Information is intelligence
HomeNewsअन्नपूर्ण पदमार्ग पुनः सुनसान

अन्नपूर्ण पदमार्ग पुनः सुनसान

- Advertisement -spot_img

कोरोना भाइरसको उच्च जोखिमसँगै प्रसिद्ध अन्नपूर्ण पदमार्ग पुनः सुनसान भएको छ । पदयात्राका लागि उपयुक्त मौषम भए पनि दोस्रो प्रकारको कोभिड–१९ को प्रभावले अन्नपूर्ण पदमार्ग पुनः सुनसान भएको हो ।
लमजुङको सदरमुकाम बेसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गमा अघिल्लो वर्षदेखि नै सुनसान बनेको हो । पर्यटकहरूको उत्साहजनक आगमन हुने सिजनमा कोभिड प्रभावकै कारण यो वर्ष न्यून पर्यटक आगमन भएको थियो । यद्यपि पछिल्लो सातामा काठमाडौंसहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा भएपछि पदमार्गमा पर्यटक आगमन ठप्प भएको छ ।
पदमार्गमा यही सिजनमा आएका पर्यटक पनि संक्रमण बढ्दै गएको भन्दै फर्किसकेका छन् । अहिले सरकारले बाह्य उडान बन्द गरेसँगै अधिकाँश पर्यटक नेपाल बस्ने समयावधि छोट्याएर आफ्नो देश फर्किएका हुन् ।
बाह्य उडान बन्द भएसँगै हाल पर्यटक आगमन पनि पूर्णरूपमा ठप्प छ । अन्नपूर्ण पदमार्गमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म पदयात्राको पिक सिजनको रूपमा लिइन्छ । पर्यटकीय सिजनमा काठमाडौंको ठमेलजस्तै हुने सदरमुकाम बेसीसहरदेखि मनाङसम्मका होटल क्षेत्र गत वर्षदेखि नै सुनसान छन् । पदमार्गअन्तर्गतका पर्यटकीय होटलमा पर्यटकको आगमन नभएपछि व्यवसाय पनि ठप्प भएको छ ।
कोभिड–१९को प्रभावका कारण लगातार दुई वर्षसम्म पर्यटक नआएपछि पर्यटन व्यवसायी समस्यामा परेको व्यवसायीहरू बताउँछन् । आम्दानीका लागि पर्यटकीय सिजन पर्खेर बसेका व्यवसायी पर्यटकहरू आउने मुख्य सिजनमै ढोका लगाएर बस्नुपर्ने बाध्य भएको व्यवसायीको भनाइ छ ।
अन्नपूर्ण पदमार्गअन्तर्गत होटलसँगै दैनिक सयौंको संख्यामा पर्यटक ओसार्ने सवारी साधन र यातायात व्यवसायी पनि समस्यामा परेका छन् । पर्यटक आउने सिजनमा रातदिन नभनी काम गरिरहने व्यवसायी हाल यात्रु नपाएर हैरान भएका छन् । पर्यटक आउने मुख्य सिजनमै पर्यटकहरू नभएपछि उनीहरूको व्यवसायमा संकट नै आइपरेको यातायात व्यवसायीको दुःखेसो छ ।
पर्यटकहरूको आगमन घटेसँगै टानअन्तर्गत बेसीसहरमा रहेको पदयात्री सूचना व्यवस्थापन प्रणाली टिम्सको कार्यालय पनि गत वर्षदेखि बन्द भएको छ । पर्यटक आगमन घटेसँगै एक्यापले पनि जिल्लाका दुईवटा कार्यालय बन्द गरिसकेको छ ।
लमजुङ सदरमुकाम बेसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रूपमा चिनिन्छ । बेसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे, थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदमार्गको यात्रा पूरा हुन्छ । संसारकै सबैभन्दा उचाइमा रहेको मनाङस्थित तिलिचो तालसम्म पुग्ने पर्यटक पनि अन्नपूर्ण पदमार्ग भएर आउने गरेका छन् ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय