पाइन्छ । देशभक्ति, राष्ट्रप्रेम, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षण, समाजमा विद्यमान् विकृति र विसङ्गतिको तिखो आलोचना कवि ‘प्रेक्षित्’का कवितामा पाइने कवितात्मक विशेषता हुन् । शास्त्रीय छन्द र लोकछन्दका कुशल प्रयोक्ता ‘प्रेक्षित्’का ‘म, माटो र मुटु’ कविता सङ्ग्रहमा सङ्कलित कवितामा सत्यम्, शिवम् र सुन्दरम्को भावना पाइन्छ ।

यस सङ्ग्रहमा समाविष्ट ‘कवि’ शीर्षक कवितामा ‘कवि बोल्छन् सधैँ सत्यम्, शिवं र सुन्दरम्’ कवितांशले यही मर्म र भावको उद्बोधन गर्दछ । ‘सर्वजन सुखाय र सर्वजन हिताय’ को भावनाले ओत भएका कवि ‘प्रेक्षित्’को यस कविता सङ्ग्रहमा सङ्ग्रहीत सबै कविता पठनीय छन् । ती कवितामा सत्यको उद्घाटन गर्ने प्रयत्न गरिएको छ । राष्ट्रहित, मानवहित, सामाजिक परिवर्तन र अग्रगमनका पक्षमा लेखिएको कविता सङ्ग्रह सबै पाठकका लागि पठनीय, मननीय र सङ्ग्रहणीय छन् ।

कृति÷पुस्तकको नाम : म, माटो र मुटु
लेखक : प्रा. जगत् उपाध्याय ‘प्रेक्षित्’
विधा : कविता
संस्करण : २०७५
प्रकाशक : मकालु प्रकाशन गृह, काठमाडौँ
मूल्य : १५०
पृष्ठ : ११२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय