Information is intelligence
HomeLiteratureविभक्ती - (भाग ४)

विभक्ती – (भाग ४)

- Advertisement -spot_img

झरी परिरहेको कुनै दिन
यादहरुको परम्परा सुदीर्घ परम्परा हो तर सुव्यवस्थित परम्परा हैन।मेसोमोटामियाको सभ्यता भन्दा पुराना याद हरेक दिन सिजी मन्दिरजस्तो नयाँ लागिरहे । म क्रमश पग्लिएँ,रित्तिएँ,खरानी भएँ। मैनजस्तो,चियाको कपजस्तो, चुरोटजस्तो।

लाग्यो- विभक्ती तिमी मैनजस्तो बलेर साथमा पग्लेर सकियौ। म चुरोटजस्तो भित्रभित्र जलेर धुँवा बनेर सकिएँ। र हाम्रो भेटघाट सिसाको कपको चियाजस्तो सेलाएर गयो ।

एउटा सिङ्गो टेवललाई अघि राखेर बसिरहदा उसको यादले केही चिमोट्यो । छेउमै रहेको खाली कुर्सीले मेरो घाँटी समात्न अायो।वेटरको ‘चुरोट पनि ल्याऊँ’भन्ने अावाजले मलाई रक्तामे बनायो। म रन्थनिदै अाठौं पटक होटलबाट निस्किएँ।

चारहप्ता भैसक्यो ऊसँग भेट नभएको अाज।म बहुत अत्तालिएँ ,छट्पटाएँ। मेरो वरिपरि एउटै अावाज मात्रै गुन्जिरह्यो- ‘मैले मर्ने निर्णय गरें ।’

तेस्रो दिन पनि ऊ होटलमा उपस्थित नभएपछि होटलबाट निस्किएर सधैं ऊ लम्किने सडकतिर म लम्किएँ । चोकमा पुगेपछि भित्र जाने बाटो रहेछ। म अलमल परें। होटलको अगाडिबाट सधैं म ऊ परको चोकबाट भित्र पसेको मात्रै देख्थें।कहिल्यै सोधिन – तिम्रो घर कहाँनिर पर्छ ? भनेर। बहुत पछुतो लाग्यो। म सरासर कोठामा गएँ।मोबाइलमा हेरें उसले फोन गरेका नंबरहरु।सबै ल्यान्डलाइनका थिए।फरक फरक। म अात्तिएँ। अब मसँग उसलाई खोज्ने कुनै उपाय रहेन।
सडकमा हिंडिरहेको थिएँ। छेउको घरमा होहल्ला सुनियो। म के रहेछ भनेर उतै लागें।एउटी बुढी अाइमाई रोइराखेकी थिइन्। छेउमा सानो बच्चा अलमलमा थियोे। म भिड छिचोलेर भित्र गएँ। सिलिङको पंखामा एउटा डोरी बाँधिएर तलतिर झरेको छ। डोरीको अन्तिम ठाउँ एउटी अाइमाइको घाँटीनिर अल्झिएको छ। ऊ डोरीमा हलुकासँग हल्लिरहेकी छ। हल्लिने क्रममा डोरीमा झुन्डिएको शरिरको अनुहार अाफै मतिर फर्किन्छ। त्यो अनुहार बिभक्तीको थियो। म अात्तिएर पछाडि हट्छु।
म साच्चिकै अाफ्नो कोठाको झ्यालमा उभिरहेको मान्छे अकस्मात खाटमा पुग्दछु।मैले के सोचें यस्तो ? मलाई के भैरहेछ? के यो सत्य हो? म पसिना पसिना भएँ।

अस्ति बजारको चोकनिर ट्रकले किचेर एक जनाको मृत्यु भएको थियो। मान्छे भिड लागेका थिए। म सडकको पल्लो किनाराबाट सरासर नदीतर्फ अाएँ। किनारमा बसें के के सोचेर।फेरि साँझ परेपछि कोठामा गएँ।खै! कसरी कसरी निदाएँ।सपना देखें।म सडकमा हिंडिरहेको थिएँ।उतापट्टी सडकमा मान्छेले चारैतिरबाट घेरेर हल्ला भैरहेको थिए।जो भिडमा मिसिन जान्थे अनुहारमा कौतुहलता बोकेर जान्थे।जो निस्किन्थे अनुहारमा बिभत्सता बोकेर फर्किन्थे।धेरै बेरको उभ्याइपछि म पनि त्यतै लागें।गाडीको ठक्करले सडकमा एउटा शरीर रगताम्मे लडिरहेको थियो।मैले चिनिहालें त्यो शरीर विभक्तीको हो।म ब्युझिएँ।निदै लागेन।अलेलि उज्यालो हुँदै म कोठाबाट निस्किएँ।सरासर अस्ति दुर्घटना भएको ठाउँनीर पुगें।बिहानै भएर होला कम मात्रामा साधन चलिरहेका थिए।दुर्घटनामा भए नजिक कुनै पसल खोलिसकेका थिएनन्।अलिक परको पसलमा पुगेर सोधें-अस्ति यहाँ दुर्घटना हुँदा दुर्घटनामा केटा मान्छे परेको कि केटी मान्छे? पसलेले केटा मान्छे भनेपछि म लामो सुस्केरा त्यहीँ फालेर फेरि कुन्नि कतातिर गएँ।

म किन यस्तो सपना देखिरहेछु? म किन यस्तो सोचिरहेछु? फेरि यतिका दिनसम्म किन नअाएकी ऊ होटलमा चुरोट खान? के साच्चिकै मृत्यु भैसक्यो उसको? के ऊ मरिसकी?

ऊ मरी। कोठामै बिष सेवन गरेर मरी। अाफ्नो ज्यान त्यागी। नाइँ, यो हुन सक्दैन। ऊ मरेकी छैन। कुनै बिरामी भएर अाउन सकिन। र अाइन। ऊ जीवित छे। ऊ फेरि मलाई बोलाउनेछे नदी किनारमा। मसँग बोल्ने छे।हामी बालुवामा हातका अौंलाले केर्ने छौं। केर्दा केर्दा एउटा राम्रो चित्र बन्नेछ।

अहँ, म कसरी पत्याऊँ कि मैले सोचेजस्तै हुनेछ। ऊ जीवित भेटिनेछे। मलाई फोन गर्ने छे। चियावाज भनेर बोलाउनेछ। ऊ कुनै उपन्यासको सक्रिय पात्रजस्तो मसँग हाँस्ने छे,रुने छ,लुक्ने छे,भेटिने छे। म कसरी पत्याऊँ?

सबै कुरा अाधा भए। पढ्दापढ्दै ‘चीरहरण’ अाधा भएको छ।म सभ्य नागरिक हैन।भए किन चीरहरण सुरु गर्थें।म समयको अाधा खलपात्र।अाधा दुर्योधन।’चपाइएको अनुहार’ अाधा छ।मसँग अाफ्नै अनुहार पूरा छैन।’नाव दूर्घटना’ अाधा छ।रवीन्द्रनाथ टैगोर अाएर घोर निन्दा गरे मेरोअाधापनको।’अस्तित्वको घोषणापत्र’ अाधा छ।अाधा छ मेरो अस्तित्व।इन्दिरा दिदीले दिएको इयर फोन अाधा छ।अाधा छ मेरो कान। र ऊ पनि अाधा मात्रै सुन्न तयार छ। पूरा छ त केवल ‘मुटुको व्यथा’ छ।सम अाएर अाधा कुरा गरे। भन्छन्- ‘ऊ मरेकी छैन।’

फेरि एकछिनपछि सुवास घिसिङ अाए।भन्छन्- ‘ऊ मरी  अरे।’म फेरि अाधा मरें। म फेरि अाधा बाँचें। पूर्णात् पूर्णमुदच्यते। खासमा अाधात् अाधा उदच्यते हुनु पर्ने।

विभक्ती,तिम्रो र मेरो यो अाधा यात्रा हो।फेरि किन मुटुभरि  पुरा दुखेर बसेको छ ?

************

नदीकिनारको लामो बसाइपछि साथीले भन्छ  – “तँ छिनछिनमा लामो लामो सास फेरिरहेछस् त।के भो?”मैले नसुनेजस्तो नबुझेजस्तो गरेर अावाज निकालें-  “हँ ?”

उसले फेरि उहीँ प्रश्न दोहोराउछ । म चाहन्छु उसले त्यो कुरा फिर्ता लैजाओस् । तर अन्त्यमा पशुपतिप्रसाद फ्लिममा हनुमानले पशुपतिलाई भनेजस्तो गरेर गम्भीर अावाजमा भन्छु म- ‘सबै कुराको कारण हुँदैन केटा।’

हामी त्यहाँबाट निस्किन्छौं । ऊ अाफ्नो कोठातिर लाग्छ । म अाफ्नो कोठातिर त लाग्छु तर कोठामा पुग्दिनँ । नजिक हुँदा त सास पनि छिटोछिटो छोटोछोटोे चल्थ्यो । दुरी लम्बिएपछि सास पनि लामो लामो निस्किदो रहेछ।फेरि एकपटक सुस्केराको निम्ति मुख थोरै बिगारेर कतै हेर्छु । परको इट्टाभट्टाको चिम्नीबाट धुँवा बगिरहेछ । म थाहा पाउछु पक्कैभित्र अागो छ । तर म किन पुत्ताउन सकिरहेको छैन?धुवाँले रहित पनि अागो हुन्छ? किन जलिरहेछु भित्रभित्र म? साच्चिकै यी खरानीजस्ता प्रश्न बेकार छन्।चन्द्रावतीले खान खोज्दा पनि हावामा उडेर अन्त कतै जाने यो खरानी- त्यस्तै मेरा प्रश्न।अहो! कस्तो बिडम्वना! कस्तो परिस्थिति !

युद्धमा मर्नेले स्वर्गको राज्य पाउँछन् रे भन्ने सुनेको थिएँ मैले मेरी अामाको मुखबाट।सम्झनाको अागोमा जलेर ज्यान सक्काउनेहरुले खै! स्वर्गको राज्य पाउँछन् पाउँदैनन्।कति राज्य होलान् स्वर्गमा? भ‌ैगो राज्यको कुरा लिएर यी रैती सोचाइ नगरेकै राम्रो।म अाँसुले पीडाले सम्झनाले भरीपूर्ण छु,पूर्णतृप्त छु।फेरि पनि  चन्द्रावतीले नवराजको यज्ञमा पुगेर फर्किदा केही ल्याइदिनु भनेर पठाएका दुई ब्राह्मणजस्तो किन छटपटाइ रहेछु? के पुगिराखेको छैन मलाई ?

यत्तिकै मेरो स्मृतिको थाकखोलामा बग्छ अाफ्नै विनासको यज्ञमा अाफ्नो शत्रु रामको पुरेत बन्ने रावणको अनुहार।अाफ्नी पोइल गएकी स्वास्नी हेलेनको सबै अपराध बिर्सिएर फेरि उसलाई अाफ्नो मुटुमा बसाउने मेनेलाउसको अनुहार।यो सम्झनाको थाकखोलामा बगेको अनुहारको रङ किन नुनिलो नुनिलो छ भन्ने कहिल्यै थाहा पाउन सक्दिनँ म । यस‌ै। निरर्थक।

ऊ अर्थात विभक्तीम सम्झिन्छु कति न्यास्रो थिए उसका अाँखामा हरफहरु।कति अस्पष्ट थिए हाँस्दा गाला खुम्चिएर बनेका रेखाहरू।कस्ता ताजा हुन्थे अाँसु बगेर भर्खर बगर बनेका गालाहरु।भर्खरै पग्लिएलाजस्तो उसको अाँखा मेरा अघि कहिल्यै पग्लिएनन्।मुटु कति चिसो हुँदो हो जसको चिसोको प्रभावले अाँखा पनि पग्लिन दिएन।म सम्झिन्छु,हरेक दिन सम्झिन्छु।हरेक दिन टोलाएर उसलाई सम्झिन्छु।हरेकदिन उसलाई सम्झिएर टोलाउँछु।मुकअभिव्यक्तिभित्र उहीँ प्रश्न- यो छट्पटी किन? भत्किंद‌ै गएका सम्झनामा उहीँ प्रश्न – यो छट्पटी किन? विभक्ती मलाई तिम्रो कस्तो कस्तो बानी परेको रहेछ।

इब्सेनको डोल्स -हाउसकी नोराजस्ती हुँदीहो ऊ। घरमा पतिले भन्दो हो- ” प्रेमका खातिर म अाफ्नो सम्मान त्याग्न सक्दिनँ।”ऊ अाफू र अाफ्नो प्रेम अपमानको घेरामा परेको सोच्दिहो ।

ऊ मसान नाटककी युवतीजस्ती हुँदी हो।सन्तानसुखको अप्राप्तिले छट्पटिएकी,र अन्त्यमा कृष्णको कपटपूर्ण व्यवहार थाहा पाएर कतै लामो यात्रामा एक्लै निस्किएकी होस्, फेरि मलाई घरमा छोरा भएको कुरा पनि बताएकी थिइ ऊ।

ऊ अनुराधाजस्ती हुँदी हो,स्वपिडनमा हरसमय अाफूलाई राखेर कमजोर पारिरहेकी।
हुनसक्छ ऊ सकम्वरीजस्तै थिई-  सुयोगविरको एक जोडाअोठ चुम्बन लिएर मधेश गएकी त्यसपछि फर्केर कैले अाइन,केवल कुनै बाहुनीसँग अाफू मरेको सूचना पठाइ।

खै! लामाछोटा कुनै भेटमा पनि मैले थाहा पाउन सकिन ऊ कस्ति थिइ भनेर।थाहा नपाउनुको कारण हुनसक्छ मैले कसैसँग दाज्न खोजिन उसलाई ,अथवा कसैको उपमाको टिको उसको परिचय, व्यक्तित्वमा लगाइदिइन मैले ।

ऊसँग भेट नभएको अाज महिनादिन नाघिसकेको छ। म यत्तिकै कोठामा जान छोडेर चोकनिर कुनै पेटीको छातीमा अाफूलाई हलुकासँग छोडेर सडकतिर अाँखा कुदाइरहेको छु।

यी साधन- जो अाफ्नै गतिमा बगिरहेछन् सडकको कालो छातीमा।बीचमा ट्राफिकले समयसमयमा सिठ्ठीमा सास भरिरहेछ जसको प्रतिकृया स्वरुप एउटा अावाज सिर्रर सिर्ररले हरेक मान्छेका कानलाई नमज्जाले चिथोरेर क्रमशः अाकाश यात्रामा, अनन्तताको यात्रामा हराएर गैरहेछ।
यत्तिकैमा सडकनिरबाट कुनै युवतीले छातीनिर बच्चा च्यापेर बाटो काट्न थालेको देखिन्छ।मेरा अाँखा जोडजोडले त्यो अनुहारमा घस्रिनपुग्छन् र मुखबाट अकस्मात अावाज निक्लिन्छ- विभक्ती।
त्यो उहीँ अाइमाइ हो जोसँग मैले धेरै पटक चिया खाएको छु,जसको अनुपस्थितिमा छट्पटाएको छु। भित्र कतै लुक्न गएका अाँखा,बाहिर एक्लै उभिएको नाक। मानौँ उसका अाँखा र नाक मिलेर लुकामारी खेलिरहेछन् र यो समय लुक्ने पालो अाँखाको छ र नाकले उनीहरूलाई खोजेर भेट्टाउनु पर्नेछ समयले ढ्याप लगाउनुभन्दा अगाडि नै। कति दुब्लाएकी। भत्किएर सकिएका परेली,एकमुठ्ठीको घाँटी, सानो अक्षरमा -केही समयदेखि भूमिगत- लेख्न मिल्ने निधार। यस्तै यस्तै अवयवले विकसित छ उसको अनुहार। म झटपट अगाडि पुगेर बोलाउछु-  बिभक्ती।

यसको कुनै असर देखिदैन त्यो अनुहारमा ।फेरि बोलाउँछु। तेस्रो पटकको बोलाबटमा मतिर फर्किन्छ अनुहार। अपसोस! पुरै अपरिचित भाव बोकेर। म गहिरिएर हेर्छु अनुहारमा तर चिनेको भाव कत्ति भेटिदैनँ। ऊ नबोली अाफ्नो बाटो लाग्छे। मलाई थचक्क बस्न मन लाग्छ। म बस्न पनि सक्दिनँ। फेरि ऊ गएतिर लाग्छु।अल्लि अघिको पसलमा पुगेर खै! के किन्छे ऊ। म त्यहाँ पनि अगाडि गएर उभिन्छु। ऊ मलाई हेर्छे। केवल अपरिचित दृष्टिले। अनि ऊ फेरि निस्किन्छे त्यहाँबाट। अन्त कतै जान्छे।खै! कता कता।

हुनसक्छ परिचयको ढोकाबाट निस्किएर अँध्यारो गल्लीमा।हुनसक्छ सत्यतादेखि एकदम टाढा  रहेको प्यारो गल्लीमा।

म चाहन्छु मलाई मेरो अाँखाले  अाफ्नै विरुद्ध  भ्रमको खेती नगरोस्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु