Information is intelligence
HomeNewsवीरेन्द्रनगरको नयाँ रूप : सडकहरु बने चिल्ला, हरियाली र आकर्षक

वीरेन्द्रनगरको नयाँ रूप : सडकहरु बने चिल्ला, हरियाली र आकर्षक

- Advertisement -spot_img

प्रदेश राजधानी वीरेन्द्रनगर केही महिना अघिसम्म धुलाम्य देखिन्थ्यो । साँघुरा सडकमा जताततै खाल्डाखुल्डी, नालापेटी पनि फोहोर भरिएर बन्द । चोक चौताराहरु उस्तै अस्तव्यस्त । अब वीरेन्द्रनगरको पहिचान फेरिएको छ । काँचुली फेरेपछि यहाँका सडक र आसपासका क्षेत्र आकर्षक देखिएका छन् । माथिल्लो खण्डका सडक छेउछाउमा यतिबेला गुलमोहर फुलेर राताम्य देखिएको छ । निषेधाज्ञाकै बीच पनि ती चिल्ला, हरियालीमैत्री सडकमा फोटो, सेल्फी लिनदेखि टिकटक बनाउनेहरुको नजर परेको छ । वैशाखको खडेरीमा सडक छेउका हरियाली बोटहरु, रङ्गीचङ्गी फुलेका फूलहरु र चिल्ला सडकहरु सुर्खेती सामाजिक सञ्जालमा भाइरल बनाइएका छन् । रङ्गीचङ्गी फूहरु अघिल्ला वर्षहरुमा नफुलेका होइनन्, तर यसपटक नगरपालिकाले सबै सडकहरु स्तरोन्नति र कालोपत्रे गरेपछि शहरी आकर्षण बढाएको हो ।

वर्षौंसम्म धुलाम्य सडकबाट आजित सुर्खेतबासी सडकले रूप फेरपछि औधी खुसी छन् । स्थानीयवासी युवा भरत गौतम भन्नुहुन्छ, “नाकमुख छोपेर हिँड्नुपर्ने, गाडी आउनबित्तिकै धुलोबाट जोगिन पसलका सटर हतारहतार बन्द गर्नुपर्ने बाध्यता अब अन्त्य भयो । नगरपालिकाले सडक निर्माणलाई प्राथमिकता दिएर धैरै राम्रो गर्यो ।” सडक सुधारप्रति नागरिकले खबरदारी पनि गरिरहेका छन् । विस्तारका नाउमा केही स्थानमा रुखहरु काटिएको छ । कालोपत्रे गरिएका सडक र छेउमा रङ्गीचङ्गी रुखहरुसहितको फोटो राख्दै सुर्खेत घर भई हाल काठमाडौँमा कार्यरत सञ्चारकर्मी प्रकाश लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , “जबजब वसन्त ऋतु लाग्छ, सुर्खेतको वीरेन्द्रनगरमा रोपिएका यी रुखहरु र योजनाबद्ध (उतिबेलाको क्षमताअनुसार) रूपमा बनेका सडकहरु यो सहरको परिचय बोकेर झुल्किन्छन् । विस्तारै सडक विस्तारले वीरेन्द्रनगरको यो सडककिनारको हरियाली मासिँदै गएको छ । विस्तारित सडकहरुमा रुख रोप्ने र फेरि यस्तै गुलजार गुलमोहरले वीरेन्द्रनगरलाई रङ्गीन बनाउन नगरपालिका र नगरबासीहरुको ध्यान जाओस् !”

विगतमा अस्तव्यस्त सडकहरु सुधार नगरेको भन्दै स्थानीय जनप्रतिनिधिले पनि नागरिकका थुप्रै आक्रोश सहनुपथ्र्यो । जनप्रतिनिधि भने अब सडक बनेपछि ढुक्कले हिँड्न पाएको भन्दै खुसी छन् । नगर प्रमुख देवुकमार सुवेदी नागरिकका समस्या समाधान हुँदै गएको बताउँछन् । “मुख्य समस्या सडक कालोपत्रे, सडक पेटी विस्तार तथा नाली र पक्की पुल निर्माणकै थियो, अब करिबकरिब यो समस्या अन्त्य गर्दैछौँ,” उनी भन्छन् , “यसै आर्थिक वर्षभित्र बाँकी सडकहरु कालोपत्रे भइसक्नेछन् ।” नगरपालिकाले विभिन्न कम्पनीमार्फत यहाँका साना ठूला ३६ वटा सडकका योजना सञ्चालन गरिरहेको छ । तीमध्ये अधिकांशको काम पूरा भइसकेको छ । सङ्घ र प्रदेश सरकारको सहयोगमा नगरपालिकाले सडक निर्माण तथा स्तरोन्नति कार्य अघि बढाएको हो ।

गत आर्थिक वर्ष कर्णाली प्रदेश सरकारले एक दशमलव आठ किलोमिटर र वीरेन्द्रनगर नगरपालिकाले ५०० मिटर सडक मात्रै कालोपत्रे गरेको तथ्याङ्क थियो । कछुवा गतिको विकास भन्दै यसको चौतर्फी आलोचना पनि भएको थियो । चालु आर्थिक वर्षमा भने सडक कालोपत्रेमा उल्लेख्य प्रगति हासिल गर्न नगरपालिका सफल भएको छ । निषेधाज्ञाकै अवधिमा जनस्वास्थ्यका मापदण्डको पालना गर्दै धमाधम निर्माण कार्यहरु सञ्चालन गरिएका छन् ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालयले राजधानी शहरका सडक पुस दोस्रो सातादेखि निर्माण गर्न शुरु गरेको थियो । निर्देशनालयले प्रदेश राजधानी शहरी सडक निर्माण कार्यक्रमअन्तर्गत नालीसहित २६ किलोमिटर सडक निर्माण हुने जनाएको छ । यसका लागि रु ४७ करोड बजेट खर्च हुँदैछ । निर्देशनालयका अनुसार वीरेन्द्रनगर भित्रमात्र १३ दशमलव एक किलोमिटर सडकको ढाँचा परिवर्तन गर्न थालिएको छ । साँघुरो सडकलाई चौडा बनाउने, कच्ची सडकलाई पक्की बनाउने, ट्राफिक सङ्केतसहितका लागि आवश्यक संरचना थप्ने जस्ता कार्य भइरहेको निर्देशनालयले जनाएको छ । त्यस्तै सङ्घीय सरकारको लगानीमा विमानस्थलदेखि गणेशचोकसम्मको सडक निर्माण चरणमा छ ।

नगर प्रमुख सुवेदी सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा विभिन्न मुख्य सडक, विभिन्न पर्यटकीय स्थल तथा मुख्यबजारको सडक स्तरोन्नतिको काम भइरहेको बताउँछन् । विस्तारित सडकलाई हरियालीमैत्री बनाउन कार्य पनि शुरु गर्ने उनको भनाइ छ । “हामी समुन्नत नगर बनाउने अभियानमा छौँ, पहिलो प्राथमिकता नगरका सडक हुन्”, सुवेदी भन्छन् , “नगरपालिकाको एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले प्रदेश र सङ्घीय सरकारको सहयोगमा वीरेन्द्रनगरको एकीकृत विकासको कार्यक्रम अघि बढाएका हौँ ।” (रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु