Information is intelligence
HomeNewsकोरोनाको कहरले गर्दा भोटो जात्रा नहुने

कोरोनाको कहरले गर्दा भोटो जात्रा नहुने

- Advertisement -spot_img

बुंगद्यो अर्थात रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट डेढ सय मिटर परसम्म तानेर रथयात्रा सम्पन्न गरिएपछि प्रसिद्ध भोटो जात्रा नहुने भएको छ ।

गुठी संस्थान ललितपुरका प्रमुख खीमा वलीका अनुसार रथ बनाउने बाराहीहरूले कूल पूजा गरिसकेपछि भोटो नदेखाई यही जेठ ५ गते देवतालाई बुङमति लगिने छ । भोटो जात्रा नहुने भएसँगै थुप्रै धार्मिक विधि र परम्पराहरू पनि तोडिएको छ । कोरोना संक्रमणको जोखिमका कारण सांकेतिकरूपमा रथ तान्ने निर्णयसँगै भोटो जात्रा नहुने अवस्था बनेको हो । गत वर्षलाई आधार मानेर शनिबार पुल्चोकदेखि मण्ड फल्चा (सोह्रखुट्टे पाटी) करिब डेढ सय मिटरसम्म रथ तानिएको थियो । कोरोना महामारीका कारण दुई वर्षयता सांकेतिकरूपमा रथ तानेर रातो मच्छिन्द्रनाथको रथयात्रा समापन गर्दै आएको छ । रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याएको चार दिनपछि राष्ट्राध्यक्ष, कार्यकारी प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको हिरा, मोती, मणि, माणिक्य जडित भोटो देखाउने गरिन्छ । रथ पुल्चोकबाट तानेर गाबहाल, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेल पु-याउन अघिपछि कम्तीमा अढाइदेखि बढीमा पाँच महिना लगाउने गरेको छ । यसले गर्दा सो रथयात्रालाई उपत्यकाको लामो रथयात्राको रूपमा लिइन्छ ।

संस्कृतिमा ऐतिहासिक निरन्तरताको प्रश्न निकै महत्त्वपूर्ण हुने गर्दछ । गत वर्षलाई नजीर मानेर यस वर्ष पनि सांकेतिकरूपमा रथ तानियो । यसले गर्दा भविष्यमा त्यस्तो केही अवस्था आएमा फेरि सांकेतिकरूपमा रथ तान्न मिल्ने रहेछ है भन्ने मान्यता जनमानसमा क्रमशः स्थापित हुँदै जाने खतरा रहेको भन्दै बुङमतिका प्रसिद्ध गुरुजु विश्व बज्राचार्यले चिन्ता व्यक्त गरेका छन् । उनी भन्छन् –‘पहिला त सांकेतिकरूपमा तानियो, अहिले किन नमिल्ने भन्ने प्रश्न कसैले उठायो भने रथयात्राको परम्पराको निरन्तरतामा बाधा नआउला भनेर कसरी भन्ने ?’रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा १४ सय वर्षदेखि निरन्तररूपमा चल्दै आएको छ । ९० सालको भूकम्प, राजा रणबहादुर शाहको पालमा बिफर महामारी हुँदा, राजामहाराजाहरू स्वर्गारोहण हुँदा पनि रथयात्रा निरन्तररूपमा चल्दै आएको इतिहास रहेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सांकेतिकरूपमा तानिएपछि भोटो जात्रा मात्र नभई यससँंग जोडिएका थुप्रै जात्रा, धार्मिक विधि विधानअनुसार गरिने पूजाहरू खण्डित हुँदै गएको रातो मच्छिन्द्रनाथका पानेजु र ज्योतिषीहरू बताउँछन् । रथ गाबहालमा पुगेपछि परम्पराअनुसार वैष्णवी देवीको पूजा, बन्धुदत्त आचार्यका सन्ततीहरूले गर्नुपर्ने गुरुपूजा र बसुन्धरादेवीको पूजा गर्ने परम्परा रहेको ज्योतिषी कृतिमदन जोशीले बताए ।

त्यसैगरी, मंगलबजारमा मल्लराजाहरूले रातो मच्छिन्द्रनाथको (सयौँ वर्ष पहिले मंगलबजार चोकमा हखुखोला रहेको र त्यहाँ रातो मच्छिन्द्रनाथको धोती फेर्नुपर्ने परम्पराअनुसार) धोती फेर्ने र दरबार पूजा गर्ने परम्परा रहेको छ । सांकेतिकरूपमा रथ तान्ने निर्णयसँग सो परम्परा पनि कटौती गरिएको छ । त्यस्तै, रथ सुन्धारामा पुगेपछि बाराहीहरूले पूजा र होम गर्ने परम्परा रहेको छ । रथ लगनखेल पुगेको दिन बुधबार वा एकादशी नपरेमा सोही राति महाबली पूजा गर्ने परम्परा पनि रहेको छ । ललितपुर चल्खु निवासी विश्वन्तर शाक्यको पनि ऐतिहासिक परम्पराको निरन्तरतामा क्रमभंग गरिएकोमा चित्त बुझेको छैन । रथ तान्ने पहिलो दिन टंगलबाट मीमनाथको रथ तानेर पुल्चोकस्थित महानगरपालिकासम्म तान्नुपर्ने परम्परा पहिलोपटक खण्डित भयो । गत वर्ष लकडाउनको बेलासमेत त्यस्तो भएको स्मरण गर्दै उनले भने–‘एकपछि अर्को गर्दै संस्कृति र परम्पराहरू खण्डित हुँदै गएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा नै संकटमा पर्दै जाने त होइन भन्ने आशंका र प्रश्नहरू जन्मिएको छ । बरू रथ नै नबनाएको भए के बिग्रिन्थ्यो र ?’

यस वर्ष रथ बनाउन करिब करिब ५५ लाख खर्च भएको गुठी संस्थानले जनाएको छ । त्यत्रो रकम खर्च गरेर रथ बनाउने बेलामा पनि कोरोना संक्रमितको संख्या र मृत्युदर बढिरहेको थियो । तैपनि, १५ दिन हेरौं भनेर रथ बनाइयो । भदौसम्मको समय बाँकी नै रहेकोले त्यसपछि कोरोनाको अवस्था हेरेर निर्णय गर्नुपर्ने रथयात्राको सम्बन्धमा सरोकार राख्दै आउनुभएका ललितपुरका पृथविन्दु महर्जन बताउँछन् । उनी प्रश्न गर्छन् –‘बजेट खर्च गर्ने बेला पर्खिन मिल्ने र अहिले केही समय स्थगित गर्न नमिल्ने किन ?’ विकल्पहरूमा जानुको साटो सांकेतिकरूपमा रथयात्रा गर्ने अन्तिम विकल्प रोजेर उपत्यकाको लामो रथयात्रा भन्ने परम्परा र पहिचानलाई समाप्त पार्न खोजिएको त होइन भन्ने आशंका पनि व्यक्त गरे । रथयात्रा तत्काल स्थगित गरी महिना दिनपछि कोरोना संक्रमणका स्थिति हेरेर रथयात्रा गर्ने विषयमा पुनःविचार गर्ने विकल्प किन रोज्नुभएन भन्ने प्रश्नमा ज्यापू समाज यलका अध्यक्ष चन्द्र महर्जनले भने–‘महिना दिनसम्म रथ पुल्चोकमै राखिएमा घाम पानीले रथ बिग्रिन सक्दछ । यसले गर्दा सो विकल्प छनौट नगरिएको हो । फेरी ज्यापू समाजले मात्र रथकोे जिम्मेवारी लिन सकिन्न । हाम्रो काम भनेको रथ तान्ने बेला सहायक र व्यवस्थापकीय भूमिकामा सघाउने मात्र हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय