Information is intelligence
HomeNewsजनमोर्चाका सांसद कृष्ण थापा निलम्बित

जनमोर्चाका सांसद कृष्ण थापा निलम्बित

- Advertisement -spot_img

राष्ट्रिय जनमोर्चाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको छ । पार्टीले दिएको निर्देशन उल्लंघन गरेको भन्दै थापालाई कारबाही गरेको जनमोर्चाले जनाएको छ ।

गण्डकी प्रदेश सरकारको सत्ता समीकरण फेरबदल हुन लागेको अवस्थामा जनमोर्चाले नेपाली कांग्रेसबाट प्रस्तावित मुख्यमन्त्री रहेका कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गर्न ह्विप जारी गरेको थियो । त्यो अवस्थामा तीनजना सांसद रहेको जनमोर्चाको निर्णय नै निर्णायक थियो । केन्द्रमा ओली सरकारले संविधानविरोधी काम गरेको र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ समेत ओलीको पक्षमा उभिएको भन्दै जनमोर्चाले गुरुङविरुद्ध उभिने निर्णय गरेको थियो ।

गत वैशाख २९ गते प्रस्तावित मुख्यमन्त्रीको पक्षमा बहुमत हस्ताक्षर गरेर प्रदेश प्रमुखसमक्ष बुझाउने कार्यक्रम रहेको थियो । तर, सांसद थापा भने हस्ताक्षर नगरी गृह जिल्ला बाग्लुङ गएका थिए । उनको हस्ताक्षरका लागि पार्टीका केन्द्रीय महासचिव मनोज भट्ट समेत पोखरा पुगेको थिए । तर, सांसद थापाले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्न नसक्ने बताएका थिए । जसका कारण विपक्षीको पक्षमा बहुमत नपुग्दा मुख्यमन्त्री गुरुङ नै स्वतः पुनः मुख्यमन्त्री बनेका छन् ।

सांसद थापाको यही कदमका कारण साधारण सदस्यबाट समेत एक वर्षका लागि निलम्बन गर्ने निर्णय शनिवार भएको महासचिव भट्टले बताए ।
‘उनले पार्टीको निर्देशन मानेनन् । जुन पार्टीबाट निर्वाचनमा जितेको हो, उसैको निर्देशन नमानेपछि केन्द्रीय सदस्यबाट सधैंका लागि र साधारण सदस्यबाट एक वर्षका लागि निलम्बनको निर्णय गरेका छौं,’ भट्टले भने, ‘मुख्यमन्त्रीले  विश्वासको मतका लागि एक महिनाको समय पाएका छन् । अबको दिनमा पनि थापाले पार्टीको निर्देशन मानेनन्  भने सांसद समेत नरहने गरी कारबाही गर्ने पार्टीको योजना छ ।’

गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको केही दिनमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय