Information is intelligence
HomeLiteratureरातको कुरा

रातको कुरा

- Advertisement -spot_img

उसले फ्याट्ट सोधिदियो – दिनभर के गर्छस् त नि अचेल ?
कस्तो असजिलो प्रश्न सोधिमागेको । अब के गर्छु भन्नू !
त्यस्तो कुनै नोकरी पनि त छैन।

उसलाई भनें  – मोबाइल साइलेन्टमा राखेर कोठाको कुनै कुनामा राख्छु बिहान उठेर । केही समयमा मोबाइल कहाँ राखें भन्ने बिर्सिन्छु अनि दिनभर धुमपत्ताल तरिकाले त्यही मोबाइल खोज्छु । बिस्तारा खाटबाट तल फ्याँकेर खोज्छु । झोलाबाट मैला  कपडा निकालेर खोज्छु । त्यति बेला एउटा फाइदा पनि हुन्छ । एउटा चाहिँ अलिक नम‌ैलो जस्तो लुगा भेटिन्छ । अौसतमा हेर्दा । खोज्दा किताबको र््याक पल्टिन्छ । रिसमा उसलाई एक लात्ती हान्छु । फेरि खुट्टा दुख्छ । बसेर एकछिन खुट्टा सुम्सुम्याउँछु । एकछिनमा फेरि मोबाइल खोज्छु । साँझपख भेटिन्छ मोबाइल ।  दिन सजिलै कट्छ ।
अर्को दिन फेरि हिजो मोबाइल खोज्दा बिगारेका सामान मिलाउँछु । दिन सजिलै कट्छ ।

मनबाट एउटा प्रश्न उठेर दिमागतिर हिंड्यो। किन सोध्दैन उसले रात कसरी कटाउँछस् ? भनेर । साच्चिकै मान्छेहरू रातको बारे कुनै प्रश्न खडा गर्दैनन् । कतै मान्छेहरूलाई लाग्दो हो कि रात ‘ छु मन्त्रमै’ कटिजान्छ । किन मान्छेले रातलाई प्रश्न खोसिएका अाँखाले हेर्छन् ? किन वास्ता गर्दैनन् रातलाई ? किन कुनै प्रश्न गर्दैनन् रातमाथि ?

या निशा सर्वभूतानां तस्यां जाग्रति संयमी । लाग्दो हो रात भनेको संयमीको हो । रातको बारे सोध्ने ,सोच्ने सबै ठेक्का उनैलाई छ । हामीलाई दिन छदैछ । हाम्रा दिन छदैछन् । रातको हामीलाई ‘छु मतलव’।
रातको बारेमा प्रश्न गर्नु भनेको अँध्यारो विरुद्ध बोल्नु हो । कस्तो गाह्रो छ अँध्यारो विरुद्ध बोल्नु । अँध्यारो छ र त हाम्रो छाँया छ । दिनभर घाममा हिंडिरहदा कति बेला अघि कति बेला पछि एउटा निन्याउरो छाँया हिंड्छ ।  कसैलाई कसैसँग हिंड्न फुर्सत नभएको बेला छाँया हिंडिदिन्छ । हामीलाई यसैले पुगिसरि छ ।रात पनि गज्जप जाति चीज हो । कसैको रहस्य कसैलाई बताउँदैन । रातभर जे गर तिमी  बिहान उसले कसैलाई बताउने वाला छैन । यस्तो निको चीजमाथि प्रश्नचिह्न उठाउनु पनि त भएन ।

म रातभर नसुतेको कुरा उसले बिहानै दगुर्दै क्षितिजनिर पुगेर घामलाई भनिदिँदो हो त मलाई कस्तो अफ्ठेरो परिजान्थ्यो । घामले बिहानै रुखका पात, घरको झानो, नदीको बेग, चराको पखेटा सबै सबैलाई भन्थ्यो होला । पातको शीतलाई त अझ लय हालेर सुनाउथ्यो होला । आधा सुन्दासुन्दै शीत सुकिजान्थ्यो । घाम मुस्कुराउथ्यो होला । रात साच्चिकै निको छ । कसैलाई केही भन्द‌ैन ।

म हिजो राति कति कोल्टे फेरें भन्ने सबै सङ्ख्या राखेको छ रातले । तर कसैलाई भन्दैन । हिजो रातभर मेरै बिस्तारामा थियोे रात । अबेरसम्म मैले के के कुरा गरिबसें रातसँग । रातलाई मैले उसको फोटो पनि देखाइदिएँ । उतिबेलै उसले कता कताबाट थाहा पाएछ । भन्यो – ऊ त मस्त निदाइरहेकी छे यति बेला !

थाकेर एउटा दिन पल्लो खाटमा भुसुक्क निदाइरहेको थियोे । म र रात रातभर जागा बस्यौं । बिहानपख मलाई निद्रा लागेछ । निदाएछु । म बिउँझिदा रात थिएन मेरो कोठामा । दिन भनें उठेर अाँखा मिचिरहेको थियोे ।मैले पनि अाँखा मिच्दै भनें – हाइ डे, गुड मर्निङ  । ऊ उज्यालो हाँस्यो ।

****
एक दिन आफैलाई एकनजर तलदेखि माथिसम्म हेरेको थकथक लाग्यो।
…हैन , नोकरी नगरी भएन । लाजको पसारो पो भयो त ।

शरिरमा आफ्नो दामले किनेको एउटा लुगा मात्रै  रहेछ । भित्रिवस्त्र मात्रै ।टिसर्ट उसको गिफ्ट । पाइन्ट पनि उसले किन्देको । वनियान साथीको गिफ्ट हानेको।घडी त्यो थोरै पनि समय नदिने मान्छेले दिएकी । पर्स उसले किनिदिएकी । पर्समा राखेको फोटो  अर्कै मान्छेको । पर्सको कुनामा सुकेको बेरङ फूल झन् खै ! कसले पो दिएको हो । बिर्सें ।

पाइतलाबाट नशा नशामा बैराग चढेर माथि शिरतिर उकालो हिंड्यो । आफैलाई हेर्दा पसिना अाउन थाले । म आगनबाट कोठीमा पुगें । ह्वातहुत्तै कपडा खोलें । एउटा गम्चा बेरेर बाहिर निस्किएँ ।

आमा कराउनु भो फेरि – खेताँ गएर भँगेरा धपाउला भनेको ! नागो भएर बसेछ फेरि । धान भ्याइसके ज्याम्पुरीले !

आङमा पुराना कपडा भिरें  । झोलामा अघि खोलेका टिसर्ट र पाइन्ट राखें । हातमा हँसिया समातेर खेततिर निस्किएँ ।

तगारोमा के पुगेको थिएँ । बाख्रा खेद्दै जङ्गलबाट सानी आउँदै रहिछ । मलाई हेरेर मुस्कुराएर गई । सानीले बाटो काटेपछि आफूलाई हेरें एकपटक । आमाले किनिदिएका लुगा हरेछन् क्यारे मैले पहिरिएका ! तिनै पुराना लुगामा पनि कस्तो राम्रो देखिएछु म । सानी पनि मुस्कुराई । सस्तो मुस्कान कहाँ हो त नि उसको । सोच्दासोच्दै खेतमा पुगेछु ।

चैते धान । फाँटको उपल्लो लुङमा पाकेर पहेँलो भएको । माथि टाढाबाट हेर्दा त फाँट सर्वाङ्ग विकसित युवती जस्तो देखिन्थ्यो । हाम्रो खेत त्यही युवतीको शिरमा टाँसिएको सुनको चन्द्रमा !

हाsss गरेर अावाज निकालें । एक झुप्पा भँगेरा उडेर खेतबाट पर पुगे । पँहेला धानका बाला युवतीका कानमा झुम्काजस्तो हल्लिए ।

हाडेको हाँगा काटेर मैले खेतको अालिमा बुख्याचा बनाएँ । अघि झोलामा राखेका टिसर्ट र पाइन्ट लगाइदिएँ । एकछिन हेरिरहें । मजस्तै देखियो। हाँसे ।

कसले किनिदिएको हो ती लुगा सम्झे एकपटक ।अन्तिम पटक त्यो मान्छेसँग कहिले कुरा भएको थियो त्यो पनि सम्झिएँ । उसले कति जनालाई दिएको होला त्यस्ता लुगा ? म कतिअौंमा परें हुला ? अचेल भर्खरै उसको हातबाट उपहार कसले पायो होला ? उपहारका लुगा लगाएर साथीलाई भेट्न गएको ऊ , साथीले काँधनिर हात राखेर अंकमाल गर्दा छिटोछिटो अंगालोबाट छुट्टिन्छ होला । फोहोर लाग्छ कि भन्ने लाग्दो हो लुगामा !

म मान्छु उपहार दिने मान्छेभन्दा उपहार बहुत मूल्यवान हुन्छ कुनै बेला । उसको उपहार फिर्ता गर्न गएको म उसले त्यो सामान यत्तिकै फ्याँकिदिन्छ कि भन्ने डरले फिर्ता नगरेरै फर्किएको छु । बहुत धेरै प्रिय हुन्छ कुनै बेला उपहार ।

जुन बेला उपहार दिनेले तिम्रो मूल्य तोकिदिन्छ दुई रुपैयाँ । तब च्यातुँ च्याँतु लाग्दो रहेछ मुटु पनि । यदि त्यही मान्छेले उपहार दिएको हो भनें । फोडौं फोडौं लाग्दो रहेछ टाउको पनि । कतै झुक्किएर भाग्यमा उसको नाम छ भनें फुटेको टाउकोको टुक्राटुक्रामा खोजेर चक्कुको चुच्चोले केरमेट गरौं गरौं लाग्दो रहेछ ।

ए अँ बुख्याँचा मजस्तै देखियो । एकछिन हेरिरहें । हाँसो लाग्यो । खेतको कुनाबाट एकमुठ्ठी हिलो झिकेर उसलाई हानें । अब भोलि आमा आएर हेर्दा ती लुगा पुराना र फोहोर देखिने छन् । अामाको गाली खानु पर्ने छैन मैले ।

यसै गरेर कति भागियो समयसँग । जिन्दगीसँग । परिस्थितिसँग । हिलो छ्यापेर हिंडियो जिन्दगीमाथि । अाली छेउको बुख्याँचालाई जस्तो । सानोमा भोटे कुकुर भएको घरको टिनको छानोमा ढुङ्गा हानेर भाग्नु जस्तै रहेछ जिन्दगीसँग भाग्नु भनेको । कहाँनिर पुगेर चप्पल चुँड्ने हो भन्ने थाहा हुँदैन । कहाँनिर पुग्दा घुँडा ठोक्किने हो । कहाँनिर आफ्नै खुट्टामा अल्झेर लडिने हो । पछिपछि लखेट्न आउँदै नआएको भोटे कुकुरको भयले कहाँसम्म लखेट्ने हो थाहा हुँदैन ।

****

मोबाइलमा समय हेर्न सिकाइदे भनेको उसलाई  त्यसैमा घोप्टिदैमा फुर्सत छैन – आमाले भन्नुभो -किन उजेलो हुन्न भन्चु , छिमेकाँ किन कोही उठ्दैनन् भन्चु , हिजो मध्यरातमा उठेर गोठल्याँइ गरिचु ।

अामा हिजो राति नै उठ्नु भएछ बिहान भो भन्ने सोचेर । मोबाइलमा समय हेर्न नजानेकोमा खेद गर्नु भो ।

मैले घडी लगेर गोठको बिजुलीको बल्बनिर झुन्ड्याइदिएँ । आमालाई गोठमा बोलाएर भनें – बिहान चाँडो उठेजस्तो लागे यो घडी हेर्नू , जान्नुन्च नि यसमा समय हेर्न त ! पाँचबजे भन्दा अगाडि उठ्ने हैन त्याँ ।

– छि ! बौलाइस् क्या हो । त्यति राम्रो घडी त्याँ ल्याएर झुन्डा छ । कल्ले टिपेर हिंड्चन्  र !

आमा घडी निकाल्न खोज्नु भो भित्ताबाट । बलियो गरेर राखेको हुनाले सक्नुभएन । कुन्नि के के फत्पताइरहनु भो गोठतिर आमा । म आँगनमा पुगिसकेको थिएँ ।

मलाई सम्झिन पनि अल्छी लाग्यो कसले दिएको हो त्यो घडी भन्ने । मैले यत्ति बुझें – जसलाई समय दिने मन हुँदैन ,उनीहरूले घडी उपहार दिंदा रहेछन् ।

****

खुब अानन्द लागेको थियो त्यो फोटो निकालेर फ्रेममा राख्दाको दिन । मेरो रहर थियो । मैले सुनाएको थिएँ पुलचोकको ठूलो होडिङबोर्डमा  स्याम्पुको विज्ञापनमा रहेको अालिया भाटको फोटो देखाउँदै दिनेशलाई – ” ऊ त्यहाँ राख्ने हो तेरी भाउजूको फोटो । “

दिनेशले सुटुक्क पुरा गरिदिएछ रहर । उसले त्यो फ्रेम सहितको फोटो मलाई दिंदा म धेरै खुसी भएको थिएँ । म केही बोल्न नसकेर उसको हात समातिरहें ।

फोटोको फ्रेम पछाडि कालो अक्षरमा ‘विशेष ‘ लेखिएको थियो । साच्चिकै विशेष नै थियो । तर अहिले शेष बाँकी छ । ‘ वि ‘ कुन्नि कहाँ गयो।

मेरो झोलामा त्यो फोटो कहिल्यै टुटेन । काठमाडौं जाँदा होस् या घर जाँदा। दिनभरको यात्रामा पनि मेरो काखमा रहन्थ्यो झोला । म झोलालाई काखी च्यापेर भुसुक्क निदाउथें यात्रामा । कति सजिलोसँग अाउँथ्यो निद्रा पनि । झोलाले पनि कुनै यात्रा बसको डिक्कीमा बसेर गर्नु परेन । न त छतमा नै फ्याँकिनु पर्यो ।

लामो समयपछि मलाई त्यो झोला बहुत गह्रौ लाग्न थाल्यो । मैले बोकेर हिंड्न नसक्ने भएँ । मलाई कहिल्यै लागेको थिएन एउटा फोटोको वजन यति धेरै हुन्छ भनेर । म झोलाले च्यापिएर थला पर्न थालें । ऐना हेर्दा लाग्यो म धेरै बूढो भैसकेको छु उमेर अगाडि नै । मैले निर्णय गरें नयाँ झोला किन्ने ।

नयाँ झोला किनेपछि पुरानो झोलाले च्यापिनु परेन मलाई । तर मलाई राति ऐठन हुन थाल्यो । पुरानै झोला बोकेर म नदीको किनारै किनार उकालो हिंडिरहेको सपना देख्न थालें । मलाई धेरै गाह्रो भैरहेको हुन्थ्यो । झोलाको भारले मलाई तलतिर तान्थ्यो । कुनै कुनै दिन त म नदीमा खस्थें । नदीको बीच भागमा डुब्दै उत्रिदै गर्थें म । ब्युझिदा म लुझुप्प भिजेको हुन्थें पसिनाले ।

कहिले फेरि अर्कै सपना देख्थें म ।सपनामा कुन्नि कसले त्यो झोला मेरो छातीमाथि राखिदिन्थ्यो । मलाई सास फेर्न गाह्रो हुन्थ्यो । जति कोसिस गर्दा पनि म छातीमाथिको झोला फ्याँक्न सक्दिनथें । सिरक जोडले फाल्दै म बिउझिन्थें । पसिनाले लुझुप्प भिजिरहेको हुन्थें । तर झोला भनें राखेकै ठाउँमा हुन्थ्यो ।

एकदिन साँझपख नयाँ झोला बोकेर म कोठाबाट निस्किएँ । झोला रित्तो थियो । मलाई कुनै चीज पनि राख्ने साहस थिएन झोलामा । अझै रित्तो नै छ झोला पनि । तर त्यसपछि म त्यो कोठामा गएको छैन ।

अचेल पनि सपना देख्छु म । नयाँ झोला बोकेर नदी किनारै किनारै उकालो उकालो हिंडेको । कति कति बेला जोडले चलेको हावाले उडाउन खोज्छ मलाई । म साना साना दुई चार ढुङ्गा टिपेर झोलामा राख्छु । फेरि उसै गरेर उकालो उकालो हिंडिरहेको हुन्छु नदी किनारै किनार !

के भनौं कि म मेरा रात कसरी काटिरहेको छु ।
अझै धेरै दुख त यो कुरामा लाग्छ कि आजसम्म कसैले सोधेको छैन मलाई – तँ रात कसरी काट्छस् ? भनेर ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु