Information is intelligence
HomeNewsनिषेधाज्ञामा पनि खेलमैदान निर्माण

निषेधाज्ञामा पनि खेलमैदान निर्माण

- Advertisement -spot_img

निषेधाज्ञा जारी रहेको अवस्थामा पनि पोखरा फुटबल खेल मैदानको बाँकी निर्माणकार्य सुरु भएको छ । पोखरा रंगशालाको अधुरा काम कोरोनाकालमै सकिने गरी १३औं सागदेखि स्थगित भएको पोखरा रंगशालाको फुटबल खेलमैदानको काम सुरु गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले बताए ।
कोरोनाको समयमा विकास निर्माणलाई आफूहरूले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी अघि बढाएको दाबी गरेका उनले मजदुरलाई विशेष निगरानीमा काममा लगाएकोे जनाए । रंगशालामा हाल भारत तथा बर्दियासहितका करिब २५ जना मजदुर कोरोनाकै समयमा अनिवार्य रूपमा पीसीआर परीक्षण गरेर नेगेटिभ नतिजा आएकालाई काममा लगाइएको सदस्य गुरुङले बताए । उनले भने, “म यस क्षेत्रको प्रतिनिधि भएको नाताले पनि कोरोना कालमा रंगशालामा र प्रदेशका ११ जिल्लामा भएका ठूला लगानीका खेलकुदका भौतिक संरचनाको अवस्थाको बारेमा बुझेर बाँकी रहेका कामलाई अघि बढाउन चाहेकोे छु ।” राखेपले उनलाई प्रदेशका खेलकुदको भौतिक संरचनाको रेखदेख र व्यवस्थापनका लागि जिम्मा दिएसँंगै कोरोनाकालमै केही नतिजा आउने गरी काम गर्ने लक्ष्यका साथ अघि बढेको गुरुङको दाबी छ ।
पोखरा फुटबल खेलमैदानको हालसम्म करिब ८५ प्रतिशत निर्माणकार्य सम्पन्न भएकोे निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इन्जिनियर दीपक बरालले बताए । उनका अनुसार हाल प्रि–इन्जिनियरिङ बिल्डिङ (पीईबी) र ट्रससहितको छानो हाल्ने काम सुरु भएको छ । २५ जना मजदुरसहित क्रेनको सहायतामा उक्त निर्माणकार्य सुरु भएको ई. बरालले बताए । भीआईपी प्यारापिटतर्फ छानो हाल्न डेढ महिना लाग्ने भएको ई. बरालले जनाए । उक्त फुटबल खेलमैदानको अन्तिम फिनिसिङ, छानो र शौचालयसहितको काम सक्न करिब ६ महिनाको समय लाग्ने उनले जनाए ।
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को समयमा सक्नुपर्ने उक्त योजना प्राविधिक कारणले ढिलाइ भएकोमा यस वर्ष भने कोरोनाका बाबजुत आफूहरूले निर्माणकार्य अघि बढाएको बरालले जनाए । पोखरा रंगशालाको चारैतर्फ गरी हालसम्म १६ हजार ५ सय सिट क्षमताको प्यारापिटसहितको हरियो दुबोको फुटबल मैदान तयारी अवस्थामा रहेको म्यानेजर ई. बरालले बताए । भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एमए कन्ट्रक्सन जावलाखेल ललितपुर (जेभी) कम्पनीले उक्त प्रोजेक्ट एक अर्ब २८ करोडको लागतमा निर्माण गर्ने गरी जिम्मा लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय