Information is intelligence
HomeLiteratureखै! बजे

खै! बजे

- Advertisement -spot_img

जल्दी जल्दी बगिरहेको छल्दी खोलामाथि रहेको पुलको एक छेउमा यसैयसै नाङ्गो रुखजस्तो उभिन्छु म।आफ्नो लयमा एकसुरसँग बगिरहेछ खोला।खोलासँग सोधिमाग्न मन लाग्छ मलाई – “के तँलाई समुन्द्रले बोलाएको छ ?”

कस्तो अचम्म ! खोला रोकिन्छ र मलाई हेर्छ।अनि भन्छ –  “नाइँ ,बोलाएको त छैन।”
– “अनि किन मरिहत्ते गरेर दगुरिरहेछस् त?”
– “मरिहत्ते गर्नमा त तँ पनि माहिर छस् नि।”

मुसुक्क हाँस्छ र फेरि दगुर्छ खोला।म ट्वाँ परिरहन्छु।

कुन्नि किन हो अचेल सबैले यसै भित्र कता चिमोटेर जान्छन् मलाई ।म हाँस्न सक्दिनँ।फेरि रुन पनि त सक्दिनँ म।खोला दगुरिरहन्छ।कुन्नि किन मिसिन पुग्छ समुन्द्रमा।ऊ मिसिन आएकोमा समुन्द्रले कहिल्यै धन्यवाद! पनि त भनेन।

मलाई त लाग्छ समुन्द्रमा मिसिनु भन्दा अाफ्नै सानो कुवा होस्।जिन्दगी चेपागाँडा र भ्यागुता पालेर सकियोस् बरु।बिष नभएका सर्प अंगालेर सकियोस् बरु।तर मिसिएर हराइजान नपरोस्,आफूलाई गुमाइजान नपरोस् ।सँगै हुनु परोस् साथमा हुनु परोस् तर एक हुनु नपरोस्।

बाँच्नु छ आफ्नो जिन्दगी आफूले,बाँच्ने तरिका भने अरुलाई मन पर्ने हुनु पर्ने। नाइन्साफी हुवा ना ये तो ।

कस्तो बाक्लो रिस उठेर अाउँछ बेलाबेला।मन कस्तो अराजक भैजान्छ बेलाबेला।म मनमनै धेरै जनाको हत्या गरिसक्छु।चक्कुले रोपेर पेटलाई छिद्रामय बनाइदिन्छु।हजार टुक्रा पारिदिन्छु।टुक्रा जति सबै एउटा टोकरीमा राखेर आफू आगनको डिलमा बसेर एक टुक्रा गिद्धलाई दिन्छु।दोस्रो टुक्रा कुकुरलाई दिन्छु।तेस्रो स्याललाई दिन्छु।यसै गरेर बिस्तारै सबै टुक्रा समाप्त पार्छु र मजाले छाती पिटिपिटी हाँस्छु।अनि रिस बिस्तारै सान्त हुँदै जान्छ।

रहरहरु पनि कस्तो आफैलाई डर लाग्ने खालका पलाउँछन् मभित्र।धेरै समयदेखि जेल जान मन लागिरहेछ।कुन दिन फ्याट्ट जान्छु।अनि कस्तो रमाइलो भैजान्छ।आफूलाई मजा आए त भैहाल्यो नि है! आफूलाई खुसी मिले त भैहाल्यो नि है!

म  आफ्ना रहर आमालाई सुनाउँछु।आमा रिसाउँदै भन्नुहुन्छ – “स्वाल्लाको गर्।”अनि धुवाँले ताण्डवनाच गरिरहेको भान्सातिर जानुहुन्छ।

कस्तो मीठो कुरा गर्नुहुन्छ आमा- “तँलाई स्वाद लागेको कुरा गर्।”थोरै रिसको मात्रा मात्रै बढी भो नत्र त साह्रै गज्जप गर्नुहुन्छ आमा।रिस नमिसाइकन त्यति भनिदिए त कस्तो राम्रो हुन्थ्यो।म फेरि भित्रै भान्सामा पुगेर भन्छु- “आमा नरिसाइकन भन्दिनु न त्यति।”

आमा नजिकै रहेको आगो फुक्ने ढुङ्ग्रोले झटारो मार्दै भन्नुहुन्छ- “तेरो त…। यसलाई त म के गरु र बरै!”म रिसाएजस्तो गर्दै ढुङ्ग्रो लगेर अामाको नजिकै राखेर घुसघुस पारामा भन्छु- “त्यति भन्देपार के जान्तो र बुढीको।”म ढोकामा पुग्दा भन्नू हुन्छ- “कतै नजा है।नास्ता खाएर जालास्।” म यसै खाटमा भुनभुन गर्दै बस्छु।

नास्ता खाइसकेपछि भन्छु म- “आउनुस्,म हजुरलाई क्यान्डीक्रस खेल्न सिकाउँछु।”
– “आफ्ना याँ हजार काम छन्।तैं जैरेसँग खेलेर बस्छु अब।”
– “भिडियो कल गर्न सिकाउँछु के इमोबाट।कान्छो छोरोलाई के। आउनु त ह्याँ।”

आमा आएर छेउमा बस्नुहुन्छ।म सिकाउँछु- “ह्याँ थिचेसि फोन जान्च।रातो भागमा थिचेसि काटिन्च।”म यस्तै के के भन्छु । आमाले जानेजस्तो गर्नुन्छ।बाख्रो कराउँछ । दगुर्दै गोठतिर जानुन्छ आमा ।अनि सिकाइ कार्यक्रम सकिन्छ यत्तिकैमा ।

साँझ अबेरसम्म हामी के के कुरा गर्छौं । भन्नुहुन्छ- “माइलो छोरो सबैका बाङ्गो हुन्छन्,टेढे हुन्छन् । भनेको नटेर्ने अटेरी हुन्छन् ।”

म आफूलाई छाम्छु एकपटक अनि मनमनै भन्छु- “हो आमा।सत्य हो। छोराको बारेमा आमाले नबुझेको कुरा अरु कसले बुझ्न सक्छ ?” फेरि आवाज निकालेर भन्छु- “जेठो कान्छो पनि त त्यै बारीको मुला हुन् क्यारे। मलाई मात्रै भन्ने खुब ।”साइडमा बस्नु भएको दाइले भन्नुहुन्छ- “जेठो त भगवानजस्तै हुन्छन् है आमा !”

कान्छो छैन घर । भएको भए ऊ पनि केही भन्थ्यो । अस्ति घर छोड्दा मनिलो भएको थियो।जुन कुनै  कुरा छोड्न गाह्रो नै हुन्छ ,विशेष गाह्रो घर छोड्न हुन्छ । विशेष नमज्जा छ । हामी दुई भाइ भएर पनि कान्छो छैन घर । कस्तो धेरै सम्झिरहेछु म उसलाई । त्यहीँ पनि आमाले सम्झिए जत्ति भने हैन ।

बिजुली दिउँसोबाट नै छैन।हामी अँध्यारोमा नै बसेर गफ गरिरहेछौ । बिजुली हुन्थ्यो भनें यस्तो बसाइ हुन्थेंन । म टिभी कोठामा हुन्थें।दाइ कतै भुल्नु हुन्थ्यो । धन्न! बिजुली छैन । एक थोक नहुनाले धेरै थोक पाउन पनि त सक्छौ हामी ।आमाले चिया बनाउँनुन्छ । रातको दश बजिसक्छ।धेरै कालखण्डपछि हामी यसरी बस्छौं ।

फेशबुक खोल्छु । म्यासेज छन् केही । खास हेर्न हतार गरिहाल्नु पर्ने म्यासेज छैन । हेर्न हतार गरिहाल्न मन लाग्ने म्यासेजमार्गमा अस्ति मैले पठाएको म्यासेज अझै उताबाट हेरिएको छैन । र ,पनि मेरो मन दुखिहाल्ने सोचमा छैन । किन कि यस्तो भएको यो पहिलो पटक हैन ।

केही समयदेखि मलाई – आफ्नो ख्याल गर्नु है – भन्ने मान्छेले म्यासेज गर्छे । कस्तो मीठो आइमाई छे यो । कस्तो मापाकी आइमाई । मजस्तोसँग बोल्ने आदत बनाएकी छे । दुख पाउँछे यसले । म अल्लि अर्कै छु । आमाको भाषामा भन्ने हो भनें टेढो छु,बाङ्गो छु । म यसै हराईजान सक्छु,म यत्तिकै बिलाइजान सक्छु,म हावा नलाग्दै निभिजान सक्छु,म नजमिकनै पग्लिजान सक्छु,म अफ्ठेरो बाटो हिंडिजान सक्छु,म डाँडामा नपुग्दै अस्ताइजान सक्छु ।

मलाई मान्छे रोएको हेर्न खुब मजा लाग्छ । धेरै पटक म आफ्नो मजाका निम्ति आफूलाई ऐना अगाडि उभ्याएर रोएको छु । त्यो बेलामा तिमीलाई सम्झिनु, तिम्रो याद आउनु त केवल संयोग मात्रै हो, केवल दुर्भाग्य मात्रै हो ।

मलाई आफ्नो ख्याल राख्न सम्झाइरहने मान्छेले म्यासेज गर्छे । लेख्छे – मान्छे !- हजुर
– खान खानु भो?
– खाएँ त । तिमीले?
– पक्का खानु भो नि ? हजुरको भर लागे पो ।

मलाई निद लाग्दैन, खान मन लाग्दैन भन्ने यो आइमाईलाई थाहा छ । कुन्नि कसरी थाहा पाई ।मलाई चैं थाहा छैन । ऊ मलाई मेरो सबैभन्दा राम्रो स्टाटसभन्दा राम्रो ठान्दछे । ऊ मलाई उसलाई मन परेको राम्रो गजलको शेरभन्दा धेरै मन पराउँछे । म भगवानसँग अचेल यहीँ कामना गर्छु कि- उसको भ्रमको पर्दालाई कहिल्यै नच्यातिदेऊ ईश्वर । नत्र ऊ बहुत दुखित हुनेछे ।

हजुर कति बेला सुत्ने- ऊ म्यासेज गर्छे । मलाई भन्न मन लाग्छ- ए मान्छे!
म त्यस्तो भाग्यमानी मान्छे हैन कि सजिलोसँग निद आओस् । निद्राको ड्युटी मेरोमा त हप्तामा एकदुई पटक मात्रै पर्छ ।”

यतिधेरै लेख्ने जागर कहाँ छ र मसँग। लेख्छु- “खै! तिमी कति बेला सुत्ने ?”
ऊ लेख्छे- खै !
फेरि लेख्छे- “हामीएकै समयमा सुत्ने रहेछौं नि । खै बजे ।”
म नहाँसिरहन सक्दिनँ ।

अझै अर्को म्यासेज थप्छे- “चाँडै सुत्नु पर्छ कृष्ण । नत्र आँखाको छेउमा ड्राकसर्कल बस्छ ।
“झटपट मनमा आउँछ- “आँखाको छेउमा बस्ने ड्राकसर्कल भन्दा आँखामै बस्नेसँग डर लाग्छ मलाई । आँखामा बस्नेले आँखा नै ढाकिदिदा रहेछन् ।”

आज पनि फेरिहामी अबेरसम्म ‘खै बजेको’ प्रतिक्षामा रहन्छौं । थाहा छैन  आजको ‘खै बजे’ कति बजे बज्ने हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु